जर्मनी बसेको करिब २५ वर्ष पुग्न लाग्दा पनि टंक लम्सालको मन नेपालमै छ, उनका छोराहरू विश्वविद्यालय जाने भएपछि आफू नेपाल फर्किने उनको योजना छ, भन्छन्, ‘बाबुहरू युनिभर्सिटी गएपछि म फर्कन्छु, मलाई नेपालमा बस्ने धोको पुगेको छैन ।’
फ्र्यांकफर्ट, जर्मनी — जर्मनीको म्युनिस्टरमा इटालियन रेस्टुराँ चलाइरहेका बेला स्याङ्जाका टंक लम्सालको मनमा एउटा प्रश्न आइरहन्थ्यो, ‘नेपाली भएर नेपाली गीत बजाउँदै, ढाका टोपी ढल्काउँदै आफ्नै मौलिक खाना बेच्न पाए कस्तो हुन्थ्यो ?’
सन् २००७ तिरको कुरा हो । रेस्टुराँ आफ्नै भए पनि ग्राहकले नेपाली हो भन्ने थाहा पाए नआउलान् कि भन्ने डर उनमा थियो । त्यसकारण लम्सालले आफ्नै पहिचान लुकाउनुपर्थ्यो । ‘इटालियन रेस्टुराँ चलाउँदै गर्दा मलाई पटक–पटक लाग्थ्यो, ‘बिइङ अ नेपाली, हामी नेपाली नै किन गर्न सक्दैनौं ?’ लम्साल सम्झन्छन्, ‘आफू साहु भए पनि सकेसम्म ग्राहकले नेपाली हो भनेर नचिनून् भन्ने लाग्थ्यो अनि लुक्थें । त्यो पीडादायी क्षण थियो ।’
तर त्यही बेला उनलाई नेपाली रेस्टुराँ नै खोलेर गर्वका साथ नेपाली परिकार बेच्नुपर्छ भन्ने लागेको उनले सुनाए । विदेशी भूमिमा अरू देशको खाना बेचिरहँदा आफ्नै देशको खाना, संगीत र संस्कृति चिनाउने रहर थप बलियो बन्दै गएको उनी बताउँछन् ।
इटालियन रेस्टुराँ चलाउँदासम्म लम्सालको जर्मनी बसाइ ७ वर्ष पुगिसकेको थियो । लम्साल सन् २००१ मा आफन्तको सहयोगमा जर्मनी पुगेका थिए । जर्मनीको फ्र्यांकफर्टमा ओर्लिएर म्युनिस्टर पुगेका लम्सालले सुरुमा कोरियन रेस्टुराँमा वेटर गरे । त्यसपछि एकपछि अर्को रेस्टुराँमा काम गर्दै गए । यसरी उनी हस्पिटालिटी क्षेत्रमै अड्किए ।
‘जर्मनी आएदेखि नै हस्पिटालिटी सेक्टरमै काम गरें । त्यहीँ रमाउन थालें, यसैमा काम सिकियो, यसैमा बिक्ने भइयो । यसैमा माया–मोह भयो,’ लम्सालले भने, ‘त्यति बेला मैले चिनेका नेपालीहरू थिए । उहाँहरूलाई केही सुरु गर्नुभयो भने मलाई सम्झनुहोला, मिलेर केही गरौंला भन्न थालें । तर पछि उनीहरूले रेस्टुराँ व्यवसाय सुरु गर्दा मलाई सम्झिएनन् ।’
आफूलाई नसम्झिएपछि सन् २००३ तिर ६–७ सय किलोमिटर टाढा म्युनिख गएर बस्ने निर्णय गरे । ‘तर एक जना आफन्तले मलाई म्युनिस्टरमै रोक्नुभयो,’ लम्सालले भने, ‘उहाँले रेस्टुराँमा लगानीकर्ता त बनाउनुभएन । तर कामको जिम्मा दिनुभयो । अनि त्यो इटालियन रेस्टुराँलाई मैले आफ्नै किसिमले चलाएँ ।’
अरूकामा मात्र गरेर हुँदैन भनेर सन् २००५ को अन्त्यतिर आफ्नै इटालियन रेस्टुराँ सुरु गरेको लम्साल सम्झन्छन् । त्यो रेस्टुराँ सन् २००७ सम्म चलाउँदा नेपाली रेस्टुराँ खोल्नुपर्छ भन्ने लाग्न थाल्यो । ‘नेपाली नै भनेर नेपाली गीत बजाएर, ढाका टोपी लाएर, म नेपालको हुँ भनेर आफ्नै काम गर्न पाए कस्तो हुन्थ्यो भन्ने आउँथ्यो,’ उनी भन्छन् । तर रेस्टुराँको अनुमति र अन्य समस्याका कारण आफूले छाडेको उनले सुनाए ।
