Trending
Prev Story
Next Story

घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल

Ekantipur •
November 16, 2026 • 10:32 AM
3
3 reads 0 reactions

घोरेपानीबाट फर्कने आन्तरिक तथा विदेशी पर्यटक लेसपार, क्याङ, शालीजा र फलामेडाँडामा बस्दै पदयात्रा, होमस्टे र स्थानीय जीवनशैलीको अनुभव लिन थालेका छन्।

घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल

घोरेपानीबाट फर्कने आन्तरिक तथा विदेशी पर्यटक लेसपार, क्याङ, शालीजा र फलामेडाँडामा बस्दै पदयात्रा, होमस्टे र स्थानीय जीवनशैलीको अनुभव लिन थालेका छन्।

बागलुङ — पर्यटकीय क्षेत्रका रूपमा चिनिएको घोरेपानी पुग्ने पर्यटकले आसपासका गाउँलाई पनि गन्तव्य बनाउन थालेका छन्। फर्कंदा पदमार्ग हुँदै गाउँ पस्ने र रमाउने क्रम बढेपछि पर्वतको मोदी गाउँपालिकाका लेसपार र क्याङ तथा जलजला गाउँपालिकाका शालीजा र फलामेडाँडा गाउँमा चहलपहल बढेको छ ।

केही पर्यटक बेनी र बागलुङ बजारसम्म आइपुग्छन् । तर अधिकांशले पदमार्ग रोज्न थालेका छन् । नयाँपुलदेखि पैदल र गाडीमार्फत घोरेपानी पुग्ने आन्तरिक तथा विदेशी पर्यटक बस्तीमा पसेर अर्गानिक खाना र स्थानीय संस्कृति रुचाउन थालेको वडा अध्यक्ष मोहनसिं चोचाङ्गी पुनले बताए ।

गर्मी मौसममा घोरेपानीबाट पुनहिल जाने पर्यटक चिसो बढेपछि अधिकांशले गाउँ रोज्ने गरेको पुनको भनाइ छ । ती पर्यटकका कारण पर्वतको मोदी गाउँपालिका–४ का लेसपार, क्याङ, भुकताङलेलगायत गाउँमा चहलपहल बढेको छ ।

घोरेपानी पुगेका अधिकांश पर्यटक पर्वतको फलामेडाँडा, शालीजा, हम्पाल र लेसपार हुँदै पातीचौर झर्न रुचाउँछन् । आकर्षक पदमार्ग, बस्तीमा अर्गानिक खाना र स्थानीयको स्वागत पाउने भएपछि पर्यटकले गाउँ रोज्ने गरेको उनले बताए । ‘अर्गानिक खानाका लागि लेसपार गाउँको बसाइ रोजेको हुँ,’ एक फ्रान्सेली पर्यटकले बताए । आन्तरिक पर्यटक पनि ती गाउँमा लोकगीत गाएर नाच्न पाइने आसमा पुग्ने गरेका छन् । गाउँमा बास बस्ने, अर्गानिक खाना खाने र पैदल हिँडेर रमाउने गर्दै पातीचौरसम्मको पदयात्रा गर्न सहज पदमार्ग बनेको छ ।

केही पर्यटक भने लेसपार गाउँको पुछारबाट गाडी चढेर फर्कन्छन् । निर्माणाधीन सडक भए पनि पातीचौरदेखि जिपमा एक घण्टामा यहाँ पुग्न सकिन्छ । मोदी गाउँपालिका–३ को लेसपार गाउँका तल्लो र माथिल्लो दुवै बस्तीका होमस्टेमा पर्यटक आउने क्रम बढेको स्थानीय ज्ञानमाया पुनले बताइन् । यहाँ केही विदेशी र धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । ‘अंग्रेजी बोल्ने विदेशी पर्यटक भरियासहित आइरहेका छन्,’ पुनले भनिन्, ‘आन्तरिक पर्यटक त फोन गरेर पनि आउँछन् ।’ उनीहरूलाई अर्गानिक खाना र फूलमालाले स्वागत गर्ने गरिएको उनले बताइन् ।

समुद्री सतहबाट २ हजार २ सय मिटरको उचाइमा रहेको लेसपारमा झन्डै २ सय ५० घर एकै ठाउँमा झुम्मिएका छन्। हेर्दा पनि यो गाउँ आकर्षक देखिन्छ । सरसफाइका लागि टोलटोलमा फोहोर संकलन गरिन्छ । घरहरू एउटै रंगका छन् । हरेक घर तरकारी र धानबाहेक अन्य अन्नमा आत्मनिर्भर छन् । यहाँ जंकफुडजन्य खानेकुरा निषेधजस्तै छ । पाहुनालाई कोदो, फापर र मकैको ढिँडोलगायत परिकार, साग, लोकल कुखुरा र सिलमको चटनी खुवाउने गरिन्छ । स्थानीय सिमी र भटमास पनि गाउँको पहिचानका रूपमा छन् । स्थानीयले लोकगीत र संगीतमार्फत पनि पर्यटक आकर्षित गर्छन् । सिसाजन्य मदिरासमेत बिक्री गरिँदैन ।

