प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेतलाई पक्राउ गरेको हो ।
रुपन्देहीका विभिन्न स्थानमा अश्लील नृत्य प्रदर्शन गर्ने दुई जनालाई प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको छ । प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेतलाई पक्राउ गरेको हो ।
रुपन्देहीका विभिन्न स्थानमा देउसीभैलोको नाममा मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताप्रतिकूल हुने गरी अश्लील नृत्य प्रदर्शन गर्ने क्रम बढेपछि प्रहरीले सक्रियता र निगरानी बढाएको छ । पछिल्लो समय भैलोका नाममा भइरहेका विभिन्न नृत्य सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
अश्लील नृत्य सामाजिक सञ्जालमा भाइरल भएपछि थप यस्ता नृत्य प्रदर्शन हुन थालेकाले प्रहरीले निगरानीसँगै सक्रियता बढाएको र त्यसै क्रममा महिलावारबाट दुई जना पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
पक्राउ परेका दुवै जनामाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।