सोमबार अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा टाइम म्यागेजिनले गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ ।
काठमाडौँ — अमेरिकी म्यागेजिन टाइमले सन् २०२६ का १०० प्रभावशाली जलवायु क्षेत्रका व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समेटेको छ । नेपालको जलवायु जोखिम र अन्तर्राष्ट्रिय जलवायु क्षतिपूर्तिको मागलाई विश्वमञ्चमा पुर्याउन उनले गरेको प्रयासलाई पत्रिकाले महत्त्व दिएको छ ।
सोमबार टाइमको अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा गत अगस्टमा हिमताल विस्फोटपछिको नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ । उक्त विपद्मा १ हजार ५ सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए ।
‘विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान भए पनि विकासशील देशहरू जलवायु परिवर्तनबाट असमान रूपमा प्रभावित छन्,’ पत्रिकाले भनेको छ । यस मुद्दालाई अन्तर्राष्ट्रिय तहमा निरन्तर उठाउन वाग्लेले गरेको प्रयासलाई पनि टाइमले उल्लेख गरेको छ ।
विपद्पछि नेपालले विश्वका तीन ठूला हरितगृह ग्यास उत्सर्जक मुलुक चीन, अमेरिका र भारतसँग औपचारिक रूपमा जलवायु क्षतिपूर्तिको माग गरेको थियो ।
विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनामा करिब ५ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । यसका लागि वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका देशलाई पुनःस्थापना गर्न स्थापना गरिएको विश्वव्यापी वित्तीय संयन्त्र ‘लस एन्ड ड्यामेज फन्ड’ मार्फत अन्तर्राष्ट्रिय सहयोगको माग गरेका थिए ।
टाइमका अनुसार अक्टोबर २२ मा संयुक्त राष्ट्रसंघले उक्त कोषबाट नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो । यो कोष पहिलोपटक प्रयोगमा आएको घटना पनि हो ।
नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा जलवायु कूटनीति तीव्र बनाइरहेका बेला टाइमको यो सूची सार्वजनिक भएको हो । सम्मेलन सोमबारदेखि टर्किएको आन्ताल्यामा सुरु भएको छ ।
जलवायु सम्मेलनमा सहभागी हुन वाग्ले सोमबार टर्किए प्रस्थान गरेका छन् । सम्मेलनमा नेपालले थप जलवायु वित्त, अनुकूलनका लागि सहयोग र पर्वतीय मुलुकका विशिष्ट जोखिमको अन्तर्राष्ट्रिय मान्यताका लागि पैरवी गर्ने अपेक्षा गरिएको छ ।
विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान गर्ने मुलुकहरूले जलवायु परिवर्तनको असमान भार बेहोर्नुपरेको नेपालको लामो समयदेखिको तर्क छ । विशेषगरी तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम तीव्र हुनु, हिमताल विस्फोटबाट हुने बाढी र मौसमको अनिश्चितताले नेपालजस्ता पर्वतीय मुलुक बढी प्रभावित भइरहेका छन् ।
नेपालले जलवायु वित्तमा सहज पहुँच र जोखिममा रहेका पर्वतीय समुदायले बेहोरेको क्षति तथा नोक्सानी सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता बलियो बनाउन पनि माग गर्दै आएको छ ।
टाइमको यो परिचय सन् २०२६ का जलवायु नेताहरूको विशेष सूचीअन्तर्गत प्रकाशित भएको हो । पत्रिकाको उक्त पृष्ठमा सामग्री ‘एली’सँगको साझेदारीमा उपलब्ध गराइएको प्रायोजित सामग्री भएको उल्लेख छ ।