Trending
Prev Story
Next Story

साउदीका अमेजन गोदाममा कार्यरत नेपालीमाथि श्रम शोषण

Onlinekhabar •
November 17, 2026 • 02:31 AM
3
3 reads 0 reactions

१ मंसिर, काठमाडौं । साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपाली श्रमिकले श्रम शोषण र असुरक्षित रोजगारीको समस्या भोगिरहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तेस्रो पक्षका …

साउदीका अमेजन गोदाममा कार्यरत नेपालीमाथि श्रम शोषण

१ मंसिर, काठमाडौं । साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपाली श्रमिकले श्रम शोषण र असुरक्षित रोजगारीको समस्या भोगिरहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाइएका नेपालीसहितका आप्रवासी कामदारले न्यूनतम श्रमिक अधिकारसमेत उपभोग गर्न नपाएको उल्लेख छ । प्रतिवेदनअनुसार श्रमिकको भर्ती शुल्क, आवासको अवस्था र गुनासो सुनुवाइ प्रणालीमा केही सुधार गरे पनि कामको असुरक्षा, न्यून पारिश्रमिक र रोजगारदाताको मनोमानी भने कायमै छ ।

विशेषगरी अमेजनको गोदाममा काम गर्ने जिम्मेवारीबाट हटाइएपछि श्रमिकहरू हप्तौँदेखि महिनौँसम्म बेरोजगार बस्नुपर्ने र त्यस अवधिको पारिश्रमिकसमेत नपाउने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार अमेजनले तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत कामदार नियुक्त गर्ने गरेको छ । यसरी नियुक्त भएका श्रमिकको रोजगारी, भिसा र रोजगार परिवर्तन गर्ने अधिकारसमेत आपूर्ति कम्पनीको नियन्त्रणमा रहने गरेको छ ।

एम्नेस्टीले सार्वजनिक गरेको Amazon in Saudi Arabia : Why migrant workers remain at risk of exploitation शीर्षकको प्रतिवेदन सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म गरिएको अनुगमन र अनुसन्धानमा आधारित छ ।

यस क्रममा साउदी अरबको रियादस्थित अमेजनको एउटा गोदाममा काम गरेका वा गरिरहेका भारत र नेपालका २४ जना श्रमिकसँग अन्तर्वार्ता गरिएको थियो ।

अन्तर्वार्ता दिएकामध्ये अधिकांश श्रमिकले अमेजनले आफूलाई जुनसुकै बेला कामबाट हटाउन सक्ने बताएको प्रतिवेदनमा उल्लेख छ । अमेजनको गोदाममा काम गर्ने जिम्मेवारी अन्त्य भएपछि पनि उनीहरूलाई श्रमिक आपूर्ति गर्ने कम्पनीसँगको करार र भिसाका कारण अर्को रोजगारदाता खोज्न वा स्वदेश फर्कन सहज नहुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाश नामका एक नेपालीले अमेजनले आफूहरूलाई कुनै पनि बेला कामबाट निकाल्न सक्ने भन्दै रोजगारीको अनिश्चितता व्यक्त गरेका छन् । ‘उनीहरूले हामीलाई जुनसुकै बेला कामबाट निकाल्न सक्छन् । आज वा भोलि कहिले निकाल्छन् भन्ने निश्चित छैन । हामी अस्थायी कामदार हौँ,’ एम्नेस्टी इन्टरनेसनलले प्रकाशको भनाइ प्रतिवेदनमा राखेको छ ।

अमेजनको गोदाममा काम गर्ने जिम्मेवारी समाप्त भएपछि श्रमिक आपूर्ति कम्पनीले अर्को काम नदिने र हप्तौँदेखि महिनौँसम्म तलब नदिई राख्ने गरेको श्रमिकहरूको भनाइ छ । यस्तो अवस्थामा कतिपय श्रमिक साथीभाइसँग सापटी लिएर वा उनीहरूकै सहयोगमा गुजारा चलाउन बाध्य हुने गरेका छन् ।

अयान नामका भारतीय नागरिकले पनि अमेजनबाट निकालिएपछि स्वदेश फर्कने प्रतीक्षामा बिताएका तीन महिनालाई निकै कठिन समयका रूपमा सम्झिएका छन् । ‘ती तीन महिना मेरा लागि निकै कठिन थिए । खल्तीमा पर्याप्त पैसा थिएन । सहकर्मीहरूले खाना दिएर सहयोग गरे । आफूले चाहेजति खान पनि पाउँदिनथेँ,’ उनले भनेका छन् ।

