नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा अनावरण गरिएको प्रतिमालाई नेवार समुदायले सांस्कृतिक पहिचान र इतिहास संरक्षणको महत्त्वपूर्ण उपलब्धि मानेको छ ।
कञ्चनपुर — कञ्चनपुरको बेलौरीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको प्रतिमा अनावरण गरिएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक स्थापना गरिएको प्रतिमा नेपाल संवत् ११४७ को शुभारम्भको अवसर पारेर मंगलबार अनावरण गरिएको हो ।
भैरवदेव गुठीको आयोजना तथा बेलौरी नगरपालिका–७ को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा प्रतिमाको अनावरण गर्दै शंखधर साख्वाले नेपाली समाज र इतिहासमा पुर्याएको योगदानको स्मरण गरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेवार समुदायका अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत्को शुभकामना आदानप्रदान गरेका छन् ।
नेवा: देय् दबू कञ्चनपुरका जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले शंखधर साख्वाको प्रतिमा स्थापना हुनु सुदूरपश्चिमको सांस्कृतिक इतिहास र पहिचानका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले नेपाल संवत्को ऐतिहासिक महत्त्व र शंखधर साख्वाको योगदानलाई स्थानीयस्तरमा चिनाउन प्रतिमा स्थापना गरिएको उल्लेख गरे । 'नेपाल संवत् हाम्रो मौलिक इतिहास, संस्कृति र पहिचानसँग जोडिएको संवत् हो । शंखधर साख्वाको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन र उहाँप्रति सम्मान प्रकट गर्न प्रतिमा स्थापना गरिएको हो,' अध्यक्ष श्रेष्ठले भने ।
नेवा: देय् दबू बेलौरी नगर समितिका अध्यक्ष सुरज श्रेष्ठले प्रतिमालाई स्मारकका रूपमा मात्र सीमित नराखी नयाँ पुस्तालाई इतिहास, संस्कृति र सामाजिक योगदानबारे जानकारी दिने प्रेरणाको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । नगर अध्यक्ष श्रेष्ठले भने, 'नेपाल संवत् हाम्रो मौलिक पहिचान हो । शंखधर साख्वाले तत्कालीन समयमा ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक योगदानका कारण नेपाली इतिहासमा विशिष्ट स्थान बनाउनुभएको छ । उहाँको यही योगदानको सम्मानस्वरूप नेपाल सरकारले २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको प्रतिमाले नयाँ पुस्तालाई आफ्नो इतिहास र संस्कृतिबारे जान्न प्रेरित गर्ने विश्वास लिएका छौँ ।'
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा नेवार समुदायको जनसङ्ख्या ४ हजार ५ सय ४९ छ । यो प्रदेशको कुल जनसङ्ख्याको करिब ०.१७ प्रतिशत हो । प्रदेशका प्रमुख व्यापारिक केन्द्रहरूमा नेवार समुदायको बसोबास बढी केन्द्रित रहेको देखिन्छ ।
नेवा: देय् दबू, सुदूरपश्चिमका निवर्तमान वरिष्ठ उपाध्यक्ष विजयालक्ष्मी श्रेष्ठका अनुसार सुदूरपश्चिमका सबै जिल्लामा नेवार समुदायको धेरथोर बसोबास रहे पनि कञ्चनपुर, कैलाली, डोटी र डडेलधुरामा तुलनात्मक रूपमा बाक्लो उपस्थिति छ । बझाङबाहेक प्रदेशका सबै जिल्लामा नेवा: देय् दबूका जिल्ला कार्यसमिति सक्रिय रहेको उनले जानकारी दिइन् । श्रेष्ठले भनिन्, 'विभिन्न जिल्लामा हाम्रो भाषा, कला, संस्कृति र परम्पराको आफ्नै पहिचान छ । यस्ता प्रतिमा र सांस्कृतिक गतिविधिले समुदायको इतिहास तथा पहिचान संरक्षणमा सहयोग पुर्याउँछन् ।'
सुदूरपश्चिममै पहिलो पटक बेलौरीमा शंखधर साख्वाको प्रतिमा स्थापना तथा अनावरण गरिनुले नेवार समुदायको सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ । यसले नेपाल संवत्को ऐतिहासिक महत्त्व स्थापित गर्न, मौलिक कला तथा संस्कृतिको संरक्षण गर्न र भावी पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्न योगदान पुर्याउने अपेक्षा गरिएको नेवार समुदायका अगुवाहरूको भनाइ छ ।
हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।