गाउँभरि स्थानीय ढुंगाले छाएका घर छन् । बाटो पनि ढुंगाले छापिएको छ । सिँढीमार्ग हुँदै गाउँबाट हलजुरे डाँडा र हम्पालसम्म पुग्ने पदमार्ग बनाइएको छ । स्थानीयले सामूहिक र व्यक्तिगत लगानीमा बाटो तथा ठाउँठाउँमा चौतारा बनाएका छन् । बाटोमा पानीका धारा र पानी पिउन गिलास तथा कपसमेत राखिएका छन् ।

डेढ घण्टाको उकालो चढेपछि २ हजार ५ सय मिटरको हलजुरे पुगिन्छ भने तीन घण्टाको उकालोमा ३ हजार मिटरभन्दा अग्लो हम्पाल पुग्न सकिन्छ । हम्पाल धार्मिक रूपमा प्रसिद्ध पहाड हो । यो पहाड जडीबुटीका लागि पनि प्रसिद्ध मानिन्छ ।

पर्यटक पुग्न थालेपछि लेसपार गाउँवासी व्यावसायिक पनि बनेका छन् । उनीहरूले घरघरमा पाहुना कोठा, अर्गानिक खाना र पाहुनाको स्वागतका लागि फूलमालाको व्यवस्था गरेका छन् । चिसो मौसम भएकाले यहाँ फागुनसम्म पनि सयपत्रीलगायत फूल ताजा रहन्छन् ।

यहाँका उद्यमीले अल्लो संकलन गरेर धागो निकाल्ने र कपडासमेत बुन्ने गर्छन् । त्यसैले घुम्न आउनेले उद्यमीहरूको सीपसमेत हेर्न पाएको बताए । ‘हामीलाई घुमाइ मात्र होइन, धेरै कुरा जान्न पाउने अवसर पनि मिल्यो,’ आन्तरिक पर्यटकका रूपमा घुम्न गएका बद्रीप्रसाद तिवारीले भने, ‘अर्गानिक खाना, लोकसंस्कृति र परम्परा धानेर बसेको समुदायबारे बुझ्न र घुम्न पाएर खुसी लाग्यो ।’ यहाँका घर, गोठ र बाटोमा सिमेन्टलगायत आयातित सामग्री प्रयोग गरिएको छैन । स्थानीयले बास्केटबल कोर्ट बनाउन भने सिमेन्ट प्रयोग गरेका छन् ।

कृषि र पशुपालन गरेर बसेकाले गाउँलेलाई बजारबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता छैन । धान उत्पादन नहुने भएकाले चामल भने बजारबाट ल्याइन्छ । तर स्थानीयले चामलभन्दा कोदो, मकै, जौ र फापरका परिकार बढी खाने गरेको स्थानीय डिलबहादुर पुनले बताए । ‘भात खान खोज्ने पाहुनाका लागि मात्रै चामल ल्याएका छौं, अन्य परिकार स्थानीय उत्पादन हुन्,’ उनले भने, ‘तरकारीसमेत बजारबाट आएको छैन ।’ स्थानीय रूपमा उत्पादन हुने मुला, आलु, चरेला, कर्कलो र सागजस्ता तरकारी पाहुनालाई खुवाउने गरिएको उनले बताए ।

गाउँमा कति पर्यटक आउँछन् भन्ने तथ्यांक भने राखिएको छैन । लेसपार सामुदायिक होमस्टेका सदस्य नर्सिङबहादुरका अनुसार अब पर्यटकको तथ्यांक राख्ने तयारी छ । ‘पाहुनाको चाहनाअनुसार आकर्षक शौचालय, नुहाउने कोठा र तातोपानीको व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘गाउँ र समाजको संस्कृति जोगाउन सकियो भने पर्यटक बढाउन सकिन्छ ।’ युवा पुस्तालाई गाउँमै रोकेर पर्यटन क्षेत्रमा सक्रिय बनाउन भने राज्यको लगानी आवश्यक भएको उनले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

रसुवा– धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको ब...

#पर्यटक #थाले #चहलपहल
Compare →
Onlinekhabar
4d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कात्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक …

#पर्यटक #थाले #चहलपहल
Compare →
Nagarik News
4d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक #थाले #चहलपहल
Compare →
Bizshala
4d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक #थाले
Compare →

Related Stories

Education & Youth
Build #2612