Trending
Prev Story
Next Story

२६ वर्षदेखि हराएको छोराको प्रतीक्षामा ८३ वर्षीय ज्ञानेन्द्रबहादुर

Onlinekhabar •
November 17, 2026 • 02:30 AM
3
3 reads 0 reactions

१ मंसिर, धनकुटा । उमेरले ८३ वर्ष पुगेका पाख्रीबास नगरपालिका–८ फाङ्दुवाका ज्ञानेन्द्रबहादुर थापा अझै पनि कान्छो छोरो घर फर्किने आशामा छन् । जीवनका धेरै वसन्त बितिसकेका छन् । जीवनसाथीको साथ छुटेको छ । जेठो छोरो …

२६ वर्षदेखि हराएको छोराको प्रतीक्षामा ८३ वर्षीय ज्ञानेन्द्रबहादुर

१ मंसिर, धनकुटा । उमेरले ८३ वर्ष पुगेका पाख्रीबास नगरपालिका–८ फाङ्दुवाका ज्ञानेन्द्रबहादुर थापा अझै पनि कान्छो छोरो घर फर्किने आशामा छन् । जीवनका धेरै वसन्त बितिसकेका छन् । जीवनसाथीको साथ छुटेको छ । जेठो छोरो परिवारसहित झापा बस्न थालेपछि उनी घरमा एक्लै छन् । तर, हराएको कान्छो छोरो एक दिन अवश्य फर्किनेछ भन्ने आशा भने अझै मरेको छैन ।

धनकुटाको तत्कालीन मुगा गाविस–६, हाल पाख्रीबास नगरपालिका–८ फाङ्दुवाका थापा विगत २६ वर्षदेखि यही आशामा दिन बिताइरहेका छन् । उनका कान्छा छोरा सिताराम थापा २०५७ सालदेखि परिवारको सम्पर्कमा छैनन् । घर छाडेर गएको यतिका वर्ष बितिसक्दा पनि उनको कुनै अत्तोपत्तो छैन । तर, बुढेसकालमा छोराको अनुहार एकपटक देख्न पाउने आशा भने ज्ञानेन्द्रबहादुरले त्यागेका छैनन् ।

२०३९ साल फागुनमा जन्मिएका सिताराम परिवारको सम्पर्कबाट टाढिदा युवा अवस्थामै थिए । घरबाट टाढा गएको छोरो केही समयपछि फर्किएला भन्ने लागेको थियो उनलाई । दिन बिते, महिना बिते, वर्ष बिते । तर, छोरो फर्किएन । न त उसको कुनै खबर नै आयो ।

छोरो हराएपछि कहाँ खोज्ने र कसलाई सोध्ने भन्ने अन्योलमा परेका ज्ञानेन्द्रबहादुर अहिले सबैसँग छोराको खोजी गरिदिन आग्रह गरिरहेका छन् । सितारामलाई धनकुटाकै निर्भिकार श्रेष्ठ नाम गरेका व्यक्तिले काठमाडौंमा काम गर्न लगेको भन्ने आफूले सुनेको उनले बताए । श्रेष्ठकी श्रीमती शिक्षा मन्त्रालयमा निर्देशक पदमा कार्यरत रहेको र श्रेष्ठ बाल संगठनको अध्यक्ष रहेको भन्ने जानकारी पनि आफूले पाएको उनको भनाइ छ ।

छोरो काठमाडौं पुगेको खबर पाएपछि केही समयसम्म उताबाट सम्पर्क हुने गरेको थियो । एकपटक सितारामले आफन्त तथा साथीभाइलाई फोन गरेको र त्यसको फोन बिल आठ हजार रुपैयाँ आएको भन्ने जानकारीसमेत आफूले पाएको ज्ञानेन्द्रबहादुर सम्झन्छन् ।

त्यसपछि भने छोरासँगको सम्पर्क पूर्ण रूपमा टुट्यो । काठमाडौंमा काम गर्न गएको भन्ने सुनेपछि आफूले थप खोजीनीति नगरेको उनी बताउँछन् । छोरालाई कस्तो काममा लगाइएको थियो, कति पारिश्रमिक दिने सहमति भएको थियो र कहाँ राखिएको थियो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ ।

त्यतिबेला छोराको अवस्थाबारे थप खोजी गर्न नसकेकोमा अहिले उनलाई पछुतो छ । समयमै खोजी गरेको भए केही जानकारी पाउन सकिन्थ्यो कि भन्ने लागिरहने उनले बताए ।

