Trending
Prev Story
Next Story

इन्जिनियर बनेर सरकारी जागिर खाने सपना चिसापानीगढीको भीरमै अस्तायो

Ekantipur •
November 14, 2026 • 04:32 PM
3
3 reads 0 reactions

लखन्देही नदी किनारमा बिलाए तीन पुस्ताका सपना ।

इन्जिनियर बनेर सरकारी जागिर खाने सपना चिसापानीगढीको भीरमै अस्तायो

लखन्देही नदी किनारमा बिलाए तीन पुस्ताका सपना ।

सर्लाही, सुन्दरपुर — सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरस्थित एउटा सानो खपडाले छाएको घर । गाउँको उत्तरपश्चिम कुनामा रहेको यो घरमा तीन दिनदेखि एउटै आवाज गुञ्जिरहेको छ, आमाको चिच्याहट । त्यो कुनै उत्सवको उल्लास होइन, न त कुनै गीतको धुन । त्यो त छोराको मृत्युले विक्षिप्त बनेकी एउटी आमाको विलाप हो । वर्षौंसम्म दुःख गरेर हुर्काएको २६ वर्षीय छोरा बिकेशलाई इन्जिनियर बनेको हेर्ने सपना बोकेकी निर्मलादेवी यादवको त्यो चिच्याहटमा एउटा परिवारले एकैपटक गुमाएको भविष्यको पीडा मिसिएको छ ।

४९ वर्षीया निर्मलालाई अहिले आफ्नो आँसु रोक्न पनि गाह्रो भइरहेको छ । कहिले छोराको नाम लिएर जोडले चिच्याउँछिन्, कहिले एकाएक बेहोस हुन्छिन् । होसमा आउँदा पनि उनको मुखबाट निस्किने एउटै प्रश्न छ, ‘मेरो छोरा खोइ ? मेरो छोरालाई ल्याइदेऊ ।’

छठ पर्व मनाउन काठमाडौंस्थित डेराबाट सर्लाही घर फर्किंदै गरेका छोरा बिकेश अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । परिवारसँगै पर्व मनाउने, आमाको हातको खाना खाने र गाउँमा केही दिन बिताउने उनको योजना थियो । तर बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनाले त्यो योजना मात्रै होइन, एउटा परिवारको वर्षौंदेखिको सपना पनि सधैंका लागि अन्त्य गरिदियो । बिकेशसँगै जेठो छोरा अवधेशकी गर्भवती श्रीमती पुनम, दुई भाइ र तीन नातिनातिना गरी परिवारका ६ सदस्य पनि दुर्घटनामा परे । दुर्घटनामा सुन्दरपुरका १३ जनाको मृत्यु भयो । ६ जना घाइते भएका छन् । ज्यान गुमाउनेहरूको शुक्रबार राति लखन्देही नदी किनारमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिएको थियो । तर चितामा जलेका शवसँगै परिवारका सदस्यहरूको शरीर मात्रै खरानी भएको थिएन । एउटी आमाको बुढेसकालको सहारा, एउटा दाजुको वर्षौंको परिश्रम, गर्भवती महिलाको नजन्मिएको सन्तानको भविष्य र एउटा गाउँले देखेको सम्भावना पनि त्यही चितासँगै खरानी भयो ।

बिकेशले इन्जिनियरिङ अध्ययन पूरा गरिसकेका थिए । काठमाडौंको शंखरापुरस्थित शंकरापुर पोलिटेक्निकल इन्स्टिच्युटमा अध्ययन गरेका उनी अब सरकारी जागिर खाने तयारीमा थिए । त्यसका लागि लोकसेवा आयोगको परीक्षा तयारी गर्दै काठमाडौंमै बसेका थिए । पढाइमा अब्बल र स्वभावले मिलनसार बिकेशलाई गाउँलेहरूले मायाले ‘कइला’ भनेर बोलाउँथे । उनको पढाइ पूरा भएपछि परिवारमा खुसी थपिएको थियो । वर्षौंको संघर्षपछि छोराले प्राविधिक शिक्षा पूरा गरेको थियो । अब सरकारी जागिर खाने र परिवारको आर्थिक अवस्था सुधार्ने पालो बिकेशको थियो । आमा निर्मलाका अनुसार बिकेशले फोनमा र भेट हुँदा बारम्बार एउटै कुरा सुनाउँथे, पढाइ सकियो, अब सरकारी जागिर खाने हो । त्यसपछि गाउँमा नयाँ घर बनाउने र परिवारका दुःखका दिन विस्तारै अन्त्य गर्ने । छोराका ती आश्वासनले निर्मलालाई भविष्यप्रति आशावादी बनाएको थियो ।

