Trending
Prev Story
Next Story

विचार | विपदले पनि बढाउदै गरिबी

Ekantipur •
November 08, 2026 • 02:31 AM
1
1 reads 0 reactions

राष्ट्रिय योजना आयोगको तथ्यांकले विपद् प्रभावित क्षेत्रलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र रोजगारीको आवश्यकता रहेको देखाएको छ।

विचार | विपदले पनि बढाउदै गरिबी

राष्ट्रिय योजना आयोगको तथ्यांकले विपद् प्रभावित क्षेत्रलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र रोजगारीको आवश्यकता रहेको देखाएको छ।

काठमाडौँ — नेपालले विरासतमै प्राप्त गरेको समस्या हो– गरिबी । दशकौंदेखि नेपालको नकारात्मक तर बलियो पहिचानका रूपमा गरिबी अग्रपंक्तिमा रहिआएको छ । राज्यको नीतिगत प्रयत्न र परिवार तथा व्यक्तिको अग्रसरताले समयक्रममा गरिबीको दर घट्दै गएको त छ, तर उल्लेखनीय सुधार भने हुन सकेको छैन । गरिबी न्यूनीकरणमा धेरै पक्षले अवरोध गरिरहेको पाइन्छ । १० भदौमा आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पालिकाको गरिबी २.७ प्रतिशत बिन्दुले बढेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनले देखाएको छ । यो तथ्यांक विपद् प्रभावित पालिकाको मात्रै हो, तर नेपालमा गरिबी उल्लेखनीय रूपमा घट्न नसक्नुमा विपद् बलियो कारण हो भन्ने पुष्टि गर्न भने यसले सघाउँछ । भोटेकोशी विपद्लाई नै सन्दर्भमा लिँदा नेपालले विपद्को पूर्वतयारीलाई दीर्घकालीन योजनाका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । त्यस्तै, विपद्पछि बढेको गरिबीलाई अझै बढ्न नदिन र प्रभावितलाई गरिबीबाट मुक्त गर्नका लागि भने उनीहरूको पुनःस्थापना र आर्थिक उत्थानशीलताको कार्यक्रम लागू गर्नुपर्छ ।

भोटेकोशी विपद्लाई नै सन्दर्भमा लिँदा नेपालले विपद्को पूर्वतयारीलाई दीर्घकालीन योजनाका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । त्यस्तै, विपद्पछि बढेको गरिबीलाई अझै बढ्न