इटालियन खानाको सीप भएकाले लम्साललाई काम पाउन गाह्रो थिएन तर उनलाई आफ्नै नेपाली रेस्टुराँ चलाउनुपर्छ भन्ने बोध बढ्दै थियो । ‘म नेपालसँग जोडिन्छु, आफ्नै सान हुन्छ भन्ने लाग्थ्यो,’ उनले भने ।
जसोतसो चलिरहेकै थियो । सन् २००९ मा नेपाल फर्किए, बिहे गरे । सन् २०१० मा श्रीमती पनि जर्मनी आइन् । परिवार नै भएपछि नेपाली रेस्टुराँ खोल्ने सपनाले थप निरन्तरता पाएको लम्सालले सुनाए । ‘म्युनिस्टरमा रेस्टुराँ बिक्रीमा रहेको थाहा पाएपछि ठाउँ हेर्न गए । संयोगवश चिनेकै मान्छे भेट भयो,’ उनले भने, ‘अनि त्यो ठाउँ लिएर साथीहरूसँग मिलेर रेस्टुराँ सुरु गरें ।’
सानो ठाउँ भएकाले ‘लिटल बुद्ध नेपाली किचन’ नाम राखेर सन् २०१० को नोभेम्बरमा सुरु गरेको लम्सालले सुनाए । ‘सुरुमा धेरै गाह्रो भयो । पुरानो ग्रीक रेस्टुराँ थियो । ग्राहकहरू पुरानै आउँथे । नेपाली रेस्टुराँ भन्ने थाहा पाएपछि फर्कन्थे,’ उनले सम्झिए, ‘ढोकाबाहिर आठ–दस जना ग्राहक उभिएका हुन्थे । म गएर नमस्कार गर्दै बोलाउँथें । दुई जना भित्र आउँथे, बाँकी फर्किहाल्थे ।’
ग्राहकलाई ‘आज चाखेर जानुस्, भोलि मन पर्यो भने फेरि आउनुहोला’ भन्दै नेपाली खाना चखाउँदै सुरु गरिएको यात्रा जारी रहेको लम्साल सुनाउँछन् । ‘त्यति बेला दिनको १७–१८ घण्टासम्म काम गर्नुपर्थ्यो । वर्षमा कुनै दिन छुट्टी हुन्नथ्यो,’ उनले भने, ‘म र श्रीमती हुन्थ्यौं ।’
लम्सालले ‘लिटल बुद्ध नेपाली किचन’ लाई ब्रान्डिङ गर्दै गए । पेटेन्ट अधिकार लिए । ‘तर आफूले लिनुभन्दा अगाडि अरू कसैले लिटल बुद्ध नामक पेटेन्ट लिइसकेकाले पछि मुद्दा परेकाले आफूले नाम परिवर्तन गर्नुपरेको उनले सुनाए । ब्रान्डिङ गरे पनि मुद्दा हारेपछि ‘लिटल बुद्ध’ नामको ठाउँमा ‘मेरो बुद्ध नेपाली किचन’ राखिएको उनले सुनाए । ‘लिटल हटाएर मेरो राखियो । त्यसपछि झन् अपनत्व भयो । नेपाली शैली झल्काउने गरी सजायौं । नेपाली शब्द पनि भयो र विदेशीलाई उच्चारण गर्न पनि सजिलो भयो,’ उनले सुनाए ।
सन् २०१५ सम्म आइपुग्दा रेस्टुराँ चल्न थालेपछि कर्मचारी राखिएको लम्साल सुनाउँछन् । हरेक आउटलेटमा नयाँ लगानीकर्ता राख्ने योजनासहित सन् २०१६ को अन्त्यतिर दोस्रो आउटलेट सञ्चालनमा ल्याइएको उनले बताए । ‘मेरो बुद्ध नेपाली किचनको ३ वटा आउटलेट छन्,’ लम्सालले भने, ‘घरमा आमाले एउटै थालमा दाल, भात, तरकारी हालेर पस्किनुहुन्थ्यो नि, हामी पनि त्यसरी दिन्छौं । जसले गर्दा समय पनि कम लाग्ने भयो र खर्च पनि कम हुने भयो ।’
व्यवसाय चलिरहे पनि लम्साललाई जर्मनीमै आफ्ना दुई छोरालाई पढाउने मन थिएन । छोरा स्कुल जाने उमेर भइसकेको र आफ्नो नेपाल फर्कने सपना अधुरो रहने डरले उनलाई सताउन थालेपछि सन् २०१८ मा उनी परिवारसहित फर्किए । ‘व्यावसाय चलिरहेको थियो तर मचाहिँ परिवारसहित फर्किएँ,’ उनले भने, ‘व्यवसाय भएकाले म जर्मनी आउने–जाने गरिरहन्थें ।’
