अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि फ्र्याङ्कफर्ट र ह्याम्बर्गमा लुटपाट, तोडफोड तथा आगजनी भएपछि प्रहरीले सतर्कता बढाएको छ।
फ्र्याङ्कफर्ट/बर्लिन — शिक्षा सुधार, जीवनयापनको बढ्दो खर्च नियन्त्रण र अनिवार्य सैनिक सेवाको सरकारी योजनाको विरोधमा शनिबार जर्मनीका ३४ सहरमा हजारौँ युवा सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा फ्र्याङ्कफर्टमा नकाब लगाएका समूहले पसल लुटपाट गर्नुका साथै तोडफोड गरेका छन् ।
यस वर्ष युरोपका विभिन्न देशमा भएका जेनजी नेतृत्वका प्रदर्शनको शृंखलाकै रूपमा जर्मनीमा पनि प्रदर्शन भएको हो । सर्बियामा विद्यार्थी आन्दोलनले लामो समयदेखि सत्तामा रहेका नेताको चुनावी पराजयमा भूमिका खेलेको थियो भने फ्रान्समा भएका प्रदर्शन हिंसा र लुटपाटमा परिणत भएका थिए ।
‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेनजीले जिम्मेवारी लिन्छ’ नामक अभियान समूहको आह्वानमा बर्लिन, फ्र्याङ्कफर्ट र म्युनिखसहित ३४ सहरमा प्रदर्शन भएको हो । अभियानले शिक्षामा लगानी बढाउनुपर्ने, अनिवार्य सैनिक सेवा लागू गर्ने सरकारी योजना फिर्ता लिनुपर्ने र युवा पुस्तामाथि परेको आर्थिक भार घटाउनुपर्ने माग गरेको छ । बढ्दो महँगीका कारण जर्मनीका युवा आर्थिक दबाबमा छन् ।
देशको प्रमुख वित्तीय केन्द्र फ्र्याङ्कफर्टमा प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा दुई पसल लुटिएका छन् भने अन्य पसलमा तोडफोड भएको छ । एक प्रत्यक्षदर्शीका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो।
‘हिंसात्मक गतिविधि जारी छन्,’ फ्र्याङ्कफर्ट प्रहरीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘सहरको केन्द्रमा विभिन्न पसलका सिसा फुटाइएका छन् । आपत्कालीन सेवाका कर्मचारीमाथि पेट्रोल बमसमेत प्रहार भइरहेको छ। सर्वसाधारणलाई सहरको केन्द्रमा नआउन वा त्यहाँबाट बाहिरिन आग्रह गर्दछौँ ।’
शनिबार दिउँसो सार्वजनिक आधिकारिक तथ्यांकअनुसार प्रदर्शनमा सहभागी हुनेको संख्या आयोजकले सुरुमा अपेक्षा गरेको एक लाख ८२ हजारभन्दा कम थियो । फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनमा गरी १८ हजारसम्म प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ । आयोजकको वेबसाइटमा भने करिब ३६ हजार सहभागी हुने अनुमान गरिएको थियो ।
जर्मन अधिकारीहरूले हेलोविन पर्वका दिन भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहेको बताएका छन् । यद्यपि अतिवादी समूहले आन्दोलनलाई आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने भन्दै उनीहरूले सचेत गराएका छन् । ह्याम्बर्गमा भने केही अवरोध सिर्जना हुनुका साथै सडकका बारहरूमा आगजनी भएको थियो ।
‘हामी आज युद्ध र जबर्जस्तीका लागि होइन, शान्ति र स्वतन्त्रताका लागि आवाज उठाउन यहाँ आएका हौँ,’ अभियानकी प्रवक्ता लिना फ्रेडरिकले शनिबार बर्लिनमा आयोजित प्रदर्शनमा भनिन् ।
‘हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य र शिक्षा प्रणालीमा पर्याप्त सहयोग हुनु हो। हामी अनिवार्य सैनिक सेवाको विपक्षमा छौँ र भारको न्यायोचित बाँडफाँटको पक्षमा छौँ,’ उनले भनिन् ।
जर्मनीको संघीय गृह मन्त्रालयका अनुसार त्यहाँका अतिवादी वामपन्थी समूहका केही हिस्साले तथा विदेशका अतिवादी समूहसँग सम्बन्धित केही संगठनले प्रदर्शनमा समर्थन जुटाउने प्रयास गरेका छन् ।
जर्मनीको हेस्से राज्यका आन्तरिक मामिलामन्त्री रोमन पोसेकले फ्रान्समा भएका प्रदर्शनको उदाहरण दिँदै हिंसा दोहोरिन सक्ने आशंका व्यक्त गरे । ‘फ्रान्सका ती दृश्य हामी सबैको मनमा छन्, जहाँ पसल लुटिएका छन्, घर र प्रहरीका गाडी जलाइएका छन् तथा प्रहरीमाथि आक्रमण भएका छन्,’ उनले भने, ‘यस सन्दर्भमा फ्रान्सलाई उदाहरणका रूपमा प्रस्तुत गरिनु हुँदैन ।’