Trending
Prev Story
Next Story

१४ जना प्रियजनको मृ’त्युले छठको उमंग मातममा बदलियो : सुन्दरपुरमा बलेन चुल्हो, श’वको पर्खाइमा आफन्त

Nagarik News •
November 13, 2026 • 04:14 AM
1
1 reads 0 reactions

एउटै गाउँका १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको खबर फैलिएसँगै सुन्दरपुरमा रुवाबासी छाएको छ।

1 / 5
Swipe Photos

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा बिहीबार बिहान भएको भयावह विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ।

एउटै गाउँका १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको खबर फैलिएसँगै सुन्दरपुरमा रुवाबासी छाएको छ।

गाउँका अधिकांश घरमा चुल्हो बलेको छैन भने आफन्तहरू शव पर्खेर गाउँमा भेला भएका छन्।

छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किरहेका यात्रु सवार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस भीमफेदीको चिसापानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमध्ये अधिकांश सुन्दरपुरकै स्थानीय रहेका छन्। दुर्घटनामा एउटै परिवारका सदस्यसमेत गुमेपछि गाउँमा पीडामाथि पीडा थपिएको छ।

कतै परिवारका सदस्य गुमाएको शोक छ, कतै बालबालिकाले अभिभावक गुमाएका छन्। छठ पर्वको खुसी बाँड्न घर फर्किएकाहरूको यात्रा कहिल्यै नफर्किने गरी अन्त्य भएपछि सुन्दरपुर शोकमग्न बनेको छ।

चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनामा प्रमोद यादवका २६ वर्षीय छोरा गुडु यादव र उनकी २४ वर्षीया श्रीमती गायत्री देवी यादवको मृत्यु भएको छ।

त्यसैगरी राम सुनर यादवका २५ वर्षीय छोरा विकेश यादव र १६ वर्षीय छोरा सुधेश यादवले ज्यान गुमाएका छन्।

अबेधश यादवकी श्रीमती पुनम यादव तथा उनका नातिनीहरू १० वर्षीया अनु यादव, ७ वर्षीया शिक्षा यादव र ६ वर्षीया दिपिका यादवको पनि दुर्घटनामा मृत्यु भएको छ।

त्यस्तै निरसु रायका ४० वर्षीय छोरा राकेश राय र १४ वर्षीय नाति रोहन राय, चन्देश्वर रायका २५ वर्षीय छोरा सुबोध राय, निरस रायका २५ वर्षीय छोरा राम दुलार राय र अमिरी रायका २५ वर्षीय छोरा राम प्रवेश रायको मृत्यु भएको छ।

दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डलले पनि ज्यान गुमाएका छन्।

दुर्घटनामा मुकेश राय, देवेन्द्र राय, बेचु भनेर चिनिने देवेन्द्र राय, मृतक गुडु यादवका पाँच वर्षीय छोरा सक्षम राय, तीन वर्षीय छोरा सुजन राय र अबधेश यादवका १६ महिने छोरा सुदिप यादव घाइते भएका छन्।

उनीहरूको अस्पतालमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन्।

शवको पर्खाइमा आफन्त, सुन्दरपुरमा चुल्हो बलेन

दुर्घटनाको खबरपछि सुन्दरपुरका घरघरमा सन्नाटा छाएको छ। आफन्त, छरछिमेक र गाउँलेहरू शव गाउँ आइपुग्ने प्रतीक्षामा छन्।

कसैका आँखामा आँसु रोकिएका छैनन् भने कसैलाई आफ्ना प्रियजन अब कहिल्यै घर नफर्किने यथार्थ स्वीकार गर्न कठिन भइरहेको छ।

छठ पर्वको तयारी र पारिवारिक भेटघाटको खुसीमा रमाउनुपर्ने गाउँ अहिले शोकमा डुबेको छ। पर्वको उमंग एकाएक मातममा बदलिएको छ। गाउँका धेरै घरमा खाना पाकेको छैन।

आफन्तको मृत्युको खबरले विक्षिप्त बनेका परिवारजन शवको पर्खाइमा छन्।

क्षमताभन्दा बढी यात्रु, सडक सुरक्षामाथि गम्भीर प्रश्न

यस हृदयविदारक दुर्घटनाले सवारीसाधनको यात्रु क्षमता, चालकको जिम्मेवारी र सडक सुरक्षासम्बन्धी नियमनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रारम्भिक विवरणअनुसार हाइसमा स्वीकृत क्षमताभन्दा बढी यात्रु सवार रहेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण र यात्रु क्षमतासम्बन्धी विषय आधिकारिक अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

छठको खुसी मनाउन घर फर्किएका १४ जनाको एकैपटक मृत्यु भएपछि सुन्दरपुरले अपूरणीय क्षति व्यहोरेको छ।

गाउँलेहरूका लागि यस वर्षको छठ पर्व खुसी र उत्सवको पर्व नभई कहिल्यै नमेटिने पीडाको सम्झना बनेको छ।

सुन्दरपुरमा अहिले पर्वको रौनक छैन, घरघरमा चुल्हो बलेको छैन। गाउँलेहरूका आँखामा आँसु छ। सबै एकै प्रतीक्षामा छन्।

प्रकाशित: २७ कार्तिक २०८३ ०९:५९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#गाउँ #दुर्घटना #त्यु
Compare →
Ekantipur
9h ago
भीमफेदी दुर्घटना : सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै

भीमफेदी दुर्घटना : सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो ।

#दुर्घटना #आफन्त
Compare →
Onlinekhabar
3h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#सुन्दरपुर #दुर्घटना
Compare →

Related Stories

World News
Build #2611