Trending
Prev Story
Next Story

अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य

Onlinekhabar •
November 15, 2026 • 05:30 AM
9
9 reads 0 reactions

केही यात्राहरू गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनमा नयाँ ऊर्जा, सोचमा नयाँ दृष्टिकोण र जीवनमा नयाँ प्रेरणा थपेर फर्काउँछन् । अपि-नम्पा क्षेत्रको मेरो हालैको यात्रा यस्तै एउटा अविस्मरणीय अनुभव रह्यो । सुदूरपश्चिमको दार्चुलास्थित अपि …

अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य

केही यात्राहरू गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनमा नयाँ ऊर्जा, सोचमा नयाँ दृष्टिकोण र जीवनमा नयाँ प्रेरणा थपेर फर्काउँछन् । अपि-नम्पा क्षेत्रको मेरो हालैको यात्रा यस्तै एउटा अविस्मरणीय अनुभव रह्यो । सुदूरपश्चिमको दार्चुलास्थित अपि हिमाल बेसक्याम्पसम्मको यात्रा प्रकृतिको अनुपम सौन्दर्यसँग साक्षात्कार गर्ने, स्थानीय मौलिक संस्कृति र न्यानो आतिथ्य अनुभव गर्ने अवसर बन्यो । साहस, धैर्य, आत्मविश्वास र आत्मीयताको वास्तविक अर्थ बुझ्ने संयोग पनि रह्यो ।

धनगढीबाट गोकुलेश्‍वरसम्म १६० किलोमिटर गाडीको यात्रामा छिचोलिएको पहाडी भूगोल, बदलिँदो प्राकृतिक दृश्य, मौसमी प्रणाली र बाटोमा भेटिने स्थानीय जीवनशैली मुग्ध तुल्यायो । हामी साँझ गोकुलेश्वर पुग्यौँ । त्यहाँको रात्रि विश्रामपछि भोलिपल्ट बिहानै लटिनाथतर्फ लाग्यौँ । त्यहाँ प्रसिद्ध तथा आस्थाको केन्द्र लटिनाथ मन्दिरमा दर्शन गर्‍यौँ । धार्मिक आस्था र आध्यात्मिक ऊर्जासँग जोडिएको यो सुरुवातले यात्रालाई थप उर्जावान बनायो । गाउँको ग्राभेल बाटो हुँदै मकारीगाढ पुग्यौँ ।

लटिनाथबाट घुसासम्मको करिब सात घण्टाको पदयात्रामा कहीँ उकालो, कहीँ भिरालो यात्रा गर्लै घुसासम्म पुग्यौं । शारीरिक रूपमा केही चुनौतीपूर्ण भए पनि यात्राका क्रममा देखिएको प्राकृतिक सुन्दरताले यात्रामा उत्साहको कमी भने हुन पाएन । म धेरै पदमार्गहरूमा पुगेको छु । तर, विकासले पछि पारिएको भनिएको सुदूरपश्‍चिमको यस क्षेत्रमा पदमार्गहरू व्यवस्थित गरिएको पाइयो । पदयात्रामा हिँड्नेहरूका लागि बाटोको सहजता, संकेत र स्थानीय बस्तीबीचको सम्पर्कले गन्तव्यलाई थप आकर्षक बनायो ।

घुसा पुग्दा त्यहाँको मौलिक संस्कृति, स्थानीय मानिसहरूको आत्मीय स्वागत र हिमाली परिकारले यात्रामा नयाँ आयाम थपिदियो । स्थानीय खानाको स्वाद, आफ्नै परिवेशमा उत्पादन भएका खाद्यवस्तु र विशेषगरी त्यहाँको अर्गानिक चियाको स्वाद कहिल्यै नबिर्सने खालको रह्यो । यहाँको आतिथ्यमा कुनै बनावटी औपचारिकता थिएन । पाहुनालाई स्वागत गर्ने शैलीमा सरलता र आफ्नोपनको अनुभूति देखियो । यही नै ग्रामीण तथा सामुदायिक पर्यटनको वास्तविक परिभाषा हो भन्‍ने लाग्यो ।

घुसापछिको यात्रामा सिती गाउँ अर्को महत्वपूर्ण विश्रामस्थल हो । यहाँ तुलनात्मक स्तरीय होमस्टे तथा होटलहरू उपलब्ध थिए । स्थानीय परिवेशमा बसेर हिमाली जीवनशैली, खानपान र संस्कृतिलाई नजिकबाट बुझ्न चाहनेहरूका लागि सिती उपयुक्त गन्तव्य बन्न सक्छ । कुनै पनि पर्यटन गन्तव्यको आकर्षण केवल प्राकृतिक दृश्यमा मात्र सीमित हुनु हुँदैन । स्थानीय समुदाय, पर्यटनव्यवहार, संस्कृति, खानपान र पाहुनालाई गरिने स्वागतले गन्तव्यको पहिचान निर्माण गर्छ । सितीमा यी सबै अनुभव गर्न पाइन्छ ।