त्यसैबीच सन् २०१९ को अन्तिमदेखि विश्वभर कोभिड महामारी फैलन थाल्यो । ‘कोभिडका बेला म जर्मनीमै थिएँ । हवाई उडान बन्द हुने खबर आयो अनि मैले तत्काल टिकट काटें र काठमाडौं फर्किएँ,’ उनले भने ।
काठमाडौंमा परिवारसहित करिब चार महिना लकडाउनमा बसें । ‘उता जर्मनी बिस्तारै खुल्न थाल्यो । नेपालमा झन् गाह्रो थियो । उता आफ्नो व्यवसाय थियो,’ लम्सालले भने, ‘व्यवसायका लागि जर्मनी फर्किनुपर्ने बाध्यता आयो, काठमाडौंमा परिवार छाडेर जान सकिएन, मे २०२० मा कतार एयरवेजको चार्टर उडानमार्फत परिवारलाई नै लिएर जर्मनी फर्कें ।’
कोभिड महामारी नआएको भए परिवार काठमाडौं र आफू आउने–जाने गरिरहेको हुने लम्सालले सुनाए । काठमाडौंबाट जर्मनी फर्कंदै गर्दा बच्चाहरूलाई अन्तर्राष्ट्रिय विद्यालयमा पढाउँछु भन्दै फर्किएको समेत उनले सुनाए । ‘मलाई आफ्नो बच्चालाई जर्मनजस्तै बनाउनु थिएन, इन्टरनेसनल स्कुल म्युनिस्टरमा थिएन, त्यसैले म्युनिस्टरबाट परिवारसहित फ्र्यांकफर्ट आएँ,’ उनले भने ।
सन् २०२१ मा फ्र्यांकफर्टमा ‘मेरो बुद्ध नेपाली किचन’ सञ्चालन गरेको लम्सालले सुनाए । तर मनमा अझै एउटा फरक किसिमको परम्परागत नेपाली रेस्टुराँ खोल्ने उनको योजना थियो । ‘मेरो बुद्ध छिटो सेवा र व्यावसायिक शैलीको थियो । मलाई पूर्ण नेपाली, मौलिक र केही हदसम्म फाइन डाइनिङमा अर्को रेस्टुराँ खोल्ने मन थियो,’ उनले भने ।
त्यही क्रममा फ्रयांकफर्टको युरोपा आलीमा एउटा इटालियन रेस्टुराँ बिक्रीमा थियो । ‘मलाई ठाउँ मन पर्यो । अनि किनेहालें, सुरुमा केही महिना पुरानै इटालियन रेस्टुराँ नै चलाएँ,’ उनले भने, ‘तर मलाई नेपाली रेस्टुराँ चलाउनु थियो । अनि जन्मियो– ‘कुलायन’ ।’
रेस्टुराँको नाम राख्न मात्र ६ महिना लागेको लम्सालले सुनाए । ‘गण्डकी, काठमाडौं, माछापुच्छ्रे, एभरेस्टजस्ता प्रचलित नामभन्दा अरू फरक र मौलिक नाम राख्नु थियो,’ उनले भने, ‘एक दिन खाना, संस्कृति, कुल र खानदानका कुरा जोडिँदै जाँदा ‘कुलायन’ शब्द दिमागमा आयो । ‘कुलायन’ विदेशीका लागि अपरिचित र उच्चारण गर्न केही कठिन हुन सक्ने भन्दै कतिपयले उनलाई प्रचलित नाम राख्न पनि सुझाए । तर लम्साललाई त्यही नाम मन पर्यो ।
‘इटालियन रेस्टुराँको पुरानो स्वरूपलाई नेपालीपनमा परिवर्तन गरे । इन्टेरियरदेखि मेनुसम्म नयाँ बनाइयो,’ लम्सालले भने, ‘कुलायनमा इन्टेरियरदेखि मेनुसम्ममा एक मिलियन युरोभन्दा बढी लगानी गर्यौं ।’ ‘कुलायन’ मा थकाली खाना सेट, तास सेट, छोइला, नेवारी खाजा सेट, मःमलगायत नेपाली परिकार पाइन्छन्, नेपाली थाली नै प्राथमिकतामा राखेका छौं,’ उनले भने ।
