Trending
Prev Story
Next Story

कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

Ekantipur •
November 08, 2026 • 05:01 AM
1
1 reads 0 reactions

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै सन्तानझैँ माया गर्छन् । जीवनको सहारा ठान्छन् । कुकुरको मृत्युमा शोक मनाउँछन् ।

कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै सन्तानझैँ माया गर्छन् । जीवनको सहारा ठान्छन् । कुकुरको मृत्युमा शोक मनाउँछन् ।

काठमाडौँ — बेइजिङमा एक चिनियाँ साथीको घरमा गएका बेला छिमेकी घरको कुकुरसँग प्रायः साक्षात्कार हुन्थ्यो । पहिला पहिला भुके पनि बिस्तारै बिस्तारै घरबेटीले नकराउन आदेश दिएपछि चुप लाग्थ्यो । कहिलेकाहीँ घरबेटी आमा अस्पताल वा कामका लागि कतै जान्थिन् र कुकुर एक्लै पर्थ्यो । त्यस्तो अवस्थामा मेरो साथीले रेखदेख गरिदिन्थ्यो । पछिल्लो पटक साथीकोमा जाँदा ‘निअर’ भनेर बोलायो कि कुकुर पुच्छर हल्लाउँदै खुट्टामा लडीबुडी खेल्न थाल्थ्यो ।

जीवनमा कुकुरसँग धेरै नजिक भएको कुनै घटना छैन । आफ्नो घरका वा निकटका कसैले कहिल्यै कुकुर पालेको अनुभव छैन । गाउँमा छँदा कुकुरहरू यत्रतत्र दौडिरहेका हुन्थे । विशेषगरी असोज/कात्तिक महिनामा गाउँमा कुकुरहरूको जुलुस नै निस्किन्थ्यो । धानबारीमा उनीहरूको 'रामरमिता' चलिरहँदा लखेट्न जानुपर्थ्यो । एकपटक लखेट्दै लखेट्दै खोलासम्मै पुर्‍याएको थिएँ, दर्जन हाराहारी कुकुर थिए । एउटी कुकुर्नीमाथि खनिएर लागेका । म पनि उनीहरूका पछि पछि लागेर लखेटिरहेको थिएँ । मैले हल्ला गर्दै ढुङ्गा बर्साइरहेको देखेर एउटा कुकुरले मेरो हात क्याप्पै पार्‍यो । हेर्दा खासै दर्दको संकेत थिएन । मेरो विचारमा त्यो टोक्ने कुकुरले मलाई चेतावनी मात्रै दिएको थियो । म लुरुक्कै फर्किएँ र घरमा आएर कुकुरले टोकेको बताएँ ।

सानै छँदाखेरि गाउँमा डुलिहिँड्ने कुकुरहरू चाहिँ हामीले लखेट्नका लागि बनेका जस्ता लाग्थे । कुकुरहरू यताउता गरिरहेका हुन्थे । कहिलेकाहीँ आँगनमा पनि आउँथे । खाना खाइरहेको बेला आउँदा उनीहरूले खान पाउँथे । एक–दुई चोटि खान पाएपछि ती कुकुर नियमितजसो खाना खाने समयमा घरवरिपरि डुलिरहेका भेटिन्थे । एक पटक दाजुले खाइलाग्दो भोटे कुकुरलाई घरमा आउने गरी पल्कायो । दाइले भोटे कुकुरलाई नियमित भात दिन्थ्यो । एक दिन कुकुर भुइँतलामा राखेको भात खाँदै थियो । त्यही बेला दाइले माथिल्लो तलामा गएर बडेमानको काठको मुढा खसालिदियो । त्यो मुढा कुकुरकै जिउमा बजारियो । कुकुर ढाड अररो पार्दै त्यहाँबाट बत्तासियो । यो कुरा बुबाको कानमा पनि पुग्यो । अनि दाजुले नमज्जासँग हप्की भेट्यो । भोलिपल्टदेखि त्यो कुकुर पनि कहिल्यै देखापरेन ।

