Trending
Prev Story
Next Story

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

Ekantipur •
November 12, 2026 • 04:31 PM
1
1 reads 0 reactions

हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच्च अधिकारीसँग अर्को सम्बन्धको आरोपले अहिले उनको व्यक्तिगत जीवनदेखि व्यावसायिक भविष्यमा समेत प्रश्न उठाएको छ ।

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच्च अधिकारीसँग अर्को सम्बन्धको आरोपले अहिले उनको व्यक्तिगत जीवनदेखि व्यावसायिक भविष्यमा समेत प्रश्न उठाएको छ ।

सामाजिक सञ्जालमा स्क्रोल गर्दै जाँदा समाचार होस् या ‘मिम’ र ‘ट्रोल’ त्यहाँ प्रायः एउटै व्यक्ति दोहोरिन्छन्— जेन्सन हुआङ । कारण हो, उनको विवाहेतर सम्बन्ध ।

एनभिडिया का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुआङ चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको सम्बन्धमा रहेको भन्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेपछि उनी चर्चामा तानिएका हुन् । जेन्सनले पनी आफू विवाहेतर सम्बन्धमा रहेको स्विकारिसकेका छन् ।

सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वप्रबन्ध निर्देशक एलिस हुआङसँग विवाहेतर सम्बन्ध मात्रै चर्चाको विषय बनेको होइन । एलिस चिनियाँ जासुस भनिएका कारण पनि यो थप चर्चाको विषय बनेको हो ।

एलिससँगको सम्बन्ध सेलाउन पाउँदा नपाउँदै जेन्सनको अर्को सम्बन्ध पनि चर्चामा तानिएको छ । आफ्नै कम्पनीकी एक उच्च अधिकारीसँग पनि प्रेम सम्बन्ध रहेको आरोप लागेको छ । द न्युयोर्क टाइम्सले ११ नोभेम्बरमा प्रकाशन गरेको समाचारमा एनभिडियामा काम गरिसकेका पाँच व्यक्तिसँगको कुराकानीका आधारमा उक्त दाबी सार्वजनिक गरिएको उल्लेख छ ।

एनभिडियाको बोर्डले दुई महिलासँग विवाहेतर सम्बन्ध राखेको आरोप लगाएपछि जेन्सन हुआङले पदबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । एआई क्रान्तिका प्रमुख पात्र मानिने उनी अहिले व्यक्तिगत सम्बन्धसँग जोडिएको राष्ट्रिय सुरक्षा विवादको सामना गरिरहेका छन् । तर को हुन् त हुआङ, जसले ग्राफिक्स चिपबाट सुरु गरेर विश्वको प्रविधि नक्सा नै बदलिदिए ?

हुआङ ताइवानका नागरिक हुआङ सिङ–ताई र लो त्साई–सिउका दोस्रो सन्तान हुन् । उनको जन्म १७ फेब्रुअरी १९६३ मा भएको हो । उनका बुबा केमिकल इन्जिनियर थिए भने आमा प्राथमिक तहकी शिक्षिका ।

जेन्सन हुआङको वास्तविक नाम जेन सुन हुआङ हो । सन् १९६३ मा ताइवानको ताइनानमा जन्मिएका उनको बाल्यकाल भने बसाइँसराइमै बित्यो । ताइवान अत्याधुनिक सेमिकन्डक्टर उत्पादनमा विश्वकै अग्रणी देश हो । एनभिडियाका सबैभन्दा उन्नत चिपसमेत वर्षौंदेखि ताइवानकै टीएसएमसीले उत्पादन गर्दै आएको छ ।

जेन्सन पाँच वर्षका हुँदा हुआङ परिवार ताइवान छाडेर थाइल्यान्ड पुगेको थियो । तर त्यहाँ उनीहरूको बसाइ लामो हुन सकेन । जेन्सनका बुबाले अमेरिकी एयर कन्डिसनर निर्माता कम्पनी क्यारियरको कामदार तालिम कार्यक्रममा सहभागी हुने अवसर पाएका थिए । त्यस क्रममा उनले अमेरिकामा उपलब्ध अवसरहरू नजिकबाट देखेका थिए । त्यसै बेलादेखि हुआङ सिङले आफ्ना सन्तानहरूलाई अमेरिका पठाएर पढाउने वाचा गरेका थिए । छोराहरूको भविष्यका लागि अमेरिका सबैभन्दा उपयुक्त ठाउँ हुने उनको विश्वास थियो ।

त्यति बेला भियतनाम युद्ध चर्किरहेको थियो र दक्षिणपूर्वी एसियाको समग्र क्षेत्र अस्थिर बनेको थियो । जेन्सनका बुबाले हरेक साता थप रक्तपातपूर्ण र तीव्र बन्दै गएको युद्ध तत्काल अन्त्य हुने संकेत देखेका थिएनन् ।

