Trending
Prev Story
Next Story

फाल्गुनन्दको १४२औं जयन्ती मनाइयो

Ekantipur •
November 11, 2026 • 01:31 PM
1
1 reads 0 reactions

किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरियो ।

फाल्गुनन्दको १४२औं जयन्ती मनाइयो

किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरियो ।

पाँचथर — नेपालका १६औँ राष्ट्रिय विभूति एवं किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङदेनको १४२औँ जन्म जयन्ती मनाइएको छ ।

यो दिवस विशेषतः पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशमा भव्यताका साथ मनाउने गरिन्छ । विक्रम संवत् १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दलाई किराँत लिम्बू समुदायले समाज सुधारकका रूपमा लिने गरेका छन् ।

यस अवसरमा किराँत धर्मावलम्बीहरूको सघन बसोबास रहेको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटासहित विभिन्न स्थानमा फाल्गुनन्द जयन्ती मनाइएको हो ।

इलामको माङसेबुङ, पाँचथरको लब्रेकुटीलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

१९८८ साल वैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपालअन्तर्गत १० लिम्बुवान १७ थुमका अग्रजहरूलाई भेला पारेर सत्यधर्म मुचुल्का घोषणा गर्दै उनले समाज सुधारको अभियान थालेका थिए ।

सत्यधर्म मुचुल्कामा छोराछोरीलाई बराबर अध्ययन अध्यापन, लेखपढ र समान अंशबन्डा दिने लिने हक कायम गर्नुपर्ने, सुनौली–रुपौली र दाइजो प्रथा अन्त्य गर्नुपर्ने, छोरीहरू देवीका प्रतीक भएकाले उनीहरूको विवाहका लागि कुरो छिन्दा कुटुम्बबाट रीत लिन नहुने, दाइजो दिनुको साटो शिक्षा–दीक्षा दिनुपर्ने वा स्वावलम्बी बनाउनुपर्ने बुँदा उल्लेख छन् ।

बाल्यकालमा आफ्ना पितासँगै गाईगोठमा बिताएका फाल्गुनन्दले जीवनको आखिरी क्षणसम्म धूम्रपान, मद्यपान, विलासिता र अन्धविश्वासविरुद्ध अभियान चलाएकाले उनलाई समाज सुधारकको उपमा दिइएको हो ।

२२ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएका उनले १३ वर्ष नोकरी गरेर फर्केपछि समाज सुधारको अभियानमा लागेका थिए ।

उनले नोकरीबाट फर्केपछि पाँचथर, इलाम, ताप्लेजुङ, भुटान र तेह्रथुमका विभिन्न स्थानमा माङहिम (मन्दिर) निर्माण गर्दै सांस्कृतिक अभियानमार्फत ज्ञानको ज्योति प्रवाह गर्न थालेको पाइन्छ ।

बाल्यकालदेखि नै सत्य आहार, सत्य विहार, सत्य व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले खानपान र संस्कारले किराँत समुदाय पछाडि परेको भन्दै किराँत धर्म हाङ साम्योको थालनी गरेका थिए ।

जसलाई पछिल्लो समय फाल्गुनन्द पन्थ भनिन्छ ।

यो सिद्धान्त र सांस्कृतिक अभियानलाई निरन्तरता दिन इलामको बाँझे (लारुम्बा) र पाँचथरको शिलौतीलगायत स्थानलाई किराँत धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रचारप्रसार गरिँदैछ ।

उनको निधन २००५ साल चैत २२ गते भएको थियो । उनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । उनी नेपालका १६औँ राष्ट्रिय विभूति हुन् ।

उनको समाधिस्थल पाँचथरको फाल्गुनन्द–७ सिलौटीमा छ ।

फाल्गुनन्द जयन्तीको अवसरमा पाँचथरको लब्रेकुटी, शिलौती, इलामको लारुम्बासहितका स्थानमा भव्य कार्यक्रम आयोजना गरिन्छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती प्रत्येक वर्षको कार्तिक २५ गते विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ। विशेष गरी पूर्वी नेपालसहित देशका विभिन...

#फाल्गुनन्द #किराँत #धर्म
Compare →
Onlinekhabar
2d ago
फाल्गुनन्दको मार्गदर्शनले सभ्य समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति

फाल्गुनन्दको मार्गदर्शनले सभ्य समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन योगदान पुर्‍याएको बताएका छन् । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक रूढिवादको …

#फाल्गुनन्द
Compare →

Related Stories

World News
Build #2611