Trending
Prev Story
Next Story

६ करोडको व्यवसाय खरानी भएपछि उठेको प्रकाशको उद्योग यात्रा

Ekantipur •
November 10, 2026 • 07:01 AM
1
1 reads 0 reactions

६ करोड रुपैयाँको लगानी खरानी भएपछि प्रकाशले उधारो मेसिनबाट थालेको व्यवसायमा अहिले तीन आउटलेट र ६५ कर्मचारी छन्।

६ करोडको व्यवसाय खरानी भएपछि उठेको प्रकाशको उद्योग यात्रा

६ करोड रुपैयाँको लगानी खरानी भएपछि प्रकाशले उधारो मेसिनबाट थालेको व्यवसायमा अहिले तीन आउटलेट र ६५ कर्मचारी छन्।

बुटवल — ६ करोड रुपैयाँ लगानीको व्यवसाय आगलागीमा खरानी भएपछि पनि बुटवलका प्रकाश भुसालले हार मानेनन्। आगलागीको दुई सातापछि १० वटा मेसिन र पाँच जना कालीगढबाट सुरु गरेको गार्मेन्ट उद्योग दुई वर्षमै ६५ जनालाई प्रत्यक्ष रोजगारी दिने र वार्षिक आठ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने अवस्थामा पुगेको छ ।

बुटवलमा युवा व्यवसायीका रूपमा परिचय बनाउँदै गरेका ३७ वर्षीय प्रकाश भुसाल अहिले सफल उद्योगी बनेका छन्। अर्घाखाँचीको मलारानी गाउँपालिकाका प्रकाश स्कुले विद्यार्थीदेखि नै उद्योगी बन्ने सोच राख्थे । आफ्नै उद्योग खोलेर ६५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका उनको विगत भने निकै कष्टपूर्ण छ ।

उनी जन्मिएको ६ महिनामै आमाबुबाको सम्बन्धविच्छेद भयो । हजुरआमा र बुबाको काखमा हुर्किए । गाउँमा उनको पढाइ पनि सहज थिएन । कक्षा १ देखि ५ सम्म गाउँकै बोर्डिङ स्कुलमा पढेका उनी कक्षा ८ मा बुटवलको अक्सफोर्ड स्कुलमा भर्ना भए । गाउँबाट आएको विद्यार्थी भएकाले आफू अरूभन्दा कमजोर रहेको महसुस हुन्थ्यो । तर, कक्षा ९ मा भएको एउटा घटनाले उनको आत्मविश्वाससँगै जीवनको मोड नै बदलिदियो ।

तत्कालीन गणित शिक्षक दिनेश भुसालले गेसपेपरबाट एउटा प्रश्न बोर्डमा लेखे । अगाडि बसेका विद्यार्थीले प्रश्न हल गर्ने प्रयास गरे, तर सकेनन् । पछाडि बसेका प्रकाश पनि आफूले समाधान गर्न सक्छु भन्नेमा विश्वस्त थिएनन् । तर, उनी बोर्डमा गए र प्रश्न हल गरे । गणितको त्यो एउटा प्रश्न उनका लागि जीवन बदल्ने मोड बन्यो ।

‘भोलि सरले जे पढाउनुहुन्छ, त्यो आजै पढ्नुपर्ने रहेछ,’ २४ वर्षअघिको घटना सम्झिँदै उनले भने, ‘त्यसपछि बदलिएको पढाइप्रतिको दृष्टिकोणले आज उद्योगी बनायो ।’ त्यसपछि उनले हरेक दिन शिक्षकले भोलि पढाउने विषय अघिल्लो दिन नै पढेर जाने बानी बसाले ।

त्यही बानीको विकासले कक्षा १० मा पुग्दा उनी कक्षा ९ का विद्यार्थीलाई गणित विषयको ट्युसन पढाउन थाले। ६ महिना ट्युसन पढाउँदा २५ हजार रुपैयाँ जम्मा गरे । त्यही रकमले उनलाई उद्योगी बन्ने सोच विकास गर्न प्रेरित गर्‍यो । उनको नयाँ सोच थियो, ‘स्टुडेन्ट कम्प्लेक्स’ । जहाँ विद्यार्थी तथा विद्यालय र संघसंस्थालाई चाहिने सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध गराउने योजना थियो । त्यतिबेलासम्म बुटवलमा त्यस्तो व्यवसाय थिएन । उनले त्यसका लागि २२ पृष्ठको प्रस्तावपत्र नै तयार पारे । विद्यालयका प्रधानाध्यापकलाई देखाए । प्रधानाध्यापकले पनि उत्साह थपिदिएपछि त्यसलाई थन्क्याएर एसएलसीको तयारीमा लागे ।

