परीक्षण उत्पादन थालेको करिब एक महिनापछि ३.३ मेगावाट क्षमतामा व्यावसायिक उत्पादन सुरु भएको हो ।
काठमाडौँ — रुकुम पश्चिमका ६ वटै पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको छ । परीक्षण उत्पादन थालेको करिब एक महिनापछि ३.३ मेगावाट क्षमतामा व्यावसायिक उत्पादन थालिएको हो ।
करिब ६२ करोड लगानीमा निर्माण सम्पन्न भएको आयोजनामा अर्थ मन्त्रालयको १ प्रतिशत र जिल्ला समन्वय समिति तथा रुकुम पश्चिमका ६ वटै स्थानीय तहले गरेर ५४ प्रतिशत लगानी गरेका छन् भने बाँकी ४५ प्रतिशत पब्लिक सेयरमा लगिने सञ्चालक संस्था स्यार्पू पावर कम्पनी लिमिटेडका अध्यक्ष धनवीर ओलीले जानकारी दिए ।
जसअनुसार हालसम्म चौरजहारी नगरपालिकाको ६ करोड २९ लाख, सानीभेरी गाउँपालिकाको ४ करोड ९६ लाख, बाँफिकोट गाउँपालिकाको २ करोड ७९ लाख, आठबिसकोट नगरपालिकाको २ करोड ५ लाख, त्रिवेणी गाउँपालिकाको १ करोड ८२ लाख, मुसिकोट नगरपालिकाको ५० लाख र जिल्ला समन्वय समिति रुकुम पश्चिमको ६१ लाख ७२ हजार एवं नेपाल सरकार अर्थ मन्त्रालयको २२ लाख रुपैयाँ सेयर लगानी रहेको बताइएको छ ।
गत मंसिर २०८० मा निर्माण सुरु गरिएको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्न थालिएको छ । गत ६ कात्तिकदेखि लागू हुने गरी प्राधिकरणले विद्युत् खरिद गर्ने आधिकारिक पत्र गत शुक्रबार पठाएसँगै व्यावसायिक उत्पादन सुरु भएको स्यार्पू पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर प्रदीप ओलीले जानकारी दिए । ‘अहिले सरदरमा दैनिक करिब ६५ हजार युनिट विद्युत् उत्पादन भइरहेको छ । प्रतियुनिट ४.८० रुपैयाँका दरले बिक्री गर्दा यो भनेको करिब ३ लाख १२ हजार रकम हुन आउँछ,’ उनले भने ।
महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।