दोलखाको लाप्ची नसुनेका र नपुगेका सायद कमै होलान् । धार्मिक, सांस्कृतिक र भौगोलिक दृष्टिकोणले अत्यन्त सुन्दर लाप्ची यस्तो ठाउँ हो, जहाँ जति पटक पुगे पनि मन अघाउँदैन । म पनि पटकपटक पुगिरहन मन लाग्ने ठाउँमध्ये लाप्चीलाई अग्रस्थानमा राख्छु । यहाँ दोहोर्याएर, तेहेर्याएर पुग्नेहरू धेरै छन् ।
तर, लाप्ची केवल रमाउने र घुम्ने ठाउँ मात्र होइन, यो त विश्व शान्ति, ध्यान र साधनाको महत्वपूर्ण केन्द्र हो । घुम्न जाने भन्नेबित्तिकै धेरैको सोचमा रमाइलो गर्ने, नाचगान गर्ने, मादक पदार्थ सेवन गर्ने र मासु माछा खानेजस्ता गतिविधि आउन सक्छन् । तर, दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा अवस्थित लाप्चीलाई यसरी मात्र बुझ्नु उचित हुँदैन । यसको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व बुझ्न आवश्यक छ ।
लाप्ची बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो । तिब्बती बौद्ध परम्पराका महान् योगी तथा साधक मिलारेपाले यस क्षेत्रका विभिन्न गुफामा ध्यान र साधना गरेको विश्वास गरिन्छ । त्यसैले यहाँका गुफा, गुम्बा र प्राकृतिक संरचनाले धार्मिक आस्थासँगै ऐतिहासिक महत्व पनि बोकेका छन् । लाप्चीको परिचय हिमालको सुन्दर दृश्यमा मात्र सीमित छैन, यो शान्ति र साधनाको अनुपम भूमि पनि हो ।
यसपटक लाप्ची हुँदै मञ्जुश्री पोखरी जाने योजना बनाएका थियौं । पटकपटक प्रयास गर्दा पनि मञ्जुश्री पोखरीको दर्शन गर्ने अवसर जुरेको थिएन । यसपटक भने हिउँ, हुरीबतास र पानी जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि पुगेरै छाड्ने अठोट थियो ।
विनोद तामाङ, वासु थापा, कृष्ण ठकुरी, दीपेश घिसिङ, आरयुस र म गरी ६ जना चोराघेफिलिङ गुम्बामा बास बस्यौं । भोलिपल्ट बिहानै यात्रामा निस्कने तयारी गर्यौं । हामीलाई बाटो देखाउन लक्ष्मण तामाङ पनि आइपुग्नुभयो । उहाँले ‘अब छिटोछिटो हिँड्नुस्’ भन्दै हामीलाई यात्राका लागि हौस्याउनुभयो ।
गुम्बाबाट करिब एक घण्टा तेर्सो बाटो हिंडेपछि उकालो सुरु भयो । त्यसपछि लगातार सात घण्टाजतिको उकालो र हिउँको बाटो पार गर्नुपर्ने थियो । उकालो, हिउँ र चिसो मौसमले यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो । तर अचम्म ! हिउँको यात्रामा न भोक लाग्यो, न तिर्खा, न थकाइ नै महसुस भयो । ठाउँठाउँमा फोटो र भिडियो खिच्दै अघि बढ्दा बाटो छोटिएको अनुभूति हुन्थ्यो । नजिकै देखिने हिमशृंखला, ठाउँठाउँमा छरिएर रहेका साना तथा ठूला पोखरी र हिउँले ढाकिएका पहाडले यात्रालाई झनै रोमाञ्चक बनाइरहेका थिए । प्रकृतिको यस्तो अनुपम दृश्य देखेपछि मनमा छुट्टै आनन्द सञ्चार हुन्थ्यो । कताकता धर्तीमै स्वर्ग भेटिएझैं लाग्थ्यो ।
मञ्जुश्री पोखरी ! नामै कति मीठो । मञ्जुश्रीको नाम र कथासँग म पहिलेदेखि नै परिचित थिएँ । काठमाडौं उपत्यकाको उत्पत्तिसँग जोडिएको मञ्जुश्रीको कथा धेरैपटक सुनेको छु । बौद्ध धार्मिक ग्रन्थ तथा स्वयम्भू पुराणमा उल्लेख भएअनुसार कुनै समय काठमाडौं उपत्यका विशाल तालका रूपमा थियो । तालको बीचमा कमलको फूलमाथि स्वयम्भू ज्योतिरूप प्रकट भएको थियो । त्यसको दर्शन गर्न चीनतर्फबाट आएका बोधिसत्व मञ्जुश्रीले आफ्नो प्रज्ञाको तरबार (चन्द्रहास) प्रयोग गरी चोभारको डाँडा काटेर तालको पानी बाहिर पठाएको धार्मिक किंवदन्ती छ । त्यसपछि उपत्यकामा मानव बस्ती बस्न योग्य जमिन बनेको विश्वास गरिन्छ ।