सितीबाट करिब दुई घण्टाको पदयात्रापछि हामी अपि–नम्पा संरक्षण क्षेत्रमा प्रवेश गर्‍यौँ । यस क्षेत्रभित्र प्रवेश गर्दा आगन्तुकले आवश्यक दर्ता प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि चिरचिरे वा सिमार क्षेत्रमा पुगेर भोजन तथा विश्राम गर्न सकिन्छ । पदयात्रुको शारीरिक अवस्था, समय र हिँड्ने गतिअनुसार यी स्थानहरूमा रात बिताउने वा अगाडि बढ्ने निर्णय गर्न सकिन्छ । छिटो हिँड्न सक्ने र पर्याप्त तयारी भएका पदयात्रीहरू भने करिब ३,६०० मिटर उचाइमा रहेको धौली ओडारसम्म पुग्न सक्छन् । यहाँबाट बेसक्याम्प पुग्न थप दुईदेखि तीन घण्टाको पदयात्रा गर्नुपर्छ ।

करिब ४,००० मिटरको उचाइमा रहेको अपि बेसक्याम्प पुग्दा यात्राको वास्तविक रोमाञ्च र सौन्दर्य उत्कर्षमा पुग्छ । अपि बेसक्याम्पको सबैभन्दा विशिष्ट आकर्षण यसको प्राकृतिक बनावट हो । चारैतिर हिउँले ढाकिएका हिमशृङ्खलाहरू र बीचमा फैलिएको विशाल घाँसै मैदान । यहाँ पुग्ने जो-कोहीलाई सेताम्य हिमश्रृंखलाको काखैमा बसेको अनुभूति हुन्छ । हिमालको काखमा यति धेरै हरियाली फैलिएको देख्दा साँच्चिकै आश्चर्य लाग्छ ।

सामान्यतया उच्च हिमाली बेसक्याम्पहरू ढुङ्गा, चट्टान र हिउँले भरिएका हुन्छन् । तर अपि बेसक्याम्पमा भने हरियो पाटनले बेसक्याम्पसम्मै प्राकृतिक सौन्दर्यको छुट्टै संसार निर्माण गरेको छ । मेरो अनुभवमा यस्तो हरियालीसहितको बेसक्याम्प दुर्लभ र विशेष आकर्षण हो । अपि, नम्पा, भबईलगायतका हिमशृङ्खलाहरूको भव्य उपस्थितिले यस क्षेत्रलाई अझ रोमाञ्चक बनाउँछ ।

यस क्षेत्रको अर्को आकर्षण चौलानी नदीको उद्गमस्थल अवलोकन गर्ने अवसर हो । यसलाई तल्लो क्षेत्रमा चमेलिया नदीका रूपमा पनि चिनिन्छ । आसपासका दुई सुन्दर तालहरूको अवलोकनले यात्रालाई थप विशेष बनाउँछ । अपि बेसक्याम्प उच्च हिमाली छेत्रमा खेल्ने क्रिकेट, भलिबल्, फुटबल लगयतका खेल्कुद गतिविधि र फिटनेसका लागि धेरै सम्भावना बोकेको ठाउँ हो ।

प्रकृतिप्रेमी, पदयात्री, फोटोग्राफर र साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अपि बेसक्याम्प एउटा अनुपम गन्तव्य हो । अझ हिमाल आरोहण तथा साहसिक अभियानका दृष्टिले पनि अपि क्षेत्रले ठूलो सम्भावना बोकेको छ । यो यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसले दिने प्रेरणा हो ।

सात घण्टाको पदयात्रा होस् वा ४,००० मिटरको उचाइसम्म पुग्ने चुनौती, प्रत्येक पाइलाले धैर्य, अनुशासन र दृढ इच्छाशक्तिको पाठ सिकाउँछ । गन्तव्य टाढा भए पनि निरन्तर अघि बढिरहने हो भने पुग्न सकिन्छ भन्ने आत्मविश्वास यात्राले दिन्छ ।

पदयात्रामा सबैको गति एउटै हुँदैन । कसैले छिटो यात्रा गर्छन्, कसैलाई बढी समय लाग्छ । तर अन्ततः आफ्नो क्षमता पहिचान गर्दै, आफ्नो गति कायम राख्दै र आवश्यकताअनुसार एकअर्कालाई सहयोग गर्दै अघि बढ्नु नै सफल यात्राको आधार हो । यस अर्थमा हिमाली पदयात्राहरु जीवनको एउटा सुन्दर पाठशाला हुन् ।

अपि–नम्पाको यात्रा केवल साहसिक पर्यटन होइन, यो स्वास्थ्य, वेलनेस, आत्मचिन्तन र व्यक्तित्व विकाससँग पनि जोडिएको अनुभव हो ।