२०६० मा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि तिलोत्तमा क्याम्पसमा विज्ञान विषय पढ्न थाले । त्यहाँबाट प्लस टु सकेपछि उच्च शिक्षाका लागि काठमाडौं गए । तर, मनभित्रको उद्योगी बन्ने सपना र थन्क्याएको प्रस्तावले उनलाई बुटवल फर्कायो ।

बुटवल आएपछि आफ्नो प्रस्ताव र योजना साथीहरूलाई सुनाए । तर, सहयोगी कोही भएनन् । त्यसपछि अर्को योजना बनाए- ट्युसन कक्षा सञ्चालन गर्ने । आफूलाई विश्वास गर्ने सात जना साथी जुटाएर एउटा शिक्षण संस्था सुरु गरे । त्यतिबेला बुटवलमा एसएलसीपछिको ब्रिज कोर्स, नर्सिङ तयारी कक्षा तथा मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गराउने संस्था थिएनन् । नमुना परीक्षा, सेमिनार र शैक्षिक कार्यक्रम चलाउँदै संस्था चितवन र दाङसम्म विस्तार गरे ।

व्यवसाय विस्तार हुँदै गएपछि उनले सुरुवाती सोच ‘स्टुडेन्ट कम्प्लेक्स’लाई अघि बढाउने निधो गरे । तर, साथीहरू सहमत भएनन् । त्यसपछि आफूसँग भएको तीन लाख रुपैयाँ र आफन्तबाट थप तीन लाख रुपैयाँ ऋण लिएर बुटवलमा व्यवस्थित युनिफर्म व्यवसाय सुरु गरे । उनले बुटवलमा पहिलो युनिफर्म हाउस खोले । त्यो उनको ‘स्टुडेन्ट कम्प्लेक्स’ खोल्ने सपनाको सुरुवाती यात्रा थियो ।

विद्यार्थीलाई आवश्यक पर्ने सर्ट, पाइन्ट, टी–सर्ट, ट्र्याकसुटलगायत पोशाकलाई विद्यालयको युनिफर्मका रूपमा प्रयोग गर्ने अभ्यास उनले अघि सारे । बुटवलका बोर्डिङ र सरकारी विद्यालयमा हप्तामा एक दिन टी–सर्ट र ट्र्याकसुट लगाउने अभियान सुरु गरे । प्रकाशको व्यवसायले सोचेभन्दा बढी सफलता पायो ।

तर, २०८१ असार ६ गते उनको निरन्तर अघि बढिरहेको सपनाको यात्रामा ‘कालो दिन’ बन्यो । उनले सुरु गरेको बुटवलको ‘डेल्टा मार्ट’मा अचानक आगलागी भयो । विद्यालय पोशाकदेखि पुस्तक, कापी, मोजा र जुत्तासमेत बिक्री हुने मार्टमा आगलागी हुँदा नेपाली लुगा घर र जुत्ता घरसहित अन्य व्यवसाय जलेर खरानी भए ।

बैंकको ऋणसहित भुसालको ६ करोड रुपैयाँ लगानीमा सुरु भएको व्यवसाय, नेपाली लुगा घर र वर्षौंको कडा परिश्रमसँगै भविष्यका सपना क्षणभरमै खरानी बने । ‘मैले देखेको सपनाको निरन्तर गतिमा त्यतिबेला नै ठूलो ब्रेक लागेको थियो,’ उनले सम्झिए, ‘त्यसपछि बैंकको ऋण, परिवारको भरोसा, कर्मचारीको आशा सबै टुट्यो ।’

त्यसपछि धेरै दिनसम्म आफूले केही सोच्नै नसकेको उनले बताए । ‘तनाव बढ्यो । श्रीमती अस्पतालमा जागिरे भएकाले बिहान १० बजेपछि अफिस जाने, छोराछोरी स्कुल,’ उनले भने, ‘व्यवसाय जलेपछि जाने ठाउँ पनि भएन । साथीहरू भेट्दा बिचरा भन्थे ।’

तर, जलेर खरानी भएको व्यवसाय सम्झेर निराश भइरहनुभन्दा फेरि उठ्ने सोच उनले बनाए । ‘सुरुको त्यही २५ हजार न हो, बाँकी त कमाएरै गरेको थिएँ नि’ भन्ने आत्मविश्वास जगाए । पुराना सपना ब्युँताए र फेरि व्यवसाय सुरु गर्ने निर्णयमा पुगे ।

आगलागीको दुई सातापछि उनले गार्मेन्ट उद्योग सुरु गर्ने निर्णय गरे । तर, पैसा थिएन । व्यवसायीसँग केही समयका लागि १० वटा मेसिन उधारोमा मागे । पाँच जना कालीगढ खोजेर ‘लर्ड बुद्ध गार्मेन्ट’को यात्रा सुरु गरेको उनले बताए । अहिले त्यही व्यवसाय उद्योगका रूपमा स्थापित भएको छ । ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । वार्षिक आठ करोड रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ ।