सानोमा गाईबाख्रा लिएर जंगलमा चराउन जानुपर्थ्यो । हामी ८/९ वर्षका केटाकेटीका लागि जंगलमा डर भगाउने कुरा कि त गाईबाख्राका घाँटीमा झुन्ड्याइएका घण्टी हुन्थे, कि त आफूले डाँडाकाँडा हल्लिने गरी गाउने गीत । नत्र कुनै कुनै गोठालाका साथमा आएका कुकुरहरूको भुकाइ । हाम्रो जंगलमा कहिल्यै बाघभालु आएको त सुनिएन, तर साना साना जीवजन्तुको डरका खातिर धेरै कुकुरले मानिसलाई साथ दिएका हुन्थे । यति हुँदाहुँदै पनि कुनै कुकुरवाला गोठालासँग घनिष्ठता थिएन मेरो ।

काठमाडौं आएपछि चाहिँ कुकुरको अर्कै संसार देखियो । उनीहरूलाई हाम्रो गाउँघरको भन्दा अलि राम्रो वातावरण र मायाममता हुने रहेछ । तर पालुवा कुकुरभन्दा छाडा कुकुरले महानगरलाई त्रस्त बनाएको धेरै भेटिन्थ्यो । पालिएका कुकुरको जीवन सुखी थियो तर सडकमा फोहोरको थुप्रोमा जीवन गुजार्ने कुकुरहरूको जीवन चाहिँ केही आवाराजस्तो । कुनै निम्तो मान्न वा कामका सिलसिलामा अभिभावकसँगै कुनै आफन्तको घरमा जाँदा घरपालुवा कुकुर त भुक्थे तर तिनको सन्निकट कहिल्यै भइएन । व्यक्तिगत अरुचि हो वा ग्रह नमिलेको, थाहा छैन । तर मलाई कुकुरसँग कहिल्यै मित्रता भएन । बरु गाउँमा बालखैमा एउटा कुकुरले नाडीमा मुख गाडेदेखि झनै अगुल्टाले हिर्काउँदा बिजुली चम्किँदा तर्सिने कुकुरजस्तो भएको थिएँ म ।

सन् २०१२ मा रोजगारीका सिलसिलामा बेइजिङ आउँदासम्म मेरो कुकुरप्रतिको भय यथावत् थियो । छोराछोरी वा नातिनातिनाभन्दा बढी त चिनियाँ बुढाबुढीका साथमा कुकुरहरू देखिने । कतिपयलाई त घरज्वाइँ बनाएर पालेकोजस्तो । आवास नजिकै एउटा पहाडी थुम्को थियो, त्यहाँ ‘मर्निङ वाक’ जाँदा जहिल्यै एउटा डर हुन्थ्यो कि मालिकका पछि पछि लागिरहेको कुकुरले कथंचित् झम्टिहाल्यो भने के गर्ने ? त्यसैले जब कुकुरको छेउमा पुगिन्थ्यो, म बढेको सासलाई बिस्तारै फेर्दै, संयमताका साथ पार गर्थें अनि पुनः कुद्न सुरु गर्थें । मेरो यो नाटक देखेर अरू विदेशी साथीहरू चाहिँ ‘डरपोक’ को बिल्ला भिराइदिन्थे । भाषा पनि थिएन, कुकुरलाई के भनेर बोलाउने ? फेरि कुकुरले अभद्र व्यवहार गर्‍यो भने के भनेर गुनासो गर्ने ?

कालान्तरमा एक चिनियाँसँग मित्रता भयो । उनकै संगतले म चिनियाँका घरभित्र छिर्न थालें । उनकी घरबेटी आमाकी एक युवती छोरी छन् । उनका श्रीमान् मध्यपूर्वमा चिनियाँ व्यवसायीले खोलेको कारखानामा मजदुरी गर्छन् । जवान छोरी बिहान उठेदेखि मध्यरातिसम्म कता जान्थिन्, घरमा देखापर्ने भनेको औंसीपूर्णेमा मात्रै । खासमा घर वा आमासँग नाता थिएनजस्तो । त्यसैकारण बुढीको कोठा फोहोर र भद्रगोल देखिन्थ्यो भने स्वास्थ्य वा केही समस्या पर्‍यो भने अस्पताल एक्लै जान्थिन् । त्यो उनको आफ्नै घर हो । सायद ढिलो जन्माएको सन्तान हुन्, त्यसैले ‘एज ग्याप’ ठूलो देखिन्छ । आमाको चिन्ता एउटै थियो, छोरीको विवाह गराइदिनू ।

