Trending
Prev Story
Next Story

युवराज समराको यादगार इनिङ्स

Ekantipur •
November 09, 2026 • 12:01 PM
1
1 reads 0 reactions

समराले ४८ बलमा १०२ रन बनाएपछि पोखराले तीन विकेटमा २१७ रन जोड्यो, जुन यस सिजनको हालसम्मको उच्चतम योगफल हो ।

युवराज समराको यादगार इनिङ्स

समराले ४८ बलमा १०२ रन बनाएपछि पोखराले तीन विकेटमा २१७ रन जोड्यो, जुन यस सिजनको हालसम्मको उच्चतम योगफल हो ।

काठमाडौं — युवराज सिंह समरा भर्खर २० वर्षका भए । तर यी क्यानेडियन खेलाडी एसोसिएट क्रिकेटमा अहिले नै एक आशालाग्दो सम्भावना बनिसकेका छन् । सोमबार कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका लागि ४८ बलमा १०२ रनको सानदार इनिङ्स खेल्दै उनले आफ्नो क्षमता फेरि एकपटक प्रमाणित गरेका छन् ।

यस सिजनमा अहिलेसम्म जितविहीन रहेको एक्लो टोली पोखराले बोर्डमा ३ विकेटको क्षतिमा २१७ रनको स्कोर खडा गर्‍यो, जसमा कुशल भुर्तेलले पनि ३९ बलमा ६२ रनको योगदान दिए । यो यस सिजनको हालसम्मकै उच्च योगफल हो । यसका साथै, एनपीएलको यस सिजनमा कुनै पनि टोलीले २०० रनको आँकडा पार गरेको यो पहिलो पटक हो । एनपीएलका तीनवटा सिजनमा २०० भन्दा बढी रन बनेको यो केवल तेस्रो पटक हो, जसमा दुईवटा दोस्रो सिजनमा बनेका थिए ।

यस्तै कुनै पनि टोलीले बनाएका ती तीनवटा २०० माथिको स्कोरमध्ये दुईवटा पोखराकै नाममा छन् । पोखराले यसअघि दोस्रो सिजनमा पनि कर्णालीविरुद्ध २०० रनको लक्ष्य प्रस्तुत गर्दै खेल जितेको थियो र सोमबार इतिहासले फेरि त्यस्तै दोहोर्‍याएको छ ।

यसबाहेक समराको यो शतक, जसमा ६ छक्का र १० चौकाको मद्दतले ४५ बलमै पूरा भएको थियो । एनपीएल इतिहासको चौथो शतक मात्र हो । साथै, यो उपलब्धि हासिल गर्ने उनी तेस्रो पोखराका ब्याट्सम्यान बनेका छन् । यसअघि पहिलो र दोस्रो सिजनमा पोखराका लागि अमेरिकाका आन्द्रे हाउस र इङ्ग्ल्यान्डका आडम रोसिङटनले क्रमशः १०४ नटआउट र १०८ नटआउट रन बनाएका थिए ।

यस्तो लाग्थ्यो कि पोखरालाई यस सिजनको पहिलो जित निकाल्न आफ्नै कुनै ब्याट्सम्यानबाट शतकको खाँचो थियो । र, यसअघि पोखराका खेलाडीले शतक प्रहार गर्दा टोलीले कहिल्यै हार व्यहोरेको थिएन, सोमबार पनि इतिहासले फेरि त्यस्तै दोहोर्‍यायो ।

एनपीएलमा समराको यो दोस्रो खेल मात्र थियो । ६ नोभेम्बरमा चितवन राइनोजविरुद्धको खेलमा १९ रन (१४ बल) मा आउट हुँदा उनी निराश थिए, जुन खेल राइनोजले ३० रनले जितेको थियो । तर सोमबार भने उनको शतकको मद्दतले पोखरा ६३ रनले विजयी हुँदा खुलेर खुसी देखिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गर्ने कप्तान चामिका करुणारत्नेको निर्णयलाई पोखराले पूर्ण रूपमा सदुपयोग गर्‍यो । यस सिजनमा टस जितेर पहिले ब्याटिङ रोजेको यो केवल दोस्रो पटक हो ।

समरा र भुर्तेलले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरे, जो यस सिजनको हालसम्मकै उच्च साझेदारी हो। र, २१८ रनको यो पहाडजस्तो विशाल लक्ष्य शीर्ष चारमा स्थान बनाउन जितको खोजीमा रहेको कर्णालीका लागि असम्भव प्रायः बनेको थियो ।

पोखराले आफ्ना बाँकी दुई खेल जिते पनि शीर्ष चारको दौडमा नरहेको भए पनि यो हार याक्सका लागि ठूलो झट्का हो, जसले अब ५ खेलमा ३ हार र २ जित बेहोरेको छ ।

कर्णालीले लक्ष्य पछ्याउने स्पष्ट ‘इन्टेन्ट’का साथ मैदानमा प्रवेश गरेको थियो । र, उनीहरूसँग त्यो लक्ष्य भेट्टाउने आधार पनि थियो ।

