अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्
वासिङ्टन — अमेरिकी सेमिकन्डक्टर तथा चिप निर्माता कम्पनी एन्भिडियाका कार्यकारी अध्यक्ष (सीइओ) जेन्सेन ह्वाङ र एक चिनियाँ व्यवसायी महिलाबीचको सम्बन्धबारे संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले छानबिन सुरु गरेको छ। एलिस ह्वाङ नामकी ती महिला व्यवसायीमाथि चीनका लागि जासूसी गरेको आरोप लागेको छ ।
उनी ह्वाङसँग सम्बन्धमा थिइन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्।
राष्ट्रपति ट्रम्पले सिलिकन भ्यालीका आफ्ना नजिकका सहयोगी ह्वाङमाथि लागेको आरोपप्रति आश्चर्य व्यक्त गरेका छन्। ट्रम्पका अनुसार सीइओ ह्वाङले ती महिला चिनियाँ जासुस हुन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। त्यस्तै, चिनियाँ विदेश मन्त्रालयले उक्त आरोप निराधार, भ्रामक र चरित्र हत्या गर्ने नियतले प्रेरित भएको भन्दै खण्डन गरेको छ।
६३ वर्षीय ह्वाङले आफ्ना कर्मचारीहरूलाई पठाएको सन्देशमा आफ्नी पत्नीलाई धोका दिएको स्वीकार गरेका छन् । यसले पत्नी र आफ्ना सन्तानहरुलाई गहिरो चोट पुगेको उनले बताएका छन् । यद्यपि, सम्बन्धको विस्तृत विवरण भने खुलाएका छैनन्। ६३ वर्षीय ह्वाङ एन्भिडियाका पाँचौँ ठूला शेयरधनी हुन् र कम्पनीमा उनको ३.६ प्रतिशत शेयर रहेको छ।
विश्वकै सबैभन्दा मूल्यवान् चिप निर्माता कम्पनी एन्भिडियाका लागि यो घटनाले ठूलो धक्का पुर्याएको छ । यस प्रकरणमा कम्पनीको सञ्चालक समितिले आन्तरिक छानबिन थालेपछि सोमबार एन्भिडियाको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।
ह्वाङ र कम्पनीले संदिग्ध चिनियाँ जासुससँगको सम्बन्ध लुकाएर शेयरधनीहरूलाई गुमराहमा राखेको र राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको आरोप लगाउँदै लगानीकर्ताहरूले क्यालिफोर्नियाको अदालतमा सामूहिक मुद्दा दायर गरेका छन्।
यस घटनासँगै अमेरिकाको माथिल्लो र तल्लो सदनका नेताहरूले चीनतर्फ हुने एआई चिप बिक्रीमा थप कडाइ र प्रतिबन्ध लगाउने रक्षा विधेयक पारित गर्न माग गरेका छन्।
कम्पनीको भविष्य: सञ्चालक समितिले सीइओ ह्वाङप्रति विश्वास व्यक्त गरे पनि ह्वाङकै नेतृत्वमा निर्भर रहेको एन्भिडियाको भविष्य र नेतृत्व निरन्तरताबारे लगानीकर्तामाझ अन्योल बढेको छ।