यसअघि उनकी छोरी ‘लिभिङ टुगेदर’मा थिइन् । केटासाथीको घरमा बस्न गएकी । यहाँ उमेर पुगेका केटाकेटी सँगै बस्नु सामान्य हो । अभिभावकले समर्थन नै गर्छन् र उनीहरू केही समय सँगै बस्छन् । मन मिलेमा वा जीवन कटाउन सकिन्छ भन्ने लागेमा वैवाहिक बन्धनमा बाँधिन्छन्, नत्र आ–आफ्नो बाटो लाग्छन् । केटाको आमालाई केटीको बानीव्यवहार मन परिरहेको थिएन । एकपटक भान्सामा कुरै कुरामा उनले हप्काइन्, ‘खाना पकाउने ढंग छैन । त्यसमाथि बाङ्गो खुट्टा हिँड्छे, अलच्छिनी ।’

यो वचनपछि उनी खाँदाखाँदैको भाग छोडेर रुँदैरुँदै बाहिरिइन् । सडकबाट अलि पर पुगेर फर्की हेर्दासम्म केटा रोक्न आएको देखिएन । त्यसपछि उनले केटासाथीले माया नगर्ने निर्क्योल गरेर सदाका लागि त्यो घर छोडिन् । उनी सुँक्कसुँक्क गर्दै आफ्नी आमाकोमा फर्किइन् ।

कैयौं वर्ष बितिसकेका थिए । अर्को केटा भेटिएको थिएन । उनी चाहन्थिन्, म प्रायः उनको घरमा आइराखूँ तर म उनको कुकुरदेखि डर लागेको बताउँथेँ । एकपटक छोरीको विवाहका लागि उनले प्रस्ताव गरिन् । ‘घर दिन्छु, यहीँ बस्नू, मेरी छोरीसँग विवाह गर ।’ म शाकाहारी भएकाले चिनियाँ जीवनप्रति तादात्म्यता देखिरहेको थिइनँ । एक दिन उनले आफ्नो चिनेको साथीको इन्स्टिच्युटमा ‘पार्ट टाइम’ अंग्रेजी शिक्षकका लागि कुरा गरिदिन भनेर लिएर गइन् । उनका साथीसँग कुराकानी भयो । कोठामा अलग्गै राखेर उनले भने, ‘टु बी अनेष्ट, अहिले कुनै शिक्षक चाहिएको छैन । चाहिएछ भने म खबर गरूँला, वीच्याट जोडिराखौं ।’

यो प्रयास चाहिँ हाम्रो निकटता बढोस् भन्नका खातिर मेरो साथी र घरपेटी आमैको चालबाजी थियो कि जस्तो लाग्छ । तथापि धन्यवादस्वरूप मैले तिनलाई भवनको भुइँतलामा चिया खुवाउन लगें । उनले मन लागेको अर्डर गरिन् । मैले त शाकाहारी भएकाले त्यस्तै दूध वा चिया खाने बताएँ । मलाई भाषिक समस्या भएकाले उनै हर्ताकर्ता भइन्, संयोगवश उनैले पैसा तिरिन् । मलाई अप्ठ्यारो लाग्यो । मैले सोधें, ‘के तिमी नेपाल जान चाहन्छौ ?’ उनले घुम्न मात्रै विदेश जाने र त्यो पनि ‘सपिङ’का लागि मात्रै भनिन् ।

बुढीआमाको प्रस्तावलाई मैले अस्वीकार गरिसकेको थिएँ । तर आउजाउ भइरहेकाले उनले त्यस्तो अप्ठ्यारो वातावरण बनाइनन् । दिउँसोपख जान्थें, बुढी चुरोट तानेर वा टिभी घन्काएर बसिरहेकी हुन्थिन् । सामानहरू असरल्ल हुन्थे । ‘निअर’ चाहिँ ढोकामा पुग्नेबित्तिकै स्वागत गर्न टुप्लुक्कै आउन थालेको थियो । सायद त्यसको संगतले होला, म अब कुकुरदेखि डराउन छोडिसकेको थिएँ ।

