आठ हजार क्विन्टल धान किन्ने कोटा पाएको खाद्यको महेन्द्रनगर कार्यालयले बिहीबार एकैदिन तीन सयभन्दा बढी टोकन बाँड्यो, किसानको चाप धेरै भएपछि थप कोटा नआएसम्म खरिद स्थगित गरिएको छ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका बन्धु राना शुक्रबार बिहान १० बजे महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय पुग्दा सुनसान थियो। धान बिक्रीका लागि टोकन वितरण भइरहेको सुनेर आएका उनी टोकन नपाएपछि निराश भए।
‘टोकन वितरण भइरहेको छ भन्ने सुनेको थिएँ, यहाँ त सुनसान छ,’ रानाले भने, ‘शुक्रबार टोकन वितरण हुँदैन भन्ने जानकारी पाएर फर्किए, अब धान कहाँ बिक्री गर्ने?’ उनले गत वर्ष पनि खाद्यमा धान बिक्री गर्न पाएका थिएनन्। यसपटक बिक्री गर्ने भन्दै करिब १० क्विन्टल धान तयार पारेर राखेका छन्।
रानाजस्तै टोकन लिन थुप्रै किसान खाद्यको कार्यालय पुगिरहेका छन्। तर यस वर्षका लागि तोकिएको खरिद कोटाभन्दा बढी टोकन वितरण भइसकेको भन्दै कार्यालयले किसानलाई रित्तो हात फर्काइरहेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको महेन्द्रनगर कार्यालयले यस वर्ष ८ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ। त्यसका लागि गएको बिहीबार नै ३ सयभन्दा बढी टोकन वितरण भइसकेको कार्यालयका सूचना अधिकारी मदन चन्दले बताए। ‘यस वर्ष प्राप्त कोटाअनुसार धान खरिद गर्न एकै दिन धेरै टोकन वितरण भइसकेको छ,’ चन्दले भने, ‘अब धेरै टोकन वितरण गरेर मात्रै के गर्नु?’
उनका अनुसार प्राप्त कोटाअनुसार धान खरिदका लागि कार्यालयले बिहीबार र शुक्रबार टोकन वितरण गर्ने सूचना जारी गरेको थियो। तर एकै दिन ठूलो संख्यामा किसान आएपछि टोकन वितरण रोक्नुपरेको हो।
शुक्रबार पनि किसान टोकन माग्दै कार्यालय पुगेपछि जिल्ला प्रशासन कार्यालयमा प्राथमिक खरिद समितिको बैठक बसेको थियो। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षतामा बसेको बैठकले धान खरिदको कोटा थप माग गर्ने निर्णय गरेको छ।
‘अब कोटा थप भएर आएपछि मात्रै धान खरिद सुरु गर्ने निर्णय भएको छ,’ सूचना अधिकारी चन्दले भने, ‘टोकन वितरण गरिएका किसानको पनि तत्काल धान खरिद हुने छैन।’ उनका अनुसार समितिले थप २० हजार क्विन्टल धान खरिदको कोटा माग गर्ने निर्णय गरेको छ।
खाद्यले यस वर्ष मोटो धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तोकेको छ। बजार मूल्यभन्दा निकै बढी भएकाले किसान व्यापारीलाई भन्दा खाद्यलाई नै धान बिक्री गर्न चाहन्छन्।
अहिले व्यापारीले प्रतिक्विन्टल २ हजार ७ सय रुपैयाँ हाराहारीमा धान खरिद गरिरहेका छन्। ग्रामीण भेगका किसानले भने त्यो मूल्यसमेत पाउन सकेका छैनन्। खाद्यले महेन्द्रनगरमा मात्रै खरिद केन्द्र राखेको छ। जिल्लाको दक्षिणी क्षेत्रका किसानलाई धान महेन्द्रनगरसम्म ल्याउन ढुवानी खर्च नै महँगो पर्ने गरेको छ।
गत वर्ष पनि खाद्यले न्यून कोटामा धान खरिद गर्न थालेपछि किसान आन्दोलित भएका थिए। त्यसबेला सुरुमा ५ हजार क्विन्टल र पछि २ हजार क्विन्टल कोटा थप गरी ७ हजार क्विन्टल धान खरिद गरिएको थियो। त्यसपछि पनि थप कोटाका लागि आग्रह गरिएको थियो। तर केन्द्रबाट कोटा थप नभएपछि धान खरिद बन्द गरिएको थियो।
भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।