अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः सैन्य कारबाही गर्न अमेरिकी सेना तयार रहेको चेतावनी दिएका छन्। इरानसँगको तनाव अन्त्य गर्न कूटनीतिक प्रयास जारी रहे पनि सैन्य विकल्प भने खुला रहेको उनको भनाइ छ।
इरानको आणविक कार्यक्रमबारे प्रतिक्रिया दिँदै ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशत घटेको दाबी गरे। उनका अनुसार इरान अहिले अमेरिकासँग संवादमा छ र वार्ताका क्रममा निकै विनम्र रूपमा प्रस्तुत भइरहेको छ। यद्यपि, यसबाट के परिणाम आउँछ भन्ने हेर्न बाँकी रहेको उनले बताए।
ट्रम्पले द्वन्द्व अन्त्य हुने सम्भावना रहेको उल्लेख गरे पनि सैन्य कारबाहीको विकल्प पूर्ण रूपमा हटिनसकेको स्पष्ट पारे। “यदि हामीले फेरि त्यहाँ जानुपर्ने अवस्था आयो भने हामी पूर्ण रूपमा तयार छौँ,” उनले भने। अमेरिकी सेनालाई आवश्यक परे तत्काल परिचालन गर्न सकिने उनको भनाइ थियो।
यसैबीच, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग इरानको अवस्थाबारे उत्कृष्ट कुराकानी भएको जानकारी दिएका छन्। उनले कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कुवेतलगायतका देशहरू अमेरिकी नौसैनिक नाकाबन्दी र हालै घोषणा गरिएको ‘अपरेसन आइरन गेट’लाई निरन्तरता दिने पक्षमा रहेको दाबी गरेका छन्।
ट्रम्पका अनुसार ती देशहरूले इरानमाथिको दबाब कायम राख्नुपर्ने धारणा राखेका छन्। उनले इरानले आणविक हतियार राख्न नपाउने विषयमा सबैको सहमति रहेको उल्लेख गर्दै यसमा कुनै सम्झौता हुन नसक्ने बताएका छन्।
मध्यपूर्वको परिस्थितिमा कुनै परिवर्तन आए अमेरिकाले तत्काल प्रतिक्रिया दिन सक्ने चेतावनी पनि ट्रम्पले दिएका छन्। यद्यपि, अहिले नै थप सैन्य कारबाही आवश्यक देखिएको उनको भनाइ छ।
अमेरिकाले समुद्री तथा स्थलमार्गबाट इरानको आपूर्ति र स्रोतमा पहुँच सीमित गर्ने प्रयास जारी राखेको छ। वासिङ्टनले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुलाई कुनै पनि सम्भावित सम्झौताको प्रमुख सर्तका रूपमा अघि सार्दै आएको छ।
ट्रम्पले जारी द्वन्द्व अन्त्य भएपछि अमेरिकी नागरिकसहित विश्वभरका मानिस थप सुरक्षित हुने दाबी गरेका छन्। उनले इरानमाथि धेरै मानिसको हत्या गरेको आरोप लगाउँदै वार्तामार्फत द्वन्द्व अन्त्य हुने आशा पनि व्यक्त गरेका छन्।