दुई वर्षको करार पूरा नगरी घर फर्कन नपाइने दबाब

प्रतिवेदनमा श्रमिक आपूर्ति कम्पनीहरूले कामदारलाई अर्को रोजगारदाताकहाँ जान रोक्ने वा कम पारिश्रमिकमा काम गर्न दबाब दिने गरेको समेत उल्लेख छ ।

अर्का कामदार अरुणले नजिकको आफन्तको मृत्यु भएपछि बिदा लिएर घर गएको अवस्थामा अमेजनको कामबाट हटाइएको बताएका छन् । उनका अनुसार श्रमिक आपूर्ति कम्पनीले बिदा स्वीकृत गरे पनि अमेजनले उनलाई कामबाट हटाएको थियो ।

कामबाट हटेपछि वैकल्पिक रोजगारीसमेत नदिएको कम्पनीले स्वदेश फर्कन आवश्यक एक्जिट भिसाको प्रक्रिया अघि बढाउन दुई महिनाको तलबबराबर रकम मागेको अरुणको भनाइ छ ।

‘उनीहरूले दुई वर्षको करार पूरा नगरी कामदारलाई घर जान दिँदैनन् । उनीहरूलाई पैसा तिर्न मसँग पैसा नै कसरी हुन्थ्यो ?’ अरुणले प्रश्न गरेका छन् ।

यसले साउदी अरबको आप्रवासी श्रमिकसम्बन्धी कफाला (प्रायोजन) प्रणालीमा रहेका संरचनात्मक समस्याले नेपाली श्रमिकलाई समेत प्रभावित पारिरहेको देखाएको एम्नेस्टीको निष्कर्ष छ ।

कामको लक्ष्य पूरा नगरे जागिरबाट निकाल्ने धम्की

अमेजनका गोदाममा काम गर्ने श्रमिकले कामको चर्को दबाब र निरन्तर निगरानीसमेत भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

श्रमिकहरूलाई निश्चित समयभित्र तोकिएको काम पूरा गर्न दबाब दिने, लक्ष्य पूरा भए–नभएको निरन्तर अनुगमन गर्ने र अपेक्षित कार्यसम्पादन गर्न नसके चेतावनी दिने तथा कामबाट हटाउने धम्की दिने गरिएको अनुसन्धानले देखाएको छ ।

एक वर्षभन्दा बढी समयदेखि सामान छान्ने (पिकर) काम गर्दै आएका दीपकले लक्ष्य पूरा नगरेको भन्दै व्यवस्थापकले धम्क्याउने गरेको बताएका छन् ।

‘व्यवस्थापक चिच्याउँदै सोध्छन्– तिमीले आफ्नो लक्ष्य किन पूरा गरेनौ ? म तिमीलाई कामबाट निकालिदिन्छु,’ अर्का एक कामदार दीपकको भनाइ उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख छ ।

श्रमिकलाई समस्या वा दुर्व्यवहारबारे उजुरी गर्न अमेजनको ‘माइभोइस’ (MyVoice) प्रणाली उपलब्ध भए पनि आपूर्ति कम्पनीले प्रतिशोध साँध्न सक्ने डरले कतिपय श्रमिक उजुरी गर्न हिचकिचाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

अमेजनको गोदामबाट बाहिरिएपछि उक्त प्रणालीमा पहुँच नहुने भएकाले श्रमिक आपूर्ति कम्पनीसँग सम्बन्धित समस्याबारे उजुरी गर्नसमेत कठिन हुने गरेको श्रमिकहरूको भनाइ छ ।

एम्नेस्टीले सन् २०२३ मा गरेको अनुसन्धानपछि अमेजनले केही सुधारका कदम चालेको थियो । अवैध भर्ती शुल्कका कारण समस्यामा परेका साउदी अरबमा कार्यरत १ हजार १८० जना श्रमिकलाई अमेजनले २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो ।

त्यसैगरी श्रमिकको आवास सुविधा सुधार, गुनासो सुनुवाइ प्रणालीमा पहुँच र श्रमिक आपूर्ति कम्पनीमाथिको निगरानी बढाइएको अमेजनले जनाएको छ ।

