Trending
Prev Story
Next Story

उनीहरू आँखाले होइन, मनले क्रिकेट हेर्छन्

Ekantipur •
November 14, 2026 • 05:02 PM
3
3 reads 0 reactions

आँखाले खेल नदेखे पनि कमेन्ट्री, बलको आवाज र दर्शकको हुटिङबाट क्रिकेटको रोमाञ्च महसुस गर्छन् जन्मजात दृष्टिविहीन किरण चलाउने र कविता मल्ल ।

उनीहरू आँखाले होइन, मनले क्रिकेट हेर्छन्

आँखाले खेल नदेखे पनि कमेन्ट्री, बलको आवाज र दर्शकको हुटिङबाट क्रिकेटको रोमाञ्च महसुस गर्छन् जन्मजात दृष्टिविहीन किरण चलाउने र कविता मल्ल ।

आँखाले ब्याट र बल देख्दैनन् । तर मैदानमा गुन्जिने ‘ट्वाक’ आवाज र हजारौं दर्शकको हुटिङले उनीहरूको ढुकढुकी बढाइदिन्छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजबीचको खेल चलिरहँदा प्यारापिटमा दुई यस्ता दर्शक भेटिए, जसले क्रिकेट आँखाले होइन, मनले महसुस गरिरहेका थिए । जन्मजात दृष्टिविहीन बझाङ (छविसपाथीभेरा–६) का २७ वर्षीय किरण चलाउने र कैलाली (लम्कीचुहा–४) की २३ वर्षीया कविता मल्ल ।

यतिबेला चौतर्फी एनपीएलको रौनक छ । क्रिकेटप्रेमीको चहलपहल उस्तै छ । विशेषगरी सुदूरपश्चिम रोयल्सको खेल हुने दिन स्टेडियम नै भरिभराउ हुन्छ । प्यारापिट देउडामय बन्छ । आँखाले क्रिकेटको रंगीन माहोल, खेलाडीको जर्सी र मैदानमा कुदिरहेको बल देख्न नसके पनि उनीहरू एकअर्काको सहारामा खेल हेर्न रंगशाला पुगेका थिए ।

दर्शकको भीडभाड र कोलाहल छिचोल्दै रंगशालाको प्यारापिटमा पुग्न उनीहरूलाई त्यति सहज थिएन । गाडीबाट ओर्लिएर मैदानमा पुगेका उनीहरूको चौका र छक्का प्रहार हुँदा देखिने भाव सामान्य दर्शकको भन्दा कम थिएन । सुदूरपश्चिमका ब्याटरले बललाई प्रहार गर्दा आउने आवाज र त्यसलगत्तै प्यारापिटबाट गुन्जिने हुटिङले उनीहरूलाई मैदानको प्रत्यक्ष चित्र मनको पर्दामा कोर्न सघाइरहेको थियो ।

‘स्टेडियमको माहोल कस्तो हुँदोरहेछ भनेर पहिलो पटक अनुभव गर्न आएकी हुँ । मैदानमा हुटिङ हुँदा र सबैले एकैस्वरमा कराइरहँदा शरीरमा छुट्टै उर्जा आउँदोरहेछ,’ कविताले अनुभव साटिन्, ‘खेलको सुन्दर पक्ष नै यही हो । यसले भाषा, भूगोल र शारीरिक अवस्थाका सबै पर्खालहरू भत्काएर एकै ठाउँमा उनेर राखेको छ । मेरा लागि यो क्षण जीवनकै नयाँ र रोमाञ्चक अनुभूति रह्यो ।’

जन्मजात दृष्टिविहीन भए पनि २७ वर्षीय किरणको बाल्यकाल सुदूरपश्चिमको त्यही क्रिकेटमय हावापानीमा बित्यो । किरणका अनुसार सुदूरपश्चिम र क्रिकेटबीचको सम्बन्ध निकै गहिरो छ । सुदूरपश्चिममा गल्ली, चोक र खेतका गराहरूमा क्रिकेट हुर्केको छ । त्यो माटोले क्रिकेटलाई खेलमात्र होइन, संस्कृतिकै रूपमा अपनाएको छ ।

‘हाम्रोतिर पहिलेदेखि नै यो गेम खेल्छन्, अरूभन्दा पनि क्रिकेट त सानैदेखि खेल्दै आएको हो । हामीले पनि गाउँमा खेलेका हौं । उतातिर त गल्ली–गल्लीमा खेल्छन्,’ किरणले बाल्यकालको स्मृति खोतल्दै भने, ‘त्यसैले पनि सुदूरपश्चिमको टिम मैदान उत्रिँदा आफैं खेलिरहे जस्तो महसुस हुन्छ । यो टिमसँग हाम्रो माटोको सुगन्ध जोडिएको छ ।’

मैदानमा खेल भइरहँदा कसरी क्रिकेट गतिविधिको भेउ पाउनुहुन्छ त ? भन्ने प्रश्नमा किरणले भने, ‘कमेन्ट्रीबाट थाहा पाउँछौं । हुटिङबाट थाहा पाउँछौं । नबुझेको बेला सँगै भएकालाई सोध्छौं ।’ दर्शकले गर्ने हुटिङ र कमेन्ट्रीको आवाजले नै खेलको अवस्था बुझाउने किरणको भनाइ छ । कुन बेला कस्तो शट प्रहार भयो वा विकेट झर्‍यो भनेर ठ्याक्कै थाहा भएन भने सँगै आएका साथीहरूलाई सोधेर प्रस्ट हुने किरणले बताए ।

