नेपाली संस्कृति र परम्परासँग विदेशी पर्यटकलाई जोड्ने उद्देश्यले आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले पर्यटकलाई भाइटीका लगाइदिएका थिए । सेलरोटी र देउसी–भैलोसहित महोत्सव मनाइएको थियो ।
होटल संघ पोखरा नेपालको आयोजनामा बुधबार पोखरामा भएको १९औं भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले भाइटीका लगाएका छन् ।
महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले विदेशी पर्यटकलाई सप्तरंगी टीका, माला र ढाका टोपी लगाइदिएका थिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृति र परम्पराप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएकोले महोत्सवलाई निरन्तरता दिएको बताए ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संघले हरेक वर्ष भाइटीका महोत्सव आयोजना गर्दै आएको छ । नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको सुवेदीले बताए ।
महोत्सवमा सहभागी पर्यटकलाई भाइटीकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराइएको थियो । उक्त अवसरमा नेपाली परम्परागत परिकार सेलरोटी खुवाउनुका साथै देउसी–भैलोसमेत प्रस्तुत गरिएको थियो ।
महोत्सवमा विदेशी पर्यटकको सहभागिता वर्षेनि बढ्दै गएको संघले जनाएको छ । कतिपय पर्यटक भाइटीका महोत्सवमा सहभागी हुन दोहोर्याएर पोखरा आउने गरेका छन् । नेपाली संस्कृति र चाडपर्वलाई पर्यटनसँग जोड्दै आएको यो महोत्सव यस वर्ष १९औं संस्करण हो ।
दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।