Trending
Prev Story
Next Story

रुकुमको गाउँबाट पुष्पकमल दाहाललाई सदीक्षाको प्रश्न- ‘हेलो ! बाजे कता हुनुहुन्छ ?’

Ekantipur •
August 18, 2026 • 09:47 PM
1
1 reads 0 reactions

रुकुम पूर्वको भूमे गाउँपालिका–९ की १५ वर्षीया सदीक्षा ओलीले चुनाव जितेर गएका पुष्पकमल दाहाललाई भत्किएको पुल बनाइदिन आग्रह गर्दै बनाएको भिडियो ४८ घण्टामै १३ लाखभन्दा बढी पटक हेरिएको छ ।

रुकुमको गाउँबाट पुष्पकमल दाहाललाई सदीक्षाको प्रश्न- ‘हेलो ! बाजे कता हुनुहुन्छ ?’

रुकुम पूर्वको भूमे गाउँपालिका–९ की १५ वर्षीया सदीक्षा ओलीले चुनाव जितेर गएका पुष्पकमल दाहाललाई भत्किएको पुल बनाइदिन आग्रह गर्दै बनाएको भिडियो ४८ घण्टामै १३ लाखभन्दा बढी पटक हेरिएको छ ।

रुकुम पूर्व — 'हेलो ! प्रचण्ड बाजे, कता हुनुहुन्छ ? हाम्रो यहाँ पूर्व रुकुमबाट चुनाव जितेर मात्रै जानुभो, यहाँ पुलको हाल हेर्नुस् यस्तो छ । भाँच्चिएर हामी खोलाबाट तरेर जानुपर्छ । गाईबाछालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ । बच्चाहरू यहाँबाट स्कुल आवतजावत समेत गर्छन् । तिनीहरूलाई पनि बगाउन सक्छ । त्यही भएर यहाँ पुल बनाइदिनुपर्‍यो ।'

आइतबार साँझ ८ बजेतिर यही भनेर एउटा भिडियो फेसबुकमा पोस्ट गरिन् रुकुम पूर्वकी सदीक्षा ओली ले । भूमे गाउँपालिका वडा नं. ९ चुनबाङको दोमै खोलामा भत्किएको पुल देखाउँदै बनाएको उक्त भिडियो ४८ घण्टामै १३ लाख पटकभन्दा धेरै हेरिएको छ ।

आफ्ना पशु–चौपायालाई चराउन यहाँ पुगेकी उनले सामान्य तरिकाले बनाएको यो भिडियोमा १ लाखभन्दा धेरैले रियाक्ट गरेका छन् भने हजारौंले कमेन्ट गरेका छन् ।

भूमे-९ की सदीक्षा १५ वर्षकी भइन् । गाउँदेखि एक घण्टा समय लाग्ने दुरीमा गैरीगाउँमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा पढिरहेकी उनीले यसरी भिडियो बनाउन थालेको एक महिना मात्रै भयो । उनलाई यो काममा उनका दाइ सन्दीपले सहयोग गरिरहेका छन् । दाइसँग भएको फोन र ड्रोन क्यामेरामार्फत आफूले भिडियो बनाउने गरेको सदीक्षाको भनाइ छ ।

‘म बल्ल (गोरु) र बाख्रा ग्वाला आएको छु । बाख्राचाहिँ अघि नै घर पुगिसके, बल्लचाहिँ आएका छैनन् । हराए कि जस्तो लागिरहेको छ, ड्रोनबाट बल्ल खोज्न गैरहेकी छु,’ भनेर ड्रोनबाट गोरु देखाउँदै उनीहरूलाई घरतर्फ फर्काएको भिडियो एक महिनाअघि पहिलोपल्ट पोस्ट गरेकी थिइन् । उक्त भिडियो ४ लाख पटकभन्दा धेरै हेरिसकिएको छ ।

त्यस्तै, ड्रोनबाट घर वरिपरि रहेका च्याउ खोजिरहेको अर्को एउटा भिडियो पनि १० लाख पटकभन्दा धेरै हेरिने भिडियोमा परेको छ । उक्त भिडियो पनि उनले एक महिनाअघि नै पोस्ट गरेकी थिइन् ।

‘सुरुमा त मलाई फेसबुकबारे धेरै थाहा थिएन । दाइको फेसबुक हेरेर र उसले चलाएको देखेर मलाई पनि रहर लाग्यो अनि दाइकै सहयोगमा एक महिनाअघि फेसबुक खोलेँ । सुरुमा फोटोहरू हाल्न थालेँ अनि दाइकै सहयोगमा भिडियो बनाउन सुरु गरेको हुँ,’ उनले भनिन्, ‘रहरै रहरले सुरु गरेको हुँ । यसबाहेक केही त्यस्तो उद्देश्य छैन ।’ उसो त उनले ‘सदीक्षा भिजुल्स’ नाम राखेर फेसबुक चलाउन थालेकै एक महिना मात्रै भयो ।

