Trending
Prev Story
Next Story

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

Ekantipur •
November 11, 2026 • 04:32 AM
1
1 reads 0 reactions

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

काठमाडौँ — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुरस्थित आरक्षपीडित शिविरमा तिहारको मुखैमा शोक छाएको छ । जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि सिङ्गो शिविर शोक र त्रासमा डुबेको छ । घरभित्र सुतिरहेका बेला आएको जङ्गली हात्तीको आक्रमणले ६० वर्षीया लक्ष्मी डगौरा चौधरीको ज्यान लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाका अनुसार गएराति करिब १ बजेको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीले लक्ष्मीमाथि आक्रमण गरेको थियो । आफ्नै कच्ची घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तारापुरस्थित आरक्षपीडित शिविरमा बस्दै आएका मोहनबहादुर डगौराकी श्रीमती लक्ष्मीको मृत्युले परिवार मात्रै होइन, छरछिमेक र सिङ्गो बस्तीलाई स्तब्ध बनाएको छ । रातको समयमा बस्तीमा पसेको हात्तीले घरमै आक्रमण गरेपछि स्थानीयमा थप असुरक्षा बढेको छ ।

आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष मोतीराम डगौराका अनुसार हात्ती घरमै आक्रमण गर्न आएको थियो । सुतिरहेका बेला थाहा पाएर उठ्दा हात्ती देखेपछि ज्यान जोगाउन मोहन डगौरा भागेर सुरक्षित हुन सफल भए पनि भाग्ने क्रममा रहेकी लक्ष्मीलाई हात्तीले आक्रमण गरेको थियो । ‘हात्ती घरमै आक्रमण गर्न आएको रहेछ । ज्यान जोगाउन उनका श्रीमान् भागेर सुरक्षित भए, तर भाग्ने क्रममा लक्ष्मीलाई हात्तीले आक्रमण गरेपछि ज्यान गयो,’ अध्यक्ष डगौराले भने, ‘तिहारको मुखमा भएको यो घटनाले सिङ्गो शिविरलाई शोकमा डुबाएको छ ।’

यो शिविरमा जङ्गली हात्तीको आक्रमणबाट मानवीय क्षति भएको पहिलो घटना भने होइन । यसअघि गत वर्ष माघ २४ गते राति पनि सोही क्षेत्रको ढक्का चानदेवस्थित आरक्षपीडित शिविरमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीया बालिका रोजिना साउदको मृत्यु भएको थियो । उक्त घटनामा उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउदसमेत गम्भीर घाइते भएकी थिइन् । हात्तीको आक्रमणबाट घाइते भएकी पार्वतीले त्यसयता शारीरिक अपाङ्गताको समस्या व्यहोर्नुपरेको छ ।

एक वर्ष नबित्दै एउटै क्षेत्रका बस्तीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाले ज्यान गुमाउनुपरेको छ । बालिकाको मृत्यु र वृद्धा घाइते भएको घटनाको पीडा सेलाउन नपाउँदै फेरि अर्की महिलाको मृत्यु भएपछि स्थानीयमा वन्यजन्तुको त्रास झनै बढेको छ । रात परेपछि घरबाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । निकुञ्ज र वन क्षेत्र आसपासका बस्तीमा वन्यजन्तुको आवागमन नयाँ विषय होइन । तर, पछिल्लो समय बस्तीमै पसेर घर तथा मानवीय जीवनमाथि आक्रमण गर्ने घटनाले स्थानीयको चिन्ता बढाएको छ । खेतबारीमा वन्यजन्तुले बालीनाली नष्ट गर्ने, घरगोठमा क्षति पुर्‍याउने र मानिसमाथि आक्रमण गर्ने घटनाले वन क्षेत्र आसपासका बासिन्दाको दैनिकी नै जोखिमपूर्ण बन्दै गएको छ ।

विशेषगरी रातको समयमा हात्ती बस्तीमा पस्ने भएकाले स्थानीयलाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । हात्ती आएको सूचना पाएपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा लैजाने, बालबालिका र वृद्धवृद्धालाई जोगाउने तथा घरसम्पत्ति बचाउने चुनौती एकैपटक आइपर्ने गरेको छ । कतिपय अवस्थामा भाग्ने क्रममा समेत मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । तारापुर र ढक्का चानदेवका घटनाले वन्यजन्तुको आवागमन नियन्त्रण तथा मानव सुरक्षाका लागि गरिएका प्रयास पर्याप्त नभएको देखाएको छ । वन्यजन्तुको प्राकृतिक वासस्थान र विचरण क्षेत्र आसपास बसोबास गर्ने समुदायको सुरक्षालाई प्राथमिकतामा नराखेसम्म यस्ता घटना दोहोरिइरहने जोखिम छ ।

स्थानीयका लागि यो घटना वन्यजन्तु संरक्षणको विषय मात्रै होइन, बाँच्न पाउने अधिकारसँग जोडिएको गम्भीर सवाल हो । वन्यजन्तुको संरक्षण हुनुपर्छ भन्नेमा स्थानीयको विमति छैन । तर, संरक्षणका नाममा मानव जीवन नै जोखिममा पर्न नहुने उनीहरूको माग छ ।