गरिबी र अभावका बीच छोराहरूको भविष्यका लागि गरेको संघर्ष अब सार्थक हुने विश्वास थियो । नयाँ घर बनाउने सपना पनि थियो । छोराले कमाउन थालेपछि आफूले भोगेका दुःखका दिन सकिने आशा गरेको निर्मलाले सुनाइन् । तर बिहीबार बिहान आएको दुर्घटनाको खबरले ती सबै सपना एकैपटक भत्काइदियो ।

‘यो पीडा अब कसरी व्यक्त गरूँ ? छोरालाई इन्जिनियर बनेको हेर्ने सपना थियो । घर बनाउँछु भन्थ्यो । अब ऊ नै संसार छाडेर गयो,’ निर्मला चिच्याउँदै भन्छिन्, ‘मेरा छोरा खोइ ? म अब कसरी बाँचूँ ? मेरो छोरालाई मेरो सामु ल्याइदेऊ ।’

उनका लागि अहिले छोरा इन्जिनियर बनेको हेर्ने सपना मात्रै अधुरो भएको छैन । जीवनभरको दुःखमा साथ दिने र बुढेसकालको सहारा बन्ने आशा पनि हराएको छ । निर्मलाको खपडाले छाएको घर अझै त्यही छ । घरको आँगन पनि उस्तै छ । तर त्यहाँ फर्किने बिकेश छैनन् । आमाको दुःख हटाउने वाचा गर्ने छोरा अब कहिल्यै घर आउने छैनन् । इन्जिनियर बनेर नयाँ घर बनाउने सपना देख्ने युवकको आफ्नै जीवन भने चिसापानीगढीको भीरमै सदाका लागि रोकिएको छ । छोराको भविष्य बनाउन जीवनभर संघर्ष गरेकी निर्मला अहिले परिवारका सदस्य गुमाएपछि शारीरिक र मानसिक रूपमा समेत विक्षिप्त अवस्थामा छिन् ।

बिकेशको इन्जिनियर बन्ने यात्रामा दाजु अवधेशको ठूलो योगदान थियो । काठमाडौंको जडीबुटी क्षेत्रमा एक दशकदेखि फलफूल व्यवसाय गर्दै आएका अवधेशले व्यापारबाट भएको आम्दानी र आफ्नो श्रमको ठूलो हिस्सा भाइको पढाइमा खर्चिएका थिए । कान्छो भाइ सुधेश पनि उनीसँग फलफूल व्यवसायमा साथ दिँदै आएका थिए । आफूले दुःख गरेर कमाएको पैसाले भाइलाई पढाएका अवधेशको सपना थियो, भाइले पढाइ पूरा गरोस्, सरकारी जागिर खाओस् र परिवारलाई अभावबाट बाहिर निकालोस् । भाइको पढाइ पूरा भएपछि अवधेश पनि ढुक्क भएका थिए ।

अब लोकसेवाको तयारीपछि सरकारी जागिर खाने र परिवारको अवस्था सुधार्ने दिन धेरै टाढा छैन भन्ने लागेको अवधेश सम्झन्छन् । तर दुर्घटनाले उनको जीवनको सबैभन्दा ठूलो आधार नै खोस्यो । ‘भाइको पढाइ पनि सकिएको थियो । सरकारी जागिर खाने उसको ठूलो सपना थियो,’ अवधेश भन्छन्, ‘अब त्यो सपना सपनामै अधुरो रह्यो ।’ अवधेशले भाइलाई पढाउन गरेको संघर्ष र त्यसबाट जोडिएको आशा अब सम्झनामा मात्रै सीमित भएको छ । भाइलाई पढाएर परिवारको अवस्था बदल्ने आमासँगै आफ्नो पनि योजनामा दुर्घटनाले पूर्णविराम लगाइदिएको उनले सुनाए ।

लखन्देही नदी किनारमा परिवारजनको चितामा दागबत्ती दिएपछि अवधेश मुर्छित बने । उनलाई छिमेकीहरूले हौसला दिन्थे । भाइ इन्जिनियर बनेर सरकारी जागिर खाने आमाको सपना र आफूले सकी नसकी दुःख गरेर पढाएको कुरा उच्चारण गर्दा उनी भक्कानिन्थे । हरेक वर्षजस्तै यसपटक पनि छठ पर्व मनाउन अवधेशको परिवार काठमाडौंंबाट सर्लाही आउने तयारीमा थियो ।

