२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ ।
सत्ता साझेदार दल नेकपा एमालेले ३० असोजमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । गत २० कात्तिकमा नेकपाका पनि चार मन्त्री राजीनामा दिँदै सरकारबाट समर्थन फिर्ता लिएको थियो । त्यस यता मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा छ ।
आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा छन् । मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने मुख्यमन्त्री यादवले बताएका छन् ।
हाल कायम १०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
प्रदेश सभाको अंकगणितअनुसार कांग्रेसका २२ सांसद मात्रै मुख्यमन्त्रीको पक्षमा रहेकाले विश्वासको मत प्राप्त गर्न यादवलाई थप ३२ सांसदको समर्थन आवश्यक देखिन्छ ।
तर हालसम्म भने कुनै समीकरण बनेको छैन ।
गत २० कात्तिकमा जसपा, एमाले र नेकपाको समीकरण बनेको दाबी एमालेले गरेको थियो । जसपा नेपालको नेतृत्वमा सरकार बनाउने तयारी स्वरूप त्यसै दिन नेकपा पनि सरकारबाट बाहिरियो । तर जसपाभित्र पनि मुख्यमन्त्री बन्ने विषयमा आ-आफ्नै दाउमा छन् । आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा संसदीय दलका नेता सरोजकुमार यादव प्रयासरत रहेका छन् । एमाले र नेकपाको समीकरणलाई अन्तिम रूप दिन चाहे पनि पार्टी कलहमा फस्ने सम्भावनाले उनी सहमत हुन सकेका छैनन् । जनमत भने अब बन्ने सरकारमा सहभागी नै नहुने घोषणा जनमत अध्यक्ष डा. सिके राउतले घोषणा नै गरिसेका छन् ।
त्यसैले मधेशमा अन्यौलता छ । यद्यपि संविधानको धारा १६८ को २ बमोजिम सरकार नबने धारा १०६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जसपा नेपाल सरकार बन्नेमा सो दल ढुक्क छ । यसले सरोजकुमार यादव मुख्यमन्त्री बन्ने निश्चित हुन सक्छ । यधपी उनले पनि ३० दिन भित्र विश्वासको मत प्रमाणित गर्ने बाध्यता रहन्छ ।
विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्री यादवले आजै सदनमा सम्बोधन गरी राजीनामा दिन सक्ने सम्भावना प्रबल छ । यसपछि मधेश प्रदेश प्रमुखले आजै वा भोलि संविधानको धारा १६८ को २ बमोजिम बहुमतसहित सरकारको दाबी पेश गर्न आह्वान गर्ने छन् ।