फेसबुकमा हराएका मानिस भेटिएको देख्दा पलाउँछ आशा

समयसँगै धेरै कुरा बदलिएका छन् । गाउँघरका मानिस फेरिएका छन् । आफन्त र चिनजानका कतिपय व्यक्ति पनि टाढिएका छन् । तर, ज्ञानेन्द्रबहादुरको मनमा छोराको सम्झना र प्रतीक्षा उस्तै छ ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा वर्षौंदेखि हराएका मानिस परिवारको सम्पर्कमा फर्किएको खबर तथा तस्बिर देख्दा उनको मनमा पनि नयाँ आशा पलाउने गरेको छ । ‘फेसबुकमा वर्षौंदेखि हराएका मान्छे भेटिएको, घर फर्किएको देख्छु । मेरो छोरो पनि कतै भेटिएर फर्किन्छ कि भन्ने आशा लाग्छ,’ उनी भन्छन् ।

२६ वर्ष लामो प्रतीक्षाले उनको आशा कमजोर बनाएको छैन । बरु उमेर ढल्किँदै जाँदा छोरालाई एकपटक देख्न पाए हुन्थ्यो भन्ने चाहना झन् बलियो हुँदै गएको छ । छोरो कहाँ छ, कस्तो अवस्थामा छ र परिवारलाई सम्झिन्छ कि सम्झिँदैन भन्ने उनलाई थाहा छैन ।

लामो समय घरबाहिर रहेकाले छोराले आफ्नो गाउँठाउँ र परिवारसमेत बिर्सिएको हुन सक्ने उनको अनुमान छ । यदि छोरो भेटिए पनि अहिलेको अवस्थामा चिनजानका आधारमा मात्रै पहिचान गर्न कठिन हुन सक्ने भएकाले आवश्यक सोधखोज गरेर मात्रै यकिन गर्न सकिने उनी बताउँछन् ।

ज्ञानेन्द्रबहादुरको अहिलेको सबैभन्दा ठूलो चाहना छोरासँग पुनर्मिलन गर्नु हो । उनलाई न त छोरासँग कुनै गुनासो छ, न त विगतको हिसाबकिताब खोज्नु छ । केवल छोरो फर्कियोस् र एकपटक भेट्न पाइयोस् भन्ने चाहना छ ।

‘छोरो घर आउँछ र नागरिकता बनाइदिन पाए हुन्थ्यो । मसँग भएको जे जायजेथा छ, सबै उसैलाई दिन्थेँ,’ उनी भावुक हुँदै भन्छन् ।

जेठो छोरो परिवारसहित झापा बस्न थालेपछि र श्रीमतीको निधन भएपछि उनी घरमा एक्लै जीवन बिताइरहेका छन् । घरको आँगन, पुराना सम्झना र कान्छो छोराको प्रतीक्षामै उनका दिन बितिरहेका छन् । उनले छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएका छन् ।

२०५७ सालदेखि अहिलेसम्म सितारामलाई देख्ने वा भेट्ने कोही व्यक्ति आफूले नभेटेको ज्ञानेन्द्रबहादुर बताउँछन् । विभिन्न ठाउँमा सोधखोज गर्दा पनि कसैले ठोस जानकारी दिन सकेका छैनन् । अब उमेरले पनि साथ दिन छाड्दै गएको छ । जीवनको बाँकी समय छोरासँगै बिताउन पाए हुन्थ्यो भन्ने उनको चाहना छ । छोरो जीवित छ कि छैन भन्ने जानकारीसमेत नपाउँदा उनको मनमा अनेक प्रश्न उब्जिरहन्छन् ।

त्यसैले उनी आफन्त, पुराना चिनजानका व्यक्ति, काठमाडौंमा सितारामसँगै काम गरेका हुन सक्ने मानिस तथा सर्वसाधारणसँग छोराबारे कुनै जानकारी भए उपलब्ध गराइदिन आग्रह गर्छन् ।

छोरो कहिल्यै नफर्किने हो कि भन्ने डर मनमा भए पनि फर्किएर आउनेछ भन्ने आशा अझै बाँकी रहेको उनी बताउँछन् । २६ वर्षदेखि नदेखेको छोराको बाटो हेर्दै बसेका ज्ञानेन्द्रबहादुरका लागि अहिले हरेक नयाँ खबर सम्भावनाको ढोका बनेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन

कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन

सर्लाही / नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन् । छठ पर्वको अवसरमा उनले स्थानीयवासीसँग भ...

#थापा #छोरा
Compare →

Related Stories

Technology
Build #2612