मञ्जुश्रीले पानी निकास गराएपछि मात्रै काठमाडौं उपत्यकामा बस्ती विकास भएको भन्ने धार्मिक मान्यता छ । तर यो घटना कुन ऐतिहासिक वर्ष वा मितिमा भएको थियो भन्ने प्रमाणित तथ्य छैन । यो बौद्ध धार्मिक परम्परामा पुस्तौंदेखि सुनिँदै आएको किंवदन्ती हो । भूगर्भशास्त्रीय अध्ययनले पनि काठमाडौं उपत्यका कुनै समय ठूलो ताल रहेको र चोभार क्षेत्रबाट पानी बाहिरिएको तथ्यलाई समर्थन गर्छ । यसले मञ्जुश्रीको कथालाई थप रोचक बनाएको छ । मञ्जुश्रीको सम्बन्ध काठमाडौं उपत्यकासँग मात्र सीमित छैन । स्वयम्भूनाथ क्षेत्रमा मञ्जुश्रीको छुट्टै धार्मिक स्थल छ । उनलाई बौद्ध परम्परामा ज्ञान, बुद्धि र प्रज्ञाका बोधिसत्वका रूपमा पूजा गरिन्छ । हिन्दु परम्परामा पनि मञ्जुश्रीलाई सरस्वतीसँग जोडेर हेर्ने गरिन्छ । दोलखाको भीमेश्वर नगरपालिका–२ मा समेत मञ्जुश्रीको मूर्ति र उहाँकै नामबाट निर्माण गरिएको मञ्जुश्री पार्क छ ।
यस्ता धार्मिक तथा सांस्कृतिक कथाहरूले मञ्जुश्रीप्रति मेरो चासो बढाएको थियो । सायद यही कारण मञ्जुश्री पोखरीले मलाई पटकपटक आकर्षित गरिरहेको थियो । यात्रामा जति नै कठिनाइ आए पनि मञ्जुश्रीको नाम र उहाँसँग जोडिएका कथाले मेरो उत्साहलाई कमजोर हुन दिएनन् । यात्राका क्रममा पहिलोपटक एउटा सानो र चिटिक्क परेको पोखरी देखियो । करिब ४ हजार ८ सय मिटर उचाइमा रहेको उक्त पोखरीलाई पनि मञ्जुश्री पोखरीकै नामले चिनिँदो रहेछ । टाढाबाट हेर्दा सानो देखिने पोखरी नजिक पुग्दा भने निकै ठूलो लाग्यो । यो पोखरी दोलखा जिल्लाभित्रै पर्दछ ।
त्यहाँबाट करिब डेढदेखि दुई घण्टाको थप यात्रापछि बल्ल अर्को मञ्जुश्री पोखरीको दर्शन गर्ने अवसर मिल्यो । करिब ५ हजार १६ मिटर उचाइमा अवस्थित यो पोखरी चीनसँगको सिमानानजिक पर्दछ । स्थानीय बाटो र भूगोलको बनावट हेर्दा नेपालतर्फको भूभाग हुँदै त्यहाँ पुग्न सकिने रहेछ । चीनतर्फको सीमामा हिमाल र कठिन भौगोलिक संरचना रहेकाले स्थानीयले नेपालतर्फबाट हिँड्ने बाटो प्रयोग गर्दै आएका छन् । अन्ततः लामो प्रतीक्षापछि मञ्जुश्री पोखरीको किनारमा पुग्दा खुसीको सीमा रहेन । खुसीले भुइँमा खुट्टा नै नबसेजस्तो भयो । पोखरीको दर्शन गरें । पानी छोएँ । मनमनै आशीर्वाद मागेँ र आफ्नो मनोकामना सुनाएँ । त्यहाँ पुग्दा साँच्चिकै कुनै पवित्र धार्मिक तथा आध्यात्मिक स्थलमा आइपुगेको अनुभूति भयो ।
पोखरीलाई नजिकबाट हेर्दा निकै ठूलो देखिन्थ्यो । जति उकालो चढेर माथिबाट नियाल्थेँ, त्यति नै विशाल देखिन्थ्यो । चारैतिर हिमाल, हिउँ र प्राकृतिक सौन्दर्यले घेरिएको पोखरीको दृश्य शब्दमा वर्णन गर्न कठिन छ । त्यहाँ पुगेर केही समय मौन बस्दा पनि मनमा अनेकौँ विचार खेलिरहन्थे । प्रकृतिको विशालता र मानिसको अस्तित्वबीचको सम्बन्धबारे सोच्न बाध्य बनाउँथ्यो ।
यो क्षेत्र गौरीशंकर संरक्षण क्षेत्र आयोजनाभित्र पर्दछ । धार्मिक, प्राकृतिक र भौगोलिक महत्व बोकेको यस ठाउँलाई नेपालको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ । तर यस्ता ठाउँको विकास गर्दा यसको मौलिकता र धार्मिक पवित्रता जोगाउनु उत्तिकै आवश्यक छ । लाप्ची र मञ्जुश्री पोखरीलाई सामान्य पर्यटकीय गन्तव्यका रूपमा मात्र प्रचार गर्नु पर्याप्त हुँदैन । यहाँको धार्मिक विश्वास, बौद्ध संस्कृति, ध्यान र साधनाको परम्परालाई समेत बुझाउन सक्नुपर्छ ।
पर्यटन भनेको मनोरञ्जन मात्र होइन रहेछ । कतिपय यात्रा आफूलाई बुझ्न, इतिहास र संस्कृतिसँग परिचित हुन तथा प्रकृतिसँग नजिकिन पनि गरिन्छ । मञ्जुश्री पोखरीको यो यात्रा मेरा लागि त्यस्तै रह्यो । लाप्चीको धार्मिक महत्व, मञ्जुश्रीसँग जोडिएको किंवदन्ती र हिमालको काखमा अवस्थित पोखरीको अनुपम सौन्दर्यले मलाई फेरि पनि त्यही ठाउँमा पुग्ने चाहना जगाएको छ । सायद त्यसैले होला, केही ठाउँ यस्ता हुन्छन्, जहाँ पुगेपछि पनि मन फर्किन मान्दैन । लाप्ची र मञ्जुश्री पोखरी मेरो मनमा बसिरहने त्यस्तै ठाउँ बनेका छन् ।
जीवन लामा दोलखामा कार्यरत सञ्चारकर्मी हुन् ।