विदेशी ग्राहकलाई नेपाली खाना चिनाउनु भने अझै चुनौतीपूर्ण काम भएको लम्साल बताउँछन् । नेपाल कहाँ हो भन्ने नै थाहा नभएका ग्राहक पनि भेटिने गरेको उनले सुनाए । ‘हामी नेपालीलाई लाग्छ– सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर सबैले नेपाल चिन्छन् । तर बाहिर आएपछि थाहा हुन्छ, सबैलाई थाहा रहेनछ,’ उनले भने । नेपाली खाना कसरी खाने भन्ने कुरा पनि कतिपय विदेशी ग्राहकलाई थाहा हुँदैन । ग्राहकलाई खाना चखाउनेदेखि खाने तरिका सिकाउनेसम्म गर्नुपर्ने उनले सुनाए ।
‘नेपाली थाली अर्डर गर्यो भने पहिले कहिल्यै खानुभएको छ/छैन, सोध्छौं । पहिले नखाएको भए देखाइदिन्छौं भन्छौं,’ लम्साल भन्छन्, ‘म आफैं दालभात तरकारी मुछेर एक चम्चा खुवाइदिन्छु ।’ नेपाली खानाका लागि विश्वमै ठूलो बजार रहेको उनी बताउँछन् ।
नेपाली खाना मौलिक हुनुका साथै ताजा र स्वस्थ रहेको लम्सालले सुनाए । ‘इटालियन रेस्टुराँमा गएर पिज्जा माग्दा विश्वका विभिन्न ठाउँमा आधारभूत रूपमा उस्तै खाना पाइन्छ । तर नेपालमा काठमाडौं, विराटनगर र स्याङ्जामा दालभातको स्वरूप फरक हुन्छ,’ उनी भन्छन्, ‘हामीले नेपाली खानालाई पनि निश्चित मापदण्डमा ल्याउनुपर्छ । जहाँ गए पनि एउटै स्वाद हुनुपर्छ ।’
एउटै नामको परिकारको स्वाद, प्रस्तुति र गुणस्तरमा एकरूपता ल्याउन सके मात्र अन्तर्राष्ट्रिय बजारमा नेपाली खानाप्रति विश्वास बढाउन सकिने लम्सालले सुनाए । रेस्टुराँका मेनु, रेसिपी, उत्पादन र सेवा प्रणालीलाई व्यवस्थित बनाउन लागिरहेको उनको भनाइ छ । विश्वका विभिन्न देशमा नेपाली रेस्टुराँको सञ्जाल बनाउने योजना रहेको उनले जनाए ।
नेपाली रेस्टुराँको विस्तारसँगै नेपालबाट दक्ष जनशक्ति विदेश लैजान सकिने, रोजगारी सिर्जना गर्न सकिने र विदेशमा रहेका नेपालीमार्फत नेपालको पर्यटन तथा उत्पादनसँग सम्बन्ध जोड्न सकिने लम्सालको भनाइ छ । ‘एउटा रेस्टुराँले दिनमा एक जना विदेशीलाई नेपाल जान प्रेरित गर्न सक्यो भने हजारौं रेस्टुराँले कति पर्यटक नेपाल पठाउन सक्लान्,’ लम्साल भन्छन् ।
रेस्टुराँ व्यवसाय नेपालको पहिचानलाई विश्वमा फैलाउने माध्यमसमेत रहेको लम्सालले सुनाए । मेरो बुद्धका आउटलेट र कुलायन रेस्टुराँमा नेपाली कामदार छन् । नेपालबाटै दक्ष जनशक्ति ल्याएर रोजगारी दिने उनको भनाइ छ । ‘हामीलाई जर्मनी आउन कति गाह्रो थियो । काम पाउन कति गाह्रो हुन्छ,’ उनले भने, ‘नेपाली किचनमा नेपालबाटै भिसा लागेर तीन जना नेपाली आएर काम गर्न पाए भने त्यो नेपालका लागि पनि रोजगारी सिर्जना भयो ।’
जर्मनी बसेको करिब २५ वर्ष पुग्न लाग्दा पनि लम्सालको मन नेपालमै छ । उनका छोराहरू विश्वविद्यालय जाने भएपछि आफू नेपाल फर्किने उनको योजना छ । ‘बाबुहरू युनिभर्सिटी गएपछि म नेपाल नै फर्कन्छु,’ लम्साल भन्छन्, ‘मलाई नेपालमा मेरो देशमा बस्ने धोको नै पुगेको छैन । नेपालमा व्यावसायिक काम गर्ने योजना पनि छ ।’
सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।