गाउँपालिकाले कक्षा ८, एसईई र कक्षा १२ मा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो।
पाल्पा — सामुदायिक विद्यालयमा शतप्रतिशत नतिजा ल्याउन सफल १ सय ३० जना शिक्षकलाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले सम्मान गरेको छ। कक्षा ८, १० र १२ मा पालिकास्तरमा प्रथम, द्वितीय र तृतीय हुने नौ जना विद्यार्थीलाई पनि सोही अवसरमा सम्मान गरिएको छ। उत्कृष्ट नतिजा हासिल गर्न सफल प्रभात माध्यमिक विद्यालय, पलुङ्मैनादी र नारायण माध्यमिक विद्यालय, ठिमुरेलाई पनि गाउँपालिकाले सम्मान गरेको छ।
गाउँपालिकाका आठवटै वडाका आधारभूत तथा माध्यमिक विद्यालयमा अध्यापनरत विभिन्न विषयका शिक्षकलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए। शिक्षकलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए। आधारभूत तहको कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को वार्षिक परीक्षामा आफ्नो विषयमा शतप्रतिशत नतिजा हासिल गर्न सफल शिक्षकलाई प्रमाणपत्रसहित सम्मान गरिएको शिक्षा शाखा प्रमुख राजाराम भाटले बताए। ‘गाउँपालिकाले सकेसम्म धेरैले राम्रो नतिजा ल्याउन सकून् भन्ने नै हो,’ उनले भने, ‘त्यसैले आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउने सबैलाई सम्मान गरिएको हो।’
शिक्षकले आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउनुलाई शिक्षण सिकाइको प्रभावकारितासँग जोडेर हेरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर घिमिरेले बताए। यस प्रकारको सम्मानले शिक्षकलाई थप जिम्मेवार र उत्साहित बनाउने उनले बताए।
विद्यार्थीको मिहिनेत र सफलतालाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन्। शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र विद्यालयबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उनले बताइन्।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा शिक्षकलाई प्रोत्साहन गर्दा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि सुधारमा सहयोग पुग्ने अपेक्षा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरे। शिक्षकलाई प्रोत्साहन गर्दा पढाइको गुणस्तर सुधार गर्न सहयोग पुग्ने उनले बताए। ‘हाम्रो नतिजामुखी शिक्षा भएकाले पनि केही समस्या देखिएको छ,’ उनले भने, ‘व्यवहारमुखी शिक्षा र वैज्ञानिक शिक्षाका लागि सबैको पहल जरुरी छ।’
गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसी, राष्ट्रिय स्वतन्त्र पार्टीकी तारा उचौ थापा, कांग्रेसकी रञ्जना आचार्य, एमालेका दुर्गा खनाल र नेपाली कम्युनिस्ट पार्टीका नारायणबहादुर लाम्टाङ्गेलगायतले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, विद्यार्थी र अभिभावकको उत्तिकै भूमिका रहने बताए। उनीहरूले शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।