काठमाडौं । अमेजनले श्रमिकको भर्ती प्रक्रिया र आवासीय सुविधामा सुधार गरे पनि साउदी अरबस्थित आफ्ना गोदाममा कार्यरत नेपाली श्रमिकमाथि शोषण र दुर्व्यवहार कायमै रहेको पाइएको छ।
एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार श्रमिकहरू तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीबाट हुने दुर्व्यवहार, कठोर कार्यपरिस्थिति र जुनसुकै बेला कामबाट निकालिन सक्ने जोखिममा छन्।
प्रतिवेदनअनुसार सन् २०२३ मा एम्नेस्टीले गरेको अनुसन्धानपछि अमेजनले साउदी अरबमा कार्यरत एक हजार १८० श्रमिकलाई २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो। यस अवधिमा भर्ती शुल्कसम्बन्धी अनियमितता घट्नुका साथै आवासको गुणस्तर र गुनासो सुनुवाइ प्रणालीमा पनि सुधार भएको छ। तर, तेस्रो पक्षमार्फत श्रमिक भर्ती गर्ने प्रणालीका कारण उनीहरू अझै शोषणको जोखिममा रहेको एम्नेस्टीको निष्कर्ष छ।
सेप्टेम्बर २०२५ देखि मार्च २०२६ सम्म गरिएको अनुसन्धानमा रियादस्थित अमेजनको एउटा गोदाममा कार्यरत वा हालै काम छाडेका नेपाल र भारतका २४ जना श्रमिकसँग अन्तर्वार्ता गरिएको थियो।
अन्तर्वार्तामा सहभागी अधिकांश श्रमिकले आफूहरूलाई दुई वर्षको सम्झौतासहित अमेजनमै प्रत्यक्ष रोजगारी दिने आश्वासन दिइए पनि साउदी अरब पुगेपछि तेस्रो पक्षका कम्पनीमार्फत नियुक्त गरिएको बताएका छन्। अमेजनले जुनसुकै बेला कामबाट हटाउन सक्ने र त्यसपछि श्रमिक आपूर्ति कम्पनीले अर्को काम नदिई हप्तौँ वा महिनौँसम्म पारिश्रमिकविना राख्ने गरेको उनीहरूको गुनासो छ।
नेपालका प्रकाशले आफूहरूलाई जुनसुकै बेला कामबाट हटाउन सकिने भन्दै अस्थायी श्रमिकका रूपमा काम गर्नुपरेको बताएका छन्। त्यस्तै, अरुणले नजिकका आफन्तको मृत्यु भएपछि बिदा लिएका कारण अमेजनबाट हटाइएको र स्वदेश फर्कन आवश्यक बहिर्गमन भिसाको प्रक्रिया अघि बढाउन दुई महिनाको तलबबराबर रकम मागिएको बताएका छन्।
केही श्रमिकलाई रोजगारदाता परिवर्तन गर्न नदिने तथा स्वदेश फर्कन सहयोग गर्नुको सट्टा कम पारिश्रमिकको काम स्वीकार गर्न दबाब दिने गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। यसले श्रमिकहरूलाई साउदी अरबको कफाला प्रायोजन प्रणालीअन्तर्गत थप असुरक्षित बनाएको एम्नेस्टीको भनाइ छ।
गोदामभित्र पनि श्रमिकले निर्धारित उत्पादन लक्ष्य पूरा गर्न अत्यधिक दबाब, निरन्तर निगरानी र लक्ष्य पूरा गर्न नसके कामबाट निकालिने धम्की सामना गर्नुपरेको बताएका छन्। एक वर्षभन्दा बढी समयदेखि सामान सङ्कलनको काम गर्दै आएका दीपकले लक्ष्य पूरा नगरे व्यवस्थापकले बर्खास्त गर्ने धम्की दिने गरेको बताएका छन्।
त्यस्तै, अमेजनको ‘माइभ्वाइस’ गुनासो सुनुवाइ प्रणाली उपलब्ध भए पनि उजुरी गरे श्रमिक आपूर्ति कम्पनीबाट प्रतिशोध हुन सक्ने डरले कतिपय श्रमिकले गुनासो गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ। अमेजनको गोदामबाट बाहिरिएपछि उक्त प्रणालीमा पहुँच नहुने समस्या पनि रहेको श्रमिकहरूको भनाइ छ।
अमेजनले भने श्रमिक आपूर्ति कम्पनीहरूको अनुगमन, स्वास्थ्य तथा सुरक्षा व्यवस्था र गुनासो सुनुवाइ प्रणाली सुदृढ बनाएको जनाएको छ। कामको जिम्मेवारी समाप्त भएका श्रमिकको बाँकी पारिश्रमिक भुक्तानी, वैकल्पिक रोजगारीको खोजी, रोजगारदाता परिवर्तन र स्वदेश फर्कने प्रक्रियामा सहयोग गर्न आपूर्ति कम्पनीहरूलाई निर्देशन दिएको पनि कम्पनीले जनाएको छ।
एम्नेस्टीका अनुसार सन् २०२३ को प्रतिवेदनपछि अमेजनले श्रमिकको अवस्था सुधार्न केही कदम चाले पनि तेस्रो पक्षमार्फत श्रमिक भर्ती गर्ने प्रणालीका संरचनागत समस्या समाधान गर्न सकेको छैन। श्रमिकहरू रोजगारी र कानुनी हैसियतका लागि श्रमिक आपूर्ति कम्पनीमा निर्भर रहुन्जेल शोषणको जोखिम कायम रहने प्रतिवेदनमा उल्लेख छ।
एम्नेस्टीले अमेजनलाई तेस्रो पक्षमार्फत श्रमिक भर्ती गर्ने प्रणाली अन्त्य गरी प्रत्यक्ष रोजगारी दिन सुझाव दिएको छ। साथै, कामको जिम्मेवारी समाप्त भएका श्रमिकलाई पारिश्रमिकविना नराख्न र उपयुक्त अर्को रोजगारदाताकहाँ तत्काल स्थानान्तरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
त्यसैगरी, साउदी सरकारलाई आप्रवासी श्रमिकमाथि रोजगारदाताको नियन्त्रण कायम राख्ने कफाला प्रायोजन प्रणाली पूर्ण रूपमा खारेज गर्न एम्नेस्टीले आग्रह गरेको छ। अमेजनले अनुसन्धानका विषयमा आफ्नो प्रतिक्रिया दिए पनि प्रतिवेदन सार्वजनिक हुँदासम्म साउदी सरकारले भने जवाफ दिएको थिएन।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।