२०७९ सालदेखि निर्माण गरिएको रंगशालामा ६३० दर्शक क्षमताको प्याराफिट, २४ सटर र खेलाडीका लागि चेन्जिङ रुम छन्।
परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा सुविधासम्पन्न रंगशाला निर्माण भएको छ ।
नगरपालिकाको गौरवको आयोजनाका रूपमा खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका लागि ५ करोडभन्दा बढी लागतमा रंगशाला निर्माण गरिएको हो ।
२०७९ सालदेखि निर्माण सुरु गरिएको रंगशालामा ६ सय ३० जना दर्शक क्षमताको प्याराफिट, २४ वटा सटर तथा खेलाडीका लागि चेन्जिङ रुम रहेको नगर प्रमुख धनपत यादवले बताए ।
नगरभित्रका खेलाडीको संरक्षण, खेल प्रतिभाको विकास तथा पूर्वाधार अभाव हुन नदिन रंगशाला निर्माण गरिएको हो । रामग्रामले हरेक वडामा खेल मैदान र आवश्यकताअनुसार सुविधासम्पन्न रंगशाला निर्माण गर्ने कार्ययोजना बनाएको छ ।
स्थानीयले पूर्वाधार अभावमा खेल अभ्यास र प्रतियोगिता आयोजना गर्न रंगशालाले सहयोग पुर्याउने आशा गरेका छन् ।
नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।