एम्नेस्टीका अनुसार पछिल्लो अनुसन्धानमा पनि केही सकारात्मक सुधार देखिएका छन् । तर श्रमिकको रोजगारी र आप्रवासनसम्बन्धी हैसियत तेस्रो पक्षका कम्पनीमा निर्भर रहँदासम्म शोषणको जोखिम अन्त्य नहुने निष्कर्ष प्रतिवेदनको छ ।

एम्नेस्टी इन्टरनेसनलकी जलवायु, आर्थिक तथा सामाजिक न्याय र कर्पोरेट जवाफदेहितासम्बन्धी कार्यक्रम निर्देशक मार्टा साफले तीन वर्षपछि पनि श्रमिकहरुले उस्तै समस्या र असुरक्षा भोगिरहेको बताएकी छन् ।

‘अमेजनले श्रमिकको अवस्था सुधार्न केही कदम चालेको छ र गैरकानुनी भर्ती शुल्कसमेत फिर्ता गरेको छ । तर गोदाममा काम गर्ने आप्रवासी श्रमिकको भर्ती र रोजगारी तेस्रो पक्षलाई सुम्पिने उसको प्रणालीले उनीहरूलाई अझै पनि आफ्नो आम्दानी, कानुनी हैसियत र रोजगारी परिवर्तन गर्ने अधिकारका लागि श्रमिक आपूर्ति कम्पनीमा निर्भर बनाएको छ,’ उनले भनेकी छन् ।

एम्नेस्टीले अमेजनलाई तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमाथिको निर्भरता घटाएर कामदारलाई प्रत्यक्ष रोजगारी दिन आग्रह गरेको छ । तत्कालका लागि अमेजनले कामदारलाई आफ्नो गोदामबाट हटाएपछि पनि आम्दानीविहीन हुन नदिने व्यवस्था गर्नुपर्ने उसको सुझाव छ ।

त्यस्तै, श्रमिक आपूर्ति कम्पनीले अर्को उपयुक्त रोजगारी उपलब्ध गराउन नसके स्वदेश फर्कने व्यवस्था र खर्च सुनिश्चित गर्नुपर्ने एम्नेस्टीको माग छ ।

संस्थाले साउदी सरकारलाई भने कफाला प्रणाली पूर्ण रूपमा अन्त्य गर्न र रोजगारदाताले आप्रवासी श्रमिकको जीवनमाथि गर्ने नियन्त्रण हटाउन आग्रह गरेको छ ।

प्रतिवेदन सार्वजनिक हुनुअघि एम्नेस्टीले अनुसन्धानका निष्कर्ष अमेजन र साउदी सरकारलाई पठाएको थियो । अमेजनले आफ्नो जवाफमा श्रमिक आपूर्ति कम्पनीको निगरानी, स्वास्थ्य तथा सुरक्षा प्रणाली र उजुरी संयन्त्र बलियो बनाएको दाबी गरेको छ । तर प्रतिवेदन सार्वजनिक हुँदासम्म साउदी सरकारले भने एम्नेस्टीको प्रश्नको जवाफ दिएको थिएन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवे...

#श्रमिक #अमेजन #गोदाम
Compare →
Ekantipur
11h ago
साउदीमा घरेलु श्रमिकलाई अर्काकोमा काम गर्न दिए रोजगारदातालाई एक लाख रियाल जरिवाना

साउदीमा घरेलु श्रमिकलाई अर्काकोमा काम गर्न दिए रोजगारदातालाई एक लाख रियाल जरिवाना

साउदी गृह मन्त्रालयका अनुसार दोषी रोजगारदातालाई ६ महिनासम्म कैद र ५ वर्षसम्म नयाँ श्रमिक भर्नामा प्रतिबन्धसमेत हुनेछ ।

#श्रमिक #साउदी #श्रम
Compare →
Nagarik News
2d ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#श्रमिक #श्रम
Compare →
Bizshala
1w ago
उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

काठमाण्डौ । सरकारी ठेक्काको लागत अनुमान बनाउँदा अब श्रमिकको ज्यालासँगै सरकारले बेहोर्ने सामाजिक सुरक्षा योगदानको रकम...

#श्रमिक #श्रम
Compare →

Related Stories

World News
Build #2612