पार्कमा डुलाउन ल्याउनेहरूसँग निरन्तरको देखादेखपछि हल्का अदब, मुस्कान साटासाट हुन थालिसकेको थियो । कुकुरहरूदेखि म जति डराउँथेँ, तिनीहरू पनि मान्छे जत्तिकै मिजासिला हुँदा रहेछन् । मात्रै बोल्न सक्दैनन् । उनीहरू विनाकारण आइलाग्दैनन् भन्ने लाग्यो ।

सडक, पार्कमा बुढाबुढीहरू एउटा, दुईटा कुकुर अगाडि पछाडि लगाएर हिँडिरहेका हुन्थे । मानौं, तिनै कुकुर जीवनको सहारा हुन् । नातिनातिना वा बालबच्चा हुन् । उनीहरू कुकुरसँग कुरा गर्दै हिँडिरहेका हुन्थे । कुनै कुनैले चकचक गर्थे, उनीहरू कुकुरलाई पनि बच्चालाई सम्झाएजस्तो वा हप्काएजस्तो गर्थे । फेरि भन्नेबित्तिकै तिनीहरू फर्किएर मालिकनेर आउँथे । अचम्मको पारिवारिक दृश्य देखिन्छ । बरु मान्छेका बच्चाहरू एकातिर बोलाउँदा अटेर गरी अर्कोतिर जान्थे तर कुकुरजस्तो ज्ञानी लाग्दैनथे ।

कुकुरलाई सिंगारपटार गरेर घुमाउन लैजानु बेइजिङका बुढाबुढीको दिनचर्याजस्तो लाग्थ्यो । कति राम्रो लुगा सिलाइदिएका हुन्थे, जुत्ता पनि । अझ कुकुर्नीलाई त सुन्दरी बनाएर डुलाउने । बाटोमा आची गरिदियो भने टिस्यु पेपर लिएर टिप्ने र नजिकको डस्टबिनमा व्यवस्थित गरिदिने । स्ट्रोलरमा राखेर डुलाउन जाने, काखमा च्यापेर हिँड्ने, दिनहरू उसैको रेखदेखमा गुजार्ने । कतिपय विदेशीको नजरमा कुकुरका लागि चिनियाँले अनावश्यक खर्च गरेका छन्, हजारौँ आरएमबी कुकुरका लागि खर्च हुन्छ भने ती कुकुर कति भाग्यमानी ?

मेरी चिनियाँ साथी स्याउ लीले भनिन्, ‘कुकुरमाथि धेरै लगानी गर्नु धनी चिनियाँहरूको सौख हो । हामी १ सयको सर्ट पनि लगाउन सक्छौं वा ५ सयको पनि लगाउन सक्छौँ । कति खर्च गर्ने ? मानिसको खर्च क्षमता, रहर, छनोट इत्यादिमा भर पर्छ ।’

एक सन्तान नीतिका कारण धेरै चिनियाँ नयाँ पुस्ता पैतृक सम्पत्ति पुस्तान्तरण भएर धनी भए । साथमा चीन आफैँमा समृद्धिउन्मुख मुलुक हो । स्वतन्त्र र विलासी जीवन वा राम्रो आम्दानीका लागि नयाँ पुस्ता विदेश वा देशकै कुनै सहरी क्षेत्र रोजेर गयो । बुढाबुढी त एक्लै भएपछि उनीहरूको साथी भन्नु नै घरपालुवा कुकुर भए । कुकुर मायालु जनावर भएकाले खल्ती वा झोलामा बोकेर डुल्ने कतिपयको सौख भयो । एकपटक एकजना रेडियो सहकर्मीले कार्यकक्षमा सानो कुकुर झोलामा हालेर ल्याइन् । आफ्नो बिदा भएकाले उनी कतै जाँदै थिइन्, केही सामान लिन वा भेट्न भनेर १२औं तलास्थित कार्यकक्षमा उक्लिएकी थिइन् । उनले झोलाबाट कुकुर फुत्त निकालेर अर्की सहकर्मीलाई देखाइन् । टाउको निकालेपछि कुकुरले एक आवाज भुक्यो तर उनले ‘चुप् चुप्’ भन्दै झोलाभित्र हुलिन् ।

