१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ३ महिना अवधिको लागि सो रकम खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले बोल गर्ने न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले सो रकम खिच्ने गर्दछ । यसको साँवा तथा ब्याज भुक्तानी फागुन ५ गते हुने बैंकले जनाएको छ ।
चाडबाडको समयमा रेमिट्यान्स आप्रवाह बढ्ने तथा आर्थिक गतिविधि बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्ने गर्छ । विगत देखिनै अधिक तरलता रहेको वित्तीय प्रणालीमा चाडबाडका समयमा भित्रिएको रेमिट्यान्सले झनै बढाएको हो ।
वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा कर्जाको माग घट्दा अधिक तरलता थुप्रिएको हो । यसले ब्याजदर समेत घट्दै गएको छ । अघिल्लो दिन मात्रै बैंकहरूले मंसिर महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् ।