आफ्नो फेसबुक मोनिटाइज नभएको तर हुने प्रक्रियामा रहेको उनको भनाइ छ । अहिलेसम्म उनले जम्माजम्मी २० वटा भिडियो र केही तस्बिरहरू राखेकी छिन् । एक महिनामै १३ हजार फलोअर्स पाएकी सदीक्षाका भिडियो हेरेर उनका स्कुले साथी र शिक्षक समेतले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।

गाउँको पुल भत्किएको बारे दुई दिनअघि राखेको भिडियोमा आफूहरूले दैनिक देखे-भोगेको दुःखलाई भिडियोमार्फत बताएको उनले सुनाइन् । ‘हामी दिनदिनै आवतजावत गर्ने घर नजिकको खोलामा रहेको यो पुल दुई महिना भयो भत्किएको । तर अहिलेसम्म कसैले पनि मर्मत गरेको छैन । अनि ग्वाला गएका बेला यसो विचार गरे यहाँबाट त प्रचण्डले चुनाव जितेका हुन् भन्ने लागेकाले धेरै सोच्दै–नसोची भिडियो बनाएको हुँ,’ उनले भनिन्, ‘चुनावका बेला उनी (प्रचण्ड) गैरीगाउँ आएका थिए त्यही बेला देखेकी पनि हुँ । अनि बाजे उमेरका भएकाले बाजे भनेरै पुलको माग गरेको हुँ ।’

यो पुल यस भेगका सर्वसाधारणले वडा कार्यालय, विद्यालय र जिल्ला सदरमुकामतर्फ जानका लागि प्रयोग गर्ने गरेको तर पुरानो भएर दुई महिनाअघि भत्किएपछि खोलामा अहिले बर्खे भेल बढ्दा जोखिम बढेको उनी बताउँछिन् ।

सदीक्षाको भिडियो–प्यासनबारे बताउँदै उनका दाइ सन्दीपले आफूले मोबाइल र ड्रोन चलाएको देखेर चासो गरेपछि उसको रहर पूरा गर्न चलाउन दिँदादिँदै बहिनीले सिकेको बताए । ‘म अलि पहिलोदेखि नै फोटो/भिडियो फेसबुकमा हाल्छु । रहरै–रहरमा ड्रोन पनि किने अनि नानीले आफूलाई पनि सिकाइदिन भनेपछि उसकै फेसबुक खोलिदिएर पोस्ट गर्न सिकाएको हुँ,’ उनी भन्छन्, ‘सुरुमा त मलाई नै सहयोग गर्थी, पछि भिडियो बनाउन र पोस्ट गर्न जानेपछि रमाउन थाली । अहिले ऊ आफैं काम गर्छे । उसको भिडियो हामीलाई पनि रमाइलो लाग्छ । उसको पढाइमा असर नपरोस् भनेर उनी धेरै मोबाइल चलाउन भने दिँदैनौँ ।’

सदीक्षाले केही भिडियो हिन्दी भाषामा समेत बनाएकी छिन् । एक वर्ष पहिला बुवा रोजगारीका लागि भारत गएर एक वर्ष बसेर फर्केकाले हिन्दीमा कुरा गर्ने गरेको र हिन्दी फिल्मसमेत हेर्ने गरेकाले रहर लागेर हिन्दीमा प्रयास गरेको बताइन् । ‘एउटा भिडियो यसै हिन्दीमा बोलेर बनाएकी थिएँ, राम्रो प्रतिक्रिया आएपछि अरु पनि केही भिडियोहरू बनाएँ । तर राम्रो र सजिलो त हाम्रो भाषामा बनाउन हो,’ उनी भन्छिन् ।

सदीक्षा बाबा, आमा र दाइसँगै गाउँमा बस्छिन् । उनलाई भिडियो बनाउने सिप धेरै सिक्ने रहर छ । उनी अहिले भिडियोमाभन्दा पनि पढाइमै केन्द्रित छिन् । तर दुई दिनअघि बनाएको ‘प्रचण्ड बाजे...’ वाला भिडियोको प्रतिक्रियाले भने आफू निकै हौसिएको उनले बताइन् । उनका अनुसार गाउँमा नेपाल टेलिकमको फोनको डेटा मुस्किलले चल्छ । वाईफाई भने घरसम्मै पुगेको छ तर इन्टरनेट साह्रै राम्रो नभए पनि काम भने जसोतसो चल्ने गरेको उनी बताउँछिन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मान्छे मारेको भन्ने आरोप झुटो भएको दाबी गर्दै त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

#प्रचण्ड #दाहाल
Compare →

Related Stories

Education & Youth
Build #2611