बिहीबार बिहान परिवारका सदस्यहरूलाई गाडीमा चढाएर घर पठाउने तयारी भयो । गाडीमा सिट अभाव भएपछि अवधेशले अर्को दिन मोटरसाइकलमा आउने निर्णय गरे । बिहान श्रीमती पुनम, दुई भाइ र छोराछोरीसहित परिवारका सदस्यहरू गाडीमा चढे । उनीहरूलाई बिदा गर्दा अवधेशलाई सामान्य दिनजस्तै लागेको थियो । परिवार छठ मनाउन घर पुग्नेछ र आफू पनि भोलिपल्ट आइपुग्नेछु भन्ने उनको सोच थियो ।

तर केही घण्टामै आएको दुर्घटनाको खबरले उनको संसार बदलिदियो । जुन निर्णयका कारण उनी गाडीमा चढेनन्, त्यही निर्णयले उनको ज्यान जोगियो । तर त्यसको मूल्य उनले जीवनभर बिर्सन नसक्ने गरी चुकाउनुपरेको छ ।

आफूले माया गरेका परिवारका सदस्यहरूलाई एकैपटक गुमाउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न कठिन छ । शुक्रबार राति अन्तिम संस्कारका क्रममा अवधेशले गर्भवती श्रीमती पुनम, दुई भाइ र तीन छोराछोरीलाई एकैसाथ दागबत्ती दिएर बिदा गर्नुपर्‍यो ।

एकै परिवारका यति धेरै सदस्यलाई एउटै समयमा अन्तिम बिदाइ दिनुपर्दाको त्यो दृश्य सुन्दरपुरका लागि पनि असह्य बन्यो । अवधेशका लागि त्यो अन्तिम संस्कार मात्रै थिएन । आफ्नो जीवनसँग जोडिएका सबैभन्दा प्रिय मानिसहरूलाई एकपछि अर्को गर्दै गुमाएको कठोर क्षण थियो ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिकेश इन्जिनियर बनेर परिवारको जीवन बदल्ने आँटमाथि पूर्णविराम लागेको घटनाले आफू पनि स्तब्ध भएको सुनाए । ‘गाउँका लागि बिकेश केवल एक विद्यार्थी थिएनन् । गाउँमै हुर्किएर प्राविधिक शिक्षा हासिल गरेका र सरकारी सेवामा प्रवेश गर्ने तयारी गरिरहेका मधेशका एक युवा थिए,’ उनले भने, ‘उनको सफलताले परिवारसँगै गाउँका अन्य युवालाई पनि प्रेरणा दिने अपेक्षा थियो । तर चिसापानीगढीको दुर्घटनाले त्यो सम्भावना पनि खोस्यो ।’

मधेशमा छठ पर्व धार्मिक अनुष्ठान मात्रै होइन, परिवार र आफन्तसँग भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने र सामूहिक खुसी बाँड्ने अवसर पनि हो । टाढा रहेका परिवारका सदस्यहरू यस अवसरमा गाउँ फर्किने गर्छन् । अवधेशको परिवार पनि यही पर्व मनाउन काठमाडौं छाडेर सर्लाही फर्किंदै थियो । घरमा छठको तयारी र आफन्तसँग भेटघाटको प्रतीक्षा थियो । तर पर्वको खुसी लिएर आउनुपर्ने परिवार दुर्घटनाको खबरसँगै सिंगो गाउँ शोकमा डुब्यो । सुन्दरपुरमा अहिले छठको उल्लास छैन । गाउँलेहरू एउटै गाउँका यति धेरै सदस्य गुमाउनुपरेको पीडाले स्तब्ध छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
15h ago
इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा अहिले एउटा परिवारको मात्र होइन, सिंगो गाउँको सपना र खुसी लुटिएको छ।

#सपना #इन्जिनियर #बनेर
Compare →
Hamro Patro News
5d ago
फूलको बगानमै फुल्यो गंगाबहादुरको सपना

फूलको बगानमै फुल्यो गंगाबहादुरको सपना

पहेँलपुर र सुनौलो रङमा ढकमक्क फुलेको सयपत्री फूलले राम्रो आम्दानी गरेको छ । बारीभरि फैलिएको फूलको सुगन्ध र आँखै लोभ्याउने दृश्यले मनमोहक बनाएको छ । यही फूलको बगानले इलाम नगरपालिका–१० सिल्पुरका गंग...

#सपना
Compare →

Related Stories

Politics & Governance
Build #2612