डुसेडोर्फ । भावनात्मक मन्तव्य र ऐतिहासिक बालोन डी’अर अवार्ड थापेपछि ह्यारी केन मंगलबार जर्मनी फर्किएका छन् । अब उनी बायर्न म्युनिखका लागि कप खेलमा संलग्न हुनेछन् । केन २५ वर्षयता यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन् । जर्मनीले त यो अवार्ड थाप्नका लागि अझ लामो समय पर्खिनुपर्यो । बायर्नले त झन् ४५ वर्षयता पहिलो पटक आफ्ना खेलाडीले यो अवार्ड थापेको खुसीयाली मनाउन पाएको हो ।
जर्मनीले १९९६ यता कोही जर्मन क्लबका लागि खेल्ने खेलाडीले यो अवार्ड जितेको हो । बायर्नका स्पोर्टिङ निर्देशक क्रिस्टोफ फ्रन्डले भने, ‘ह्यारी केनको प्रदर्शनलाई लिएर हामी असाध्यै खुसी छौं । गोलकै कारण मात्र उनी उत्कृष्ट खेलाडी भएका होइनन् । मैदानमै मात्र होइन, बाहिर पनि उनी उत्तिकै भलाद्मी खेलाडी हुन् । उनी जत्तिका खेलाडी पाउन कसैलाई पनि गाह्रै हुन्छ ।’
फ्रन्डले केन जत्तिकै ठूलो स्टार भएता पनि निकै सहज व्यक्ति रहेको बताए । उनले थपे, ‘विश्व फुटबल इतिहासकै उनी एक उत्कृष्ट खेलाडी हुन्, यसमा दुविधा छैन ।’ लन्डनबाट म्युनिख पुगेपछि उनी प्रशिक्षणमा समेत सहभागी हुनेछन् । त्यस क्रममा उनलाई बायर्नले विशेष स्वागत गर्ने योजना बनाएको छ । बायर्नले बुधबार नै जर्मन कप दोस्रो चरणमा दोस्रो डिभिजनको मागडेबर्गको सामना गर्दै छ ।
बायर्नको उद्देश्य यही कप उपाधि रक्षा गर्ने हुनेछ । गत सिजन उपाधि जित्ने क्रममा केनले फाइनलमा ह्याट्रिकसमेत गरेका थिए । जर्मन बुन्डेसलिगामा भने शनिबार बायर्नले आफ्नो ठूलो प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डको सामना गर्नेछ । यही ‘क्लासिकर’ को क्रममा केनलाई विशेष रूपमा सम्मान गरिनेछ । बायर्नका लागि केन बालोन डी’अर जित्ने चौथो खेलाडी हुन् ।
यसअघि जर्मनीका महान खेलाडी फ्रेन्ज बेकनबाउर, गर्ड मुलर र कार्ल हेन्ज रुमेनिगाले यो अवार्ड जितेका थिए । रुमेनिगाले अन्तिम पटक सन् १९८१ मा यो अवार्ड हात पारेका हुन् । सन् २०२० मा रोबर्ट लेवान्डोस्कीले यो अवार्ड जित्ने निश्चित जस्तै मानिएको थियो, तर कोभिड महामारीका कारण त्यस वर्ष कसैलाई अवार्ड नै प्रदान गरिएको थिएन ।
केनले जितेको अवार्डको समाचार त्यतिबेला आइपुगेको छ, जतिबेला बायर्न केही हदसम्म दुःखबाट गुज्रिरहेको छ । प्रशिक्षक भिन्सेन्ट कोम्पनी गत साता प्रशिक्षणकै क्रममा बिरामी भएर मैदानमै ढलेका थिए । मिडफिल्डर जोसुआ किमिचको परिवारका एक सदस्यको निधन पनि भएको थियो । फ्रन्डले केही खराब समाचारपछि केनले अवार्ड जितेको उपलब्धि हात पारेकाले त्यसमा सबै खुसी रहेको बताए । एपी
Read full story at source ( kendrabindu.com )