साविक विजेता भारत लगातार तेस्रोपटक र समग्रमा १०औँ उपाधि जित्ने लक्ष्यमा रहँदा पाकिस्तान भने पहिलोपटक फाइनल खेलेर इतिहास रच्ने दाउमा छ।
काठमाडौँ — बंगलादेशको राजधानी ढाकास्थित नेसनल स्टेडियममा आज राति नेपाली समयअनुसार पौने ८ बजे १५औँ साफ च्याम्पियनसिप २०२६ को उपाधिका लागि भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। साविक विजेता भारत लगातार तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा पाकिस्तान भने पहिलोपटक फाइनल खेलेर इतिहास रच्ने दाउमा छ।
दक्षिण एसियाली फुटबलमा आफ्नो वर्चस्व कायम राख्दै आएको भारत १०औँ उपाधिको खोजीमा छ। भारतले यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५, २०२१ र २०२३ मा गरी नौपटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ। प्रतियोगिताको १५ संस्करणमध्ये भारत १४औँ पटक फाइनलमा पुगेको हो।
यसपटक भारतले प्रतियोगितामा आफ्नो सिनियर टोलीको सट्टा यू–२३ टोली उतारेको छ। सिनियर टोली न्युजिल्यान्डसँगको मैत्रीपूर्ण खेलमा व्यस्त रहेपछि मुख्य प्रशिक्षक नौशाद मूसाको नेतृत्वमा युवा टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ।
अर्कोतर्फ, पाकिस्तानले साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनलमा स्थान बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० गोलले पराजित गर्ने क्रममा अब्दुल समदले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए। त्यही गोल पाकिस्तानलाई पहिलोपटक उपाधि भिडन्तसम्म पुर्याउन पर्याप्त बनेको थियो।
भारत र पाकिस्तानबीच सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म ३० पटक प्रतिस्पर्धा भएको छ। जसमा भारतले १७ खेल जित्दा पाकिस्तानले चार खेलमा सफलता हात पारेको छ। बाँकी नौ खेल बराबरीमा सकिएका छन्। यद्यपि, सिनियर साफ च्याम्पियनसिपको फाइनलमा यी दुई चिरप्रतिद्वन्द्वी पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
यसअघि प्रतियोगिताको समूह 'बी' मा भएको भेटमा भारतले पाकिस्तानलाई ३–२ गोलले पराजित गरेको थियो। उक्त खेलमा सुहैल अहमद भटले दुई तथा मङ्लेनथाङ किपगेनले एक गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाएका थिए। तर, पाकिस्तानले इन्जुरी समयमा दुई गोल फर्काउँदै खेलमा रोमाञ्चकता थपेको थियो।
फाइनलसम्म पुग्ने क्रममा भारतले सेमिफाइनलमा भुटानलाई २–१ गोलले पराजित गरेको थियो। भारतका लागि विष्णु पीभी र कप्तान चिङ्लेनसाना सिंह कोन्शामले गोल गरेका थिए।
समूह चरणको नतिजा भारतको पक्षमा रहे पनि फाइनलमा पाकिस्तानले ५ जाना ओभरसीज खेलाडी हरु भित्र्याएर बंगलादेश विरुद्ध जित निकालेको हुदाँ पाकिस्तान पनि फाईनलमा बलियो देखिन्छ । फाईनल खेलमा भारत आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो उपाधि जित्न चाहन्छ भने पाकिस्तान पहिलोपटक च्याम्पियन बनेर दक्षिण एसियाली फुटबलमा नयाँ इतिहास लेख्ने लक्ष्यमा हुनेछ।
अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।