२०७३ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका किरणले यतैबाट स्नातक तहको अध्ययन पूरा गरिसकेका छन् । हाल उनी लोकसेवा आयोगको तयारीमा जुटेका छन् । तर, उनको परिचय यतिमा मात्र सीमित छैन । उनी आफैंमा दृष्टिविहीन क्रिकेट (ब्लाइन्ड क्रिकेट) का एक अब्बल खेलाडी हुन् । राष्ट्रिय स्तरका प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरिसकेका किरणले ब्लाइन्ड क्रिकेटको नियम र खेल्ने शैलीबारे प्रस्ट्याउँदै भने, ‘ब्लाइन्ड क्रिकेट भनेको सबै तरिकाले सामान्य क्रिकेटजस्तै हो, नियमहरू उस्तै हुन्छन् । एउटै फरक भनको यसमा प्रयोग हुने बल बज्ने खालको हुन्छ र हामी त्यसलाई अन्डरआर्म घुमाएर फ्याँक्छौं । त्यही बल बजेको आवाजको आधारमा ब्याटरले बलको दिशा र गति पहिल्याएर शट प्रहार गर्छन् ।’

उनले दृष्टिविहीन क्रिकेटको राष्ट्रिय टोलीबाट विश्वकप खेल्ने ठूलो सपना बुनेका थिए । सन् २०२४ को दृष्टिविहीन टी–२० विश्वकपका लागि छनोट प्रतियोगिता भइरहेको थियो । उनी उत्कृष्ट लयमा थिए । ‘पोहोर साल हाम्रो २०२४ को लागि वर्ल्डकप सेलेक्सन भइरहेको थियो । खेल्दाखेल्दै मेरो टाउकोमा गम्भीर चोट लाग्यो,’ उनले सुनाए, ‘सायद वर्ल्डकप खेल्न मौका मिल्थ्यो होला, तर इन्जुरीका कारण त्यहाँसम्म पुग्न सकिनँ । बीचमै रोकिनुपर्‍यो ।’ यद्यपि शारीरिक रूपमा आँखा नदेखे पनि भविष्यको उज्यालो देख्ने किरणको मनले हार मानेको छैन । उनी भन्छन् ‘मेरो आस मरेको छैन । सन् २०२७ मा फेरि वर्ल्डकप हुँदै छ, म त्यसमा जसरी पनि पुग्ने प्रयास गर्नेछु ।’

क्रिकेटको यो नसा र ब्लाइन्ड क्रिकेटको अनुभवबाट कविता पनि अछुतो छैनन् । ‘मैले पनि एकपटक ब्लाइन्ड क्रिकेट खेलेकी छु । त्यो बेला खेल जित्ने तरखरमा थियो, म फिल्डिङमा थिएँ र मैले एउटा क्याच लिएकी थिएँ,’ उनले सुनाइन्, ‘त्यो बेलाको खुसी र क्रिकेटको मज्जा म अहिले पनि सम्झिन्छु । सुदूरपश्चिमको खेल प्रत्यक्ष सुन्न पाउँदा त्यही दिन मैदानमा खेले जस्तै महसुस भइरहेको छ ।’

मैदानमा खेल निकै रोमाञ्चक मोडमा पुगिसकेको थियो । काठमान्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । प्यारापिटमा सुदूरपश्चिमको समर्थनमा देउडा भाकाहरू गुन्जिन थालिसकेका थिए । झन्डा फहराउने र हुटिङ गर्ने दर्शकको आवाजले कीर्तिपुरको आकाश गुञ्जायमान थियो । किरण र कविता पनि सुदूरपश्चिमको जितको प्रार्थना गर्दै हुटिङमा स्वर मिलाइरहेका थिए । ‘हाम्रो टिमले जित्दाको यो खुसी शब्दमा बयान गर्नै सकिँदैन । स्टेडियममै आएर आफ्नो टिमको जितको साक्षी बन्न पाउँदा मेरो जीवनकै अविस्मरणीय दिन बनेको छ । आँखाले नदेखे पनि यो जितको सुगन्ध र माहोल मेरो मनमा सधैं ताजा रहनेछ,’ किरणले कुराकानीमा बिट मारे ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
डा. अनिलको उपचार अनुभव : आँखाको ज्योति गुमेको थाहा पाएपछि ती महिलालाई श्रीमानले छाडिदिए

डा. अनिलको उपचार अनुभव : आँखाको ज्योति गुमेको थाहा पाएपछि ती महिलालाई श्रीमानले छाडिदिए

डा. अनिलको उपचार अनुभव : आँखाको ज्योति गुमेको थाहा पाएपछि ती महिलालाई श्रीमानले छाडिदिए १ मिनेट अघि नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीले शल्यक्रिया गरी ३५ हजारभन्दा बढी व्यक्तिको आँखाको ज्योति फर...

#आँखा
Compare →
Nagarik News
17h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →
Onlinekhabar
2d ago
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् । खचाखच दर्शकहरूले आ–आफ्नो …

#दर्शक #क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612