आत्मीय सत्कार : अपि-नम्पाको सबैभन्दा ठूलो सम्पत्ति

प्राकृतिक सौन्दर्यले पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउँछ, तर त्यहाँका मानिसको आत्मीय व्यवहारले उनीहरूको मन जित्छ । अपि–नम्पा क्षेत्रमा मैले अनुभव गरेको स्थानीय आतिथ्य अत्यन्तै मौलिक, सरल र हृदयदेखि गरिएको थियो । स्थानीय खानपान, अर्गानिक चिया, मौलिक संस्कृति र पाहुनालाई गरिने न्यानो स्वागतले यो यात्रालाई अझ स्मरणीय बनायो ।

आज विश्व पर्यटनमा पर्यटकहरू केवल नयाँ ठाउँ हेर्न मात्र यात्रा गर्दैनन्, उनीहरू स्थानीय जीवनशैली अनुभव गर्न, मौलिक संस्कृति बुझ्न, स्थानीय खानाको स्वाद लिन र समुदायसँग जोडिन चाहन्छन् । यी सबै अनुभव भेटिने एउटा गन्तव्य हो – अपि-नम्पा । यहाँको मौलिकता र आत्मीयता नै यस क्षेत्रको सबैभन्दा ठूलो पर्यटनको सम्पत्ति र शक्ति बन्न सक्छ ।

अपि–नम्पा नेपालको साहसिक, प्रकृति, संस्कृति, ग्रामीण तथा वेलनेस पर्यटनको महत्वपूर्ण गन्तव्य हो ।

अपि-नम्पा गाउँपालिकाको नेतृत्व र पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको सहयोगमा व्यवस्थितरुपमा निर्माण गरिएका पदमार्ग, हिमाली बस्तीहरूमा उपलब्ध होमस्टे तथा होटल, स्थानीय खानपान, धार्मिक तथा सांस्कृतिक सम्पदा र संरक्षण क्षेत्रको जैविक विविधताले यसलाई विविध पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ।

तर यसको विकास गर्दा प्रकृतिको मौलिकता, स्थानीय समुदायको स्वामित्व र वातावरणीय संवेदनशीलतालाई प्राथमिकता दिन आवश्यक छ । हाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघको साझेदारीमा सञ्‍चालित दिगो पर्यटन परियोजनाको सहयोग र अपि-नम्पा गाउँपालिकाको सहकार्यमा गन्तव्य स्तरोन्नतीका लागि सकारात्मक प्रयासहरू भएका छन् ।

पदमार्गको नियमित मर्मतसम्भार, सूचना तथा संकेत प्रणाली, सुरक्षित आवास, सरसफाइ, स्वास्थ्य तथा उद्धार सेवा, सञ्चार सुविधा र स्थानीय गाइडहरूको क्षमता विकासमा थप ध्यान दिन आवश्यक देखिन्छ । स्थानीय उत्पादन, कृषि, खानपान र हस्तकलालाई पर्यटनसँग जोड्न सके समुदायको आयआर्जन र रोजगारीमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

विशेषगरी अपि–नम्पालाई एउटा मात्र बेसक्याम्पको गन्तव्यका रूपमा नभई लटिनाथ, घुसा, सिती, धौली ओडार र अपि बेसक्याम्पलाई जोड्ने समग्र अनुभव बटुल्‍ने पर्यटन मार्गका रूपमा ब्रान्डिङ गर्न सकिन्छ । यसले सुदूरपश्चिमको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नयाँ पहिचान दिन सक्छ ।

यो यात्राले एउटा कुरा फेरि प्रमाणित गर्‍यो- नेपालको पर्यटनको वास्तविक शक्ति केवल हिमाल र प्राकृतिक सौन्दर्यमा मात्र छैन; यहाँको संस्कृति, समुदाय, आतिथ्य र प्रकृतिसँग जोडिएको जीवनशैलीमा पनि छ।

अपि–नम्पा केवल पुग्नुपर्ने गन्तव्य मात्र होइन, अनुभव गर्नुपर्ने संसार हो । यसले शरीरलाई सक्रिय बनाउँछ, मनलाई शान्त बनाउँछ र आत्मविश्वासलाई थप बलियो बनाउँछ । साहसिक सौन्दर्यले आकर्षित गर्ने, सत्प्रेरणाले ऊर्जा भर्ने र आत्मीय सत्कारले मन जित्ने अपि–नम्पा- तिमीसम्म पुग्‍नु वास्तवमै एउटा साँचो प्रेमसम्म पुग्‍नुजत्तिकै प्रेमिल छ । अपि-नम्पा तिमी जीवनभर सम्झनामा रहिरहने छौं ।

(लेखक नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।)

(लेखक नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाल र हिमनदीमा जलवायु परिवर्तनको असरबारे अनुसन्धान र निगरानी बढाउन सहमति भएको छ। सम्मेलनको वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी निकायले शनिबार रात...

#हिमाल
Compare →
Bizshala
3d ago
अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यसअघि निर्णय भएको ३० प्रतिशत हकप्रद सेयर निष्कासन रद्द गर्ने र ५ प्रतिशत बोनस सेयर...

#अपि
Compare →
Nagarik News
3d ago
हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

परराष्ट्रमन्त्री शिशिर खनालले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु नीतिको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#हिमाल
Compare →

Related Stories

Science & Climate
Build #2612