नेपालले वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राख्दै राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रको व्यवस्थापन गर्दै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधता र वन्यजन्तुका दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो । तर, निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी व्यवस्थापन हुन नसक्दा संरक्षण र मानव सुरक्षाबीचको चुनौती थप जटिल बन्दै गएको छ । वन्यजन्तु आफ्नो प्राकृतिक वासस्थानबाट बाहिर निस्कँदा त्यसको प्रत्यक्ष असर आसपासका बस्तीमा पर्ने गरेको छ । हात्ती जस्ता ठूला वन्यजन्तुको आक्रमणमा परेपछि मानिसले तत्काल प्रतिकार गर्नसमेत नसक्ने अवस्था हुन्छ । त्यसैले घटना भइसकेपछि राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु मात्रै पर्याप्त हुँदैन । सम्भावित जोखिम पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षित आश्रयस्थल, जोखिमयुक्त क्षेत्रमा निगरानी र समुदायस्तरमा पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।

वन्यजन्तु बस्तीमा प्रवेश गर्न सक्ने जोखिम भएका स्थानमा समयमै सूचना पुग्ने व्यवस्था, हात्तीको आवागमन निगरानी, स्थानीयलाई सुरक्षित स्थानमा सार्ने संयन्त्र र जोखिमयुक्त बस्तीको भौतिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । हात्तीको आवागमनबारे जानकारी दिने पूर्वसूचना प्रणाली प्रभावकारी भएमा सम्भावित मानवीय क्षति कम गर्न सकिने विज्ञहरूको भनाइ छ । वन्यजन्तुबाट प्रभावित परिवारलाई उपलब्ध गराइने राहत तथा क्षतिपूर्तिको प्रक्रिया सहज, छिटो र प्रभावकारी हुनुपर्ने सङ्घर्ष समितिका उपाध्यक्ष प्रेमबहादुर शाहीको अपेक्षा छ । वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको उपचार, दीर्घकालीन अपाङ्गता भएका व्यक्तिको पुनर्स्थापना तथा प्रभावित परिवारको जीविकोपार्जनमा समेत राज्यले ध्यान दिनुपर्ने उनको माग छ ।

तारापुर र ढक्का चानदेवका घटनाले एउटा गम्भीर प्रश्न खडा गरेका छन्, वन्यजन्तुको आक्रमणबाट बर्सेनि मानवीय क्षति भइरहँदा बस्तीलाई सुरक्षित बनाउन राज्यले के गरिरहेको छ ?

एकातिर दुर्लभ वन्यजन्तुको संरक्षण आवश्यक छ भने अर्कोतिर निकुञ्ज आसपास बसोबास गर्ने नागरिकको जीवन रक्षा पनि राज्यकै दायित्व हो । वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई एकअर्काको प्रतिस्पर्धी विषयका रूपमा नभई परिपूरक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनको तर्क छ । विशेषगरी निकुञ्ज आसपासको बसोबास, भौतिक संरचना र सुरक्षाको अवस्थालाई ध्यानमा राखेर जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । अहिले हानिकारक हात्तीमा रेडियो कलर जडान गर्ने कार्य भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

२५ वर्षभन्दा लामो समयदेखि विस्थापनको पीडा भोगिरहेका आरक्षपीडितहरूले अहिले वन्यजन्तुको आक्रमणको जोखिमसमेत सामना गर्नुपरेको छ । पटकपटक मानवीय क्षति हुँदा पनि उस्तै प्रकृतिका घटना दोहोरिनुले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि अपनाइएका उपायको प्रभावकारितामाथि प्रश्न उठाएको छ । घटना भएपछि दुःख व्यक्त गर्ने र राहतको व्यवस्था गर्ने परिपाटीभन्दा घटना हुनै नदिने गरी दीर्घकालीन सुरक्षा रणनीति आवश्यक छ । लक्ष्मी डगौरा चौधरीको मृत्युले फेरि एकपटक वन्यजन्तु संरक्षणसँगै मानव जीवनको सुरक्षालाई उत्तिकै महत्त्व दिनुपर्ने सन्देश दिएको छ । वन्यजन्तु जोगाउने अभियानसँगै निकुञ्ज आसपासका बस्तीका नागरिकले पनि ढुक्कसँग रात बिताउन पाउने अवस्था कहिले बन्छ ? तारापुर र ढक्का चानदेवका बासिन्दाले राज्यसँग खोजिरहेको जवाफ यही हो ।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु

झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानवहात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि...

#जङ्गली #हात्ती #मृत्यु
Compare →
Onlinekhabar
14h ago
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

२७ कात्तिक, चितवन । 'रोनाल्डो'को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको …

#हात्ती #मृत्यु
Compare →
Nagarik News
8h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#हात्ती
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2611