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै सन्तानझैँ माया गर्छन् । जीवनको सहारा ठान्छन् । कुकुरको मृत्युमा शोक मनाउँछन् । एकताका चिनियाँहरूले कुकुरको मासु खाने गरेको भन्दै विश्वका मानिसहरूले आलोचना गर्थे । भियतनाम नजिक पर्ने क्वाङ्सी क्षेत्रमा कुनै बेला कुकुरको मासु मेला लाग्थ्यो । तीव्र आलोचनापछि अहिले यो प्रथा हटेको छ । चिनियाँहरूले स्वयंले यस्तो प्रथाको विरोध गरेर निमिट्यान्न गरिछोडे । चिनियाँले कुकुरलाई माया गर्दैनन् भन्ने टिप्पणी अब बेकार हो । बरु उनीहरूले कुकुरलाई मान्छेभन्दा बढी संस्कारवान् र मायालु सन्तानको रूपमा हुर्काइरहेको आभास हुन्छ ।

सन् २०२० को प्रारम्भदेखि नै कोरोना महामारीले विश्व आक्रान्त भयो । मेरा मित्र पनि त्यहाँबाट डेरा सरेर बाह्य प्रान्त गए । ती बुढीआमासँगको सम्पर्क टुट्यो । काम पनि त थिएन, तिनकोमा जानलाई । झन्डै २ वर्षदेखि भेट नभइरहेका बेला एक दिन खाना खाएर साँझको पैदल यात्राका क्रममा साथीसँग हिँड्दै थिएँ, एउटा अद्भूत चीज खुट्टामा लट्पटियो । मेरो त हंसले ठाउँ छोड्यो । हेर्छु त, निअर थियो । बुढी परबाट ‘पर्खी, पर्खी’ भन्दै भुत्भुताउँदै आउँदै रहिछन् । यति लामो समयपछि पनि निअरले मलाई चिन्यो, माया देखायो, पुच्छर हल्लायो, लडीबुडी गर्‍यो । अगाडिको गल्लीबाट हामी छुट्टिनु थियो, बुढीले घाँटीमा डोरी लगाएर बल गरी गरी तान्दै लगिन्, ‘अट्टेरी’ भनेर झपार्दै थिइन् ।

एक झलक विदाइको नजरले हेर्दै निअर पनि ओझेल पर्‍यो । बुढीले खासै ‘घरमा आउनू’ पनि भनिनन्, उनकी छोरीले पनि बिर्सिसकिन् होला । तर लामो अन्तरालमा पनि कुकुरले याद गर्‍यो र मायालु पाराले अँगालिन आइपुग्यो । नेपालमा जस्तो कुकुरलाई पूजा गर्ने कुनै तिहार त छैन चीनमा, तर कुकुरप्रतिको प्रेम भने अपार देखिन्छ । अचेल कुकुरप्रतिको मेरो दृष्टिकोण पनि बदलिन थालेको छ ।

लक्ष्मी बेइजिङमा बस्ने लम्साल पत्रकार हुन् । उनको गैरआख्यान पुस्तक ‘नि हाउ ! नमस्ते !’ प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै फाल्नुपर्‍यो ।’ आफ्नै घरखर्चबाट सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन् अनिकेतले।  उनी …

#कुकुर
Compare →
Hamro Patro News
3d ago
चीनको कच्चा तेल आयात मार्चयताकै उच्च

चीनको कच्चा तेल आयात मार्चयताकै उच्च

काठमाडौं– इरानमाथिको युद्धका कारण मध्यपूर्वबाट तेल आपूर्तिमा अवरोध उत्पन्न भए पनि चीनले अक्टोबरमा कच्चा तेल आयात बढाएको छ । सरकारी तथ्याङ्कअनुसार अक्टोबरमा चीनको कच्चा तेल आयात यस वर्षको मार्चयताकै...

#चीन
Compare →
Nagarik News
6h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#चीन
Compare →

Related Stories

World News
Build #2611