कृषिमै आत्मनिर्भर भएका उनले चार वर्षअघिदेखि तिहार र छठ पर्वलाई लक्षित गरेर व्यावसायिक सयपत्री फूल खेती गर्दै आएका छन् ।
सल्यान — जिल्लाको शारदा नगरपालिका–२ पटनेरीका कुमार हमाल उमेरले ५४ वर्षका भए । उनको मुख्य पेसा कृषि हो । कृषिमै आत्मनिर्भर भएका उनले चार वर्षअघिदेखि तिहार र छठ पर्वलाई लक्षित गरेर व्यावसायिक सयपत्री फूल खेती गर्दै आएका छन् । तिहार र छठ पर्व भित्रिएलगत्तै यतिबेला सयपत्री फूल टिप्न उनलाई भ्याइनभ्याई भएको छ । बजारमा माग बढेपछि किसान हमाललाई सयपत्री फूल टिप्न भ्याइनभ्याई भएको हो ।
फूलको माग ह्वात्तै बढेपछि उनी परिवारसहित बिहानदेखि बेलुकीसम्म बगैँचामै व्यस्त हुन थालेका छन् । किसान हमालले ४ रोपनी खेतीयोग्य जग्गामा खाद्यबाली लगाउन छाडी व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेका छन् । स्थानीयस्तरमा मात्र नभई उनले उत्पादन गरेका सयपत्री फूल नवलपरासीको बर्दघाट पठाउने गरेका छन् । सयपत्री फूल खेती गरेर उनले वार्षिक ३/४ लाख कमाउँदै आएका छन् ।
सल्यानमा सयपत्री फूल खेती गर्ने उनी एक्ला किसान हुन् । विगतमा जिल्लावासीले तिहारका लागि घरघरमै स्थानीय जातको सयपत्री फूल लगाउने गर्थे । पछिल्लो समयमा रोग तथा किराका कारण फूल मासिँदै गएका छन् । हमालले गरेको व्यावसायिक फूल खेतीले जिल्लावासीलाई राहत भएको छ ।
यो वर्षको तिहार सुरु भएको र विभिन्न कार्यक्रमका लागि किनेर लैजानेहरू आउन थालेपछि दैनिक १०/१५ किलो फूल बिक्री भइरहेको उनले जानकारी दिए । ‘केही दिनयता प्रतिकिलो ५ सयका दरले २५/३० हजारसम्मको फूल बिक्री गरिसकेको छु । धेरैले फोनमार्फत लक्ष्मीपूजा, म्हःपूजा, भाइटीकाका लागि अर्डर गरेका छन्,’ उनले भने, ‘गत वर्षसम्म नवलपरासीको बर्दघाटमा पठाउने गरेको थिएँ ।
स्थानीयस्तरबाट माग बढेकाले यसपालि जिल्लामै बिक्री गर्ने योजना बनाएको छु । भारतबाट नेपालमा तिहारको समयमा सयपत्री फूल भित्रिएको समाचार सुन्दै आएको र पछिल्लो समयमा सरकारले प्लास्टिकजन्य फूल बिक्रीमा रोक लगाएपछि सुरुवातमा चार वर्षअघि परीक्षणका लागि फूल खेती गरेको थिएँ । पहिलो वर्ष त्यति धेरै बिक्री भएन । प्रचारप्रसार भएपछि अहिले फूल किन्न मानिसहरू आइरहेका छन् । राम्रै बिक्री भइरहेको छ । अहिलेसम्म तिहार र छठ पर्वलाई लक्षित गरेर मात्र फूल खेती गरिरहेको छु । आउँदो वर्षदेखि बाह्रै महिना बिक्री गर्ने उद्देश्यले तयारी गरिरहेको छु ।’
फूल बिक्री गर्न अहिलेसम्म कतै जान नपरेको र स्थानीय तथा जिल्लाका विभिन्न स्थानका बासिन्दा घरमै आएर किनेर लैजाने गरेको उनले जानकारी दिए । व्यावसायिक फूल खेतीबाट धेरै रकम कमाउन नसके पनि मकै, गहुँ, तोरीभन्दा फाइदा भएको उनको भनाइ छ । व्यावसायिक फूल खेती गर्दा अहिलेसम्म एक पटक कृषि विकास कार्यालय सल्यानले बीउ खरिदका लागि अनुदान दिएको उनको भनाइ छ ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।