सन् १९६९ र १९७० मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले उत्तरी भियतनामका आपूर्ति मार्ग अवरुद्ध गर्ने उद्देश्यले कम्बोडियामा व्यापक बमबारी गर्न आदेश दिए । त्यसको अर्को वर्ष अमेरिकी वायुसेनाले दक्षिण भियतनामी सेनाको आक्रमणलाई सघाउँदै दक्षिणी लाओसमा भीषण आक्रमण गरे ।

युद्ध बिस्तारै थाइल्यान्डको सीमातर्फ नजिकिँदै थियो । हुआङ परिवार आफ्ना सन्तानहरूलाई युद्धबाट टाढा र भविष्यका लागि बढी अवसर उपलब्ध हुने देशमा राख्न चाहन्थ्यो । त्यसको विकल्प बन्यो अमेरिका । सन् १९७२ मा जेन्सन र उनका दाइ अमेरिका जाने विमान चढेर वासिङ्टन राज्यको टाकोमा पुगे । उनीहरू त्यहाँ काकासँग बस्न थाले । छोराहरूलाई अमेरिका पठाए पनि उनका आमाबुबा भने थाइल्यान्डमै बसे । उनीहरू अमेरिका आउन आवश्यक कागजात जुटाउँदै र खर्चको जोहो गर्दै थिए ।

पछि हुआङ दाजुभाइलाई प्राथमिक तहको शिक्षा हासिल गर्न र छात्रावासमा बस्न केन्टकी राज्यको ओनिडा पठाइयो । उनीहरू नियमित विद्यालयमा पढ्थे, तर बस्ने छात्रावास भने सैनिक सुधार एकेडेमीका विद्यार्थीहरूसँग थियो । अमेरिका पुगेपछिका वर्ष जेन्सनका लागि निकै कठिन रहे । अंग्रेजी भाषा राम्रोसँग बोल्न नसक्ने आप्रवासी बालकका रूपमा उनलाई आफू बस्ने छात्रावासका विद्यार्थीहरूसँग घुलमिल हुन कठिन भयो । त्यसमाथि उनी निरन्तर दुर्व्यवहार र बुलिङको सिकार भइरहन्थे ।

तर जेन्सनका पूर्वसहपाठीहरूका अनुसार उनले ती दुर्व्यवहारलाई सहजै सामना गरे र त्यसले आफ्नो आत्मविश्वास कमजोर हुन दिएनन् । केन्टकीमा रहँदा उनले पढाइमा राम्रो प्रदर्शन गरे । बिस्तारै सहपाठीहरूसँग मित्रता पनि बढाउँदै लगे ।

पछि उनका आमाबुबा पनि अमेरिका आए । परिवारले ओरेगन राज्यको पोर्टल्यान्ड सहरनजिकै बसोबास सुरु गर्‍यो । त्यहाँ पुगेपछि जेन्सनलाई नयाँ वातावरणमा आफूलाई स्थापित गर्न थप सहज भयो । हाईस्कुलका सहपाठीहरूसँग घुलमिल हुन उनलाई कहिलेकाहीँ अझै कठिन हुन्थ्यो । तर पढाइमा भने उनी उत्कृष्ट रहे । त्यही समयमा उनले स्थानीय डेनिज रेस्टुरेन्टमा आफ्नो पहिलो जागिर सुरु गरे । रेस्टुरेन्टमा बिताएको समय र त्यहाँ सिकेका पाठलाई जेन्सन विशेष रूपमा सम्झिन्छन् । खर्बौं डलर मूल्यांकन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेपछि पनि उनी भाँडा माझ्ने कामबाट वेटर हुँदै अघि बढेको आफ्नो यात्राप्रति गर्व गर्छन् ।

हाईस्कुलको पढाइ पूरा गरेपछि जेन्सन हुआङले उच्च शिक्षालाई आफ्नो लक्ष्य बनाए । उनले ओरेगन स्टेट युनिभर्सिटी (ओएसयू) बाट इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरे । विश्वविद्यालयमा उनको शैक्षिक प्रदर्शन उत्कृष्ट थियो ।

यहीँ अध्ययनका क्रममा उनले आफ्नी पत्नी लोरीलाई भेटेका थिए । इलेक्ट्रोनिक इन्जिनियरिङको एउटा कक्षामा लोरी उनकी ‘प्रक्टिकल पार्टनर’ (सहपाठी) थिइन् । ओएसयूबाट स्नातक गरेपछि स्ट्यानफोर्ड विश्वविद्यालयमा थप अध्ययन गर्न जानुअघि र अन्ततः एनभिडिया स्थापना गर्नुअघि हुआङले एएमडी र एलएसआई लजिकमा काम गरेका थिए ।