‘आखिर उठ्न त पर्‍यो भनेर उधारो मागेर सुरु गरेको व्यवसायमा अहिले ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्,’ उनले भने, ‘लगानी विस्तार गरेर एक करोड रुपैयाँभन्दा बढी पुगेको छ । बुटवलका तीन स्थानमा आउटलेट छन् ।’ यहाँका उत्पादन सुर्खेत र धनगढीसम्म पुगेको उनले बताए ।

तर, युवा व्यवसायीका रूपमा उनको बुटवल उपमहानगरपालिकाप्रति ठूलो गुनासो पनि छ । ६ करोड रुपैयाँभन्दा बढी लगानीको व्यवसाय दुई घण्टामै जलेर खरानी हुँदा आगो नियन्त्रणका लागि प्रभावकारी अग्नि नियन्त्रण संयन्त्र र उपकरण व्यवस्थापन गर्न नसक्नु स्थानीय सरकारहरूको ठूलो कमजोरी रहेको उनले बताए।

‘मेरो व्यवसायमा आगो लागेको आधा घण्टामा बुटवलको दमकल आयो, तर आगो लागेको बीचको तलामा पानी फाल्न सकेन,’ उनले भने, ‘तिलोत्तमा, सैनामैना र सिद्धार्थनगरको दमकलले समेत काम गर्न सकेनन् । हाम्रा स्थानीय सरकारका संयन्त्र र उपकरणविहीन आवश्यता अनुसार प्रविधि युक्त बनाउन आवश्यक छ।’ एउटा गतिलो दमकल भइदिएको भए आफ्नो व्यवसाय क्षणभरमै खरानी नहुने उनको दाबी छ ।

नयाँ व्यवसायमा चुनौती पनि उत्तिकै छन् । कच्चा पदार्थको अभावदेखि इन्धनको मूल्यवृद्धिसम्मको सामना उद्योगीले गर्नुपरिरहेको उनको गुनासो छ । तर, चुनौतीका बीच उनको योजना रोकिएको छैन । बरु अब उनको लक्ष्य आयातित सामान बेच्नुभन्दा नेपाली उत्पादन बढाउनेतर्फ छ ।

कक्षा ९ मा कापीमा लेखेको ‘स्टुडेन्ट कम्प्लेक्स’को योजनादेखि आजको गार्मेन्ट व्यवसायसम्म आइपुग्दा प्रकाशले अनेक प्रयोग गरेका छन् । ‘मैले एसएलसी दिँदा सोचेको कन्सेप्टमा म कति पनि विचलित छैन,’ उनले भने, ‘अबको मेरो लक्ष्य फेरि नेपाली लुगा र नेपाली जुत्ता उत्पादनमा केन्द्रित हुने हो । छिट्टै सुरु गर्छु नै ।’

उद्यमशीलता पैसा कमाउने माध्यम मात्र नभई आफ्नै खुट्टामा उभिने, अरूलाई रोजगारी दिने र नेपाली उत्पादनलाई बलियो बनाउने माध्यम पनि भएकाले त्यसलाई अघि बढाउने उनले बताए । उनले मःम र चाउमिन प्याक गर्ने कन्टेनर उद्योगदेखि विभिन्न हाइड्रोपावरमा समेत लगानी गरेका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश

६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश

२५ कात्तिक, बुटवल । २०७६ सालमा बुटवल मिलनचोकमा शैक्षिक, खेलकुद र स्कुल–कलेजका पोसाक सहित सामग्री एउटै छानामुनि पाइने गरी ‘डेल्टा एजुकेसनल मार्ट’ स्थापना भयो । मार्ट परिकल्पनाकार र नेतृत्वकर्ता थिए ३७ वर्षीय प्रकाश भुसाल । उनले …

#प्रकाश #व्यवसाय #बुटवल
Compare →
Hamro Patro News
2d ago
नोभेम्बर १८ मा अन्तरिक्ष इतिहास बनाउँदै Voyager 1, पृथ्वीबाट एक प्रकाश-दिन टाढा पुग्ने

नोभेम्बर १८ मा अन्तरिक्ष इतिहास बनाउँदै Voyager 1, पृथ्वीबाट एक प्रकाश-दिन टाढा पुग्ने

काठमाडौं । करिब पाँच दशकदेखि अन्तरिक्षमा यात्रा गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको Voyager 1 अन्तरिक्षयानले नोभेम्बर १८ मा नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्ने भएको छ। नासाका अनुसार Voyager 1 ...

#प्रकाश
Compare →
Nagarik News
15h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन्।

#व्यवसाय
Compare →

Related Stories

Business & Economy
Build #2612