नेपालतर्फ २८ किलोमिटर रेल गुड्ने खण्डमा अनुदानमा विद्युतीकरण गरिदिन भारतसाग प्रस्ताव राखिादै, प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले ७ मंसिरमा रेल सञ्चालनको संयुक्त उद्घाटन गर्ने
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका बेला भारतको अयोध्याबाट सिधै जनकपुरसम्म चल्ने गरी रेल सेवाको उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री शाह ६ मंसिरमा भारत भ्रमणमा जाँदै छन् । भ्रमणको भोलिपल्ट ७ मंसिरमा जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्ने तयारी रहेको मन्त्रालयले बताएको छ । जनकपुर–अयोध्या धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थान भएकाले रेल चलाउने गरी तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकालको भनाइ छ । ‘रामको जन्मभूमि भारतको अयोध्या हो, यहाँबाट जनकपुरसम्म रेलमार्गले जोड्ने विषय लामो समयदेखि चलिरहेको थियो,’ ढकालले भने ।
जनकपुरदेखि अयोध्यासम्म ६ सय ४ किलोमिटर दूरी पर्छ । यही दूरीमा रेल चल्नेछ । तर यसमा २८ किलोमिटर मात्र नेपालतर्फ पर्छ । तत्काललाई यात्रुवाहक रेल सञ्चालनमा ल्याउन लागिएको हो । १८ डिब्बावाला रेल चलाउने गरी तयारी भएको ढकालले जनाए । ‘पहिलो चरणमा सातामा एक दिन मात्र चल्नेछ । अयोध्याबाट अघिल्लो दिन आएको रेल जनकपुरबाट भोलिपल्ट मात्र छुट्छ,’ पूर्वाधार विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीले भने ।
नेपाल सरकारको आफ्नै रेल छैन, तसर्थ भारतले आफ्नो रेल सञ्चालन गर्ने भएको हो । सुरुमा एउटा मात्र रेल चले पनि पछि यात्रुको चाप र मागअनुसार बढाउँदै लैजान सकिने ती कर्मचारीको भनाइ छ । रेलका सबै संरचना भारत सरकारले पहिल्यै अनुदानमा बनाइदिएको हो । ‘अहिलेलाई रेल भारत सरकारकै व्यवस्थापनमा सञ्चालन हुनेछ,’ ती कर्मचारीले भने, ‘जयनगरबाट यता नेपालतर्फको संरचना प्रयोग गरेबापत लाग्ने खर्च सञ्चालन गर्ने निकायले नै बेहोर्नेछ ।’
जयनगरसम्म ‘इलेक्ट्रिक’ रेल चल्दै आएको छ । त्यहाँबाट नेपालतर्फ भने डिजेलबाट चल्ने रेल गुड्नेछ । प्रधानमन्त्री शाहको भारत भ्रमणका बेला नेपालतर्फ ‘इलेक्ट्रिक’ रेल चल्न मिल्ने संरचना अनुदानमा बनाइदिन प्रस्ताव गर्ने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ । ‘जयनगरसम्म इलेक्ट्रिक रेल आउँछ, त्यहाँबाट नेपालतर्फको भौतिक संरचना विद्युतीकरण भएको छैन,’ मन्त्रालय स्रोतले भन्यो ।
जनकपुर–अयोध्या रेल चल्नु राम्रो कुरा भएको रेल विभागका पूर्वमहानिर्देशक रोहितकुमार बिसुराल बताउँछन् । ‘अयोध्या–जनकपुर धार्मिक रुट हो,’ उनले भने, ‘हाम्रो सांस्कृतिक सम्बन्ध पहिलेदेखि नै भएकाले अहिले रेल चल्ने विषयले यसलाई अझ बलियो बनाउँछ ।’ नेपालीहरू पनि अयोध्या गइरहने र भारतबाट पनि धार्मिक तीर्थालु जनकपुर आइरहने भएकाले रेल चलेपछि यात्रा छिटो र सहज हुने उनको भनाइ छ ।
सर्वसाधारण आफ्नै किसिमले अयोध्या आउजाउ गर्दै आएका छन् । तर अब रेल सेवा सञ्चालन हुने भएपछि यसले उनीहरूलाई थप सहज बनाउने सरोकारवाला बताउँछन् । ‘अहिले सीमित समय तोकेर चलाउने तयारी गरिए पनि पछि नियमित रूपमा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने बिसुरालले जनाए । ‘अब भारतका अन्य सहरहरूसँग नेपाललाई जोड्दै लैजानुपर्छ । रेलवे नेटवर्क अहिले बर्दिबाससम्म बन्दै छ । पछिसम्मको योजना काठमाडौंसम्मै जोड्नेछ । त्यसलाई पनि सघाउने गरी दुवै देशका सरकारले काम गर्नुपर्छ ।’
अहिले जयनगर–जनकपुर–बिजलपुरासम्मको ५२ किलोमिटर दूरीमा रेल सेवा सञ्चालनमा छ । तर जयनगरदेखि बर्दिबाससम्मको रेलमार्गको कुल दूरी भने ६९ किलोमिटर छ । बाँकी १७ किलोमिटर खण्ड निर्माणाधीन अवस्थामा छ । अहिले उक्त खण्डमा रेल सञ्चालनमा छ । ‘बर्दिबाससम्म अहिलेसम्म रेलमार्ग निर्माण भइसकेको छैन, बिजलपुरासम्म मात्र रेल चलेको छ,’ पूर्वाधार विकास मन्त्रालयका एक कर्मचारीले भने, ‘बाँकी खण्डमा रेल चलाउने गरी मुआब्जा दिएर संरचना निर्माणको काम गरिँदै छ ।’
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।