तर न त कर्णालीका उदीयमान बंगलादेशी ओपनरहरू-आरिफुल इस्लाम र जिसन आलम- न त एनपीएलमा शतक प्रहार गर्ने चार खेलाडीमध्ये एक मार्क वाटले नै टोलीलाई गतिलो सुरुआत दिन सके । इस्लामले १३ बलमा २४ रन बनाए, आलम गोल्डेन डकमा आउट भए भने वाट १४ बलमा ८ रन बनाएर पेभिलियन फर्किए ।

त्यसपछि पनि कर्णालीसँग डेभिड मिलर, पवन सर्राफ, गुल्सनकुमार झा र सोमपाल कामीजस्ता म्याच जिताउन सक्ने खेलाडीहरू बाँकी थिए। तर लक्ष्य र त्यसको दबाब अत्यधिक ठूलै थियो ।

आठौँ ओभरको तेस्रो बलमा मिलर ९ बलमा ७ रन बनाएर आउट हुँदा कर्णालीको छाती नै चिरिएझैँ भयो । अनि त्यसलगत्तै झा (३ बलमा २ रन), कामी (१९ बलमा २१ रन) र सर्राफ (३१ बलमा ३२ रन) पनि सस्तैमा आउट भए । त्यसपछि याक्स लक्ष्यको दौडबाट पूर्ण रूपमा बाहिरियो र नेट रन रेट धेरै तल नखसोस् भनेर मात्र रन जोड्न बाध्य भयो ।

महेंदी हसनले ३ तथा धनञ्जय लक्षण, भुर्तेल र विपिन खत्रीले २-२ विकेट लिएपछि याक्स १८.३ ओभरमा १५४ रनमै समेटियो । र, म्यान अफ द म्याच घोषित भए- युवराज सिंह समरा ।

क्यानडामा बसाइँ सरेका उनका बुबाले भारतीय क्रिकेटका हस्ती- युवराज सिंहको नामबाट उनको नाम राखेका थिए । र उनी त्यो नामअनुसार जिउने प्रयास गर्दै आएका छन्- केही हदसम्म सफल पनि भएका छन् ।

सन् २०२६ को टी-२० विश्वकपमा न्युजिल्यान्डविरुद्धको शतकका कारण समरा सबैभन्दा बढी चर्चामा आएका खेलाडीहरूमध्ये एक थिए । मात्र १९ वर्षको उमेरमा ब्ल्याक क्याप्सविरुद्ध उनले ६५ बलमा ११० रनको विष्फोटक इनिङ्स खेलेका थिए, र उनी पुरुष विश्वकप (टी-२० वा एकदिवसीय) मा शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए ।

१७ अक्टोबरमा ओमानमा भएको लिग-२ त्रिकोणात्मक सिरिजमा जब क्यानडाले नेपालको सामना गर्‍यो, तब समराले ११७ बलमा १०५ रन बनाएका थिए । क्यानडाले सो खेल २४ रनले जितेको थियो ।

गत वर्षको मार्चमा एकदिवसीय र टी-२० डेब्यु गरेका समराले क्यानडाका लागि १९ एकदिवसीयमा ४९७ रन बनाएका छन् । यस्तै, २० वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेर उनले ५८६ रन बनाएका छन् ।

बायाँहाते ब्याट्सम्यान समरा दायाँहाते मध्यम गतिका बलरसमेत हुन् । एकदिवसीयमा उनको नाममा १ र टी-२० मा २ विकेट छ । यद्यपि, उनले एनपीएलमा भने अहिलेसम्म बलिङ गरेका छैनन् ।

‘साथीहरूले मलाई आफ्नो सीप देखाउने अवसर दिनुभएकोमा खुसी छु,’ म्यान अफ द म्याचको अवार्ड थापेपछि समराले भने, ‘म यहाँ मज्जा लिइरहेको छु र यहाँको समर्थन देखेर रमाइलो लागेको छ ।’

खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले ‘म बलरहरूलाई डोमिनेट गर्न चाहन्छु’ भन्ने वाक्यांश धेरै पटक दोहोर्‍याए । चितवनविरुद्धको खेलमा पनि आफ्नो यही उद्देश्य रहेको उनले बताए । ईटीपीएलमा स्टिभ स्मिथबाट समेत धेरै कुरा सिकेको बताउँदै उनले अहिले निकै रमाइरहेको बताए ।

पराजयपछि कर्णालीका पवन सर्राफले भने, ‘हामीले दुईवटा क्याच छोड्यौँ, जसमध्ये समराको क्याच मैले नै छोडेको थिएँ । यदि हामीले राम्रो पावरप्ले खेलेको भए यो लक्ष्य भेट्टाउन सक्थ्यौँ ।’

नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
पोखराका युवराज सम्राले बनाए अर्धशतक

पोखराका युवराज सम्राले बनाए अर्धशतक

२६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ३२ बलमा ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाउँदै अर्धशक पूरा …

#पोखरा #युवराज
Compare →
Nagarik News
1d ago
एनपीएलः विराटनगरविरुद्ध संघर्ष गर्दै पोखरा, युवराज साम्राको अर्धशतक

एनपीएलः विराटनगरविरुद्ध संघर्ष गर्दै पोखरा, युवराज साम्राको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले १२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ।

#पोखरा #युवराज
Compare →

Related Stories

Sports
Build #2611