पर्सा राष्ट्रिय निकुञ्जका हात्तीसारमा रहेका हात्तीलाई सरकारले उपलब्ध गराउँदै आएको दैनिक खाद्यान्न उनीहरूको शारीरिक आवश्यकता र पोषणका दृष्टिले अपुग रहेको निकुञ्जका अधिकारीले बताएका छन् ।
पर्सा — पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतका हात्तीसारमा रहेका घरपालुवा हात्तीलाई सरकारले उपलब्ध गराउँदै आएको दैनिक रासन अपुग भएको छ । ‘इटिङ मेसिन’ अर्थात् धेरै खाने जनावरका रूपमा चिनिने हात्तीलाई हाल उपलब्ध गराइएको खाद्यान्न उनीहरूको शारीरिक आवश्यकता र पोषणका दृष्टिले पर्याप्त नभएको निकुञ्जका अधिकारीले बताएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार अमलेखगन्ज हात्तीसारमा रहेका हात्तीलाई सरकारले निर्धारण गरेको रासन स्केल आवश्यकताभन्दा कम छ । हालको सरकारी मापदण्डअनुसार एउटा हात्तीलाई दैनिक १५ किलो धान, डेढ किलो सख्खर र २५ ग्राम नुन अतिरिक्त पोषक तत्त्वका रूपमा उपलब्ध गराइन्छ । हात्तीको आहार र पोषण आवश्यकतालाई हेर्दा यो परिमाण बढाउनुपर्ने उनको भनाइ छ ।
सरकारी रासनबाहेक हात्तीलाई दैनिक बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निकुञ्जको जंगलमा चराउन लगिन्छ । तर, जंगलमा चराउने समय र सरकारी रासनले मात्र उनीहरूको दैनिक आहार आवश्यकता पूरा गर्न कठिन हुने संरक्षण अधिकृत राम बताउँछन् ।
हात्तीको खानपान र निद्राको प्रकृति पनि अन्य जनावरभन्दा फरक हुन्छ । हात्ती दैनिक तीनदेखि चार घण्टासम्म मात्र सुत्छन् । उनीहरूको निद्रा पातलो हुने र करिब आधा–आधा घण्टाको अन्तरालमा खाना खान खोज्ने स्वभाव हुन्छ । सामान्य अवस्थामा जंगली हात्तीले जंगलमा दैनिक १६ देखि १८ घण्टासम्म आहार खोज्दै चर्ने गर्छन् ।
पर्याप्त खाना नपाउँदा हात्तीमा कुपोषण तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने जोखिम हुन्छ । पोषणको कमीले हात्तीमा क्षयरोगसमेत लाग्न सक्ने संरक्षण अधिकृत राम बताउँछन् । यसअघि पनि निकुञ्जका केही पालुवा हात्तीमा क्षयरोग देखिएको थियो । हात्तीको स्वास्थ्य र दीर्घकालीन संरक्षणका लागि सरकारले उपलब्ध गराउने रासनको मात्रा पुनरावलोकन गरी बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
हाल पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत अमलेखगन्ज, प्रतापपुर, भाठा र गडुवा पोस्टस्थित हात्तीसारमा गरी नौवटा दरबन्दीका हात्ती रहेका छन् । निकुञ्जको वन्यजन्तु संरक्षण, गस्ती तथा अन्य व्यवस्थापकीय काममा प्रयोग हुने यी हात्तीको स्वास्थ्य र पोषण व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने डा. राम बताउँछन् ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।