एएमडीमा उनको कार्यकाल छोटो थियो । उनी त्यहाँ एक वर्षभन्दा केही बढी समय मात्रै कार्यरत रहे । तर उक्त अनुभवले प्रविधि उद्योगमा उनको भविष्यको सफलताको आधार तयार पार्‍यो । एएमडीमा रहँदा उनले माइक्रोप्रोसेसरको डिजाइनमा काम गरेका थिए । माइक्रोप्रोसेसर भनेको कम्प्युटरको सीपीयूले गर्ने काम एउटै एकीकृत सर्किटमा सम्पन्न गर्ने सानो इलेक्ट्रोनिक उपकरण हो ।

एएमडी छाडेपछि हुआङ एलएसआई लजिकमा आबद्ध भए । अहिले उक्त कम्पनी ब्रोडकमको स्वामित्वमा छ । उनी एलएसआई लजिकमा प्रवेश गर्दा कम्पनीको इतिहासकै महत्त्वपूर्ण चरण चलिरहेको थियो । दुई वर्षअघि मात्रै सेयर बजारमा सूचीकृत भएको कम्पनी तीव्र गतिमा विस्तार भइरहेको थियो ।

त्यहाँ रहँदा हुआङले इन्जिनियरिङ, मार्केटिङ हुँदै व्यवस्थापनसम्मका विभिन्न जिम्मेवारी सम्हाले । प्राविधिक कामदेखि व्यवस्थापकीय भूमिकासम्मको अनुभवले उनलाई भविष्यमा आफ्नै कम्पनी सञ्चालन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्‍यो ।

एलएसआई लजिकमा काम गरिरहँदा हुआङले साँझ र सप्ताहन्तमा अध्ययनलाई निरन्तरता दिए । सन् १९९२ मा उनले स्ट्यानफोर्ड युनिभर्सिटीबाट इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातकोत्तर गरे । र एक वर्षपछि स्थापना गरे– एनभिडिया ।

सन् १९९३ मा जेन्सन हुआङ, क्रिस मालाचोस्की र कर्टिस प्रिमले मिलेर एनभिडियाको स्थापना गरे । सन माइक्रोसिस्टम्स र आईबीएममा काम गरेको अनुभव भएका अन्य दुई सहसंस्थापकले हुआङलाई सान जोसे नजिकैको डेनिज रेस्टुरेन्टमा भेटेका थिए ।

रेस्टुरेन्टमा खाना खाँदै उनीहरूले ४० हजार अमेरिकी डलरबाट एनभिडिया स्थापना गर्ने निर्णय गरेका थिए । सुरुमा कम्पनीको नाम ‘एनभिजन’ राखिएको थियो । तर उक्त नाम ट्वाइलेट पेपर उत्पादन गर्ने कम्पनीले प्रयोग गरिरहेको थाहा पाएपछि उनीहरूले तत्काल नाम परिवर्तन गरेर ‘एनभिडिया’ राखे । तीनै जना संस्थापकले हुआङलाई सीईओ चुने । भिडियो गेम उद्योगका लागि जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) बनाउनु उनीहरूको लक्ष्य थियो । सुरुका कठिन वर्ष पार गरेपछि कम्पनीले सेमिकोन्डुक्टर मार्केट (विद्युतीय उपकरणहरूमा प्रयोग हुने चिप्स र कम्पोनेन्टहरू) मा बलियो स्थान बनायो र सन् १९९९ मा सार्वजनिक भयो । कम्पनीको सेयर मूल्य प्रतिसेयर १ सय डलर पुग्दा हुआङले आफ्नो देब्रे काँधमा कम्पनीको लोगोको ट्याटु नै बनाएका थिए ।

कम्पनीको सफलसँगै हुआङको सम्पत्ति र प्रभाव पनि बढ्दै गयो । एनभिडियामा करिब ३.५ प्रतिशत सेयर स्वामित्वले उनलाई अर्बपति बनायो र उनी अमेरिकाका सबैभन्दा बढी पारिश्रमिक पाउने सीईओमध्ये एक बनेका थिए ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच...

#हुआङ #जीवन #जेन्सन
Compare →
Bizshala
11h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #एनभिडिया
Compare →
Onlinekhabar
1d ago
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर …

#हुआङ #एनभिडिया
Compare →
Nagarik News
10h ago
सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

#जीवन
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #जेन्सन
Compare →

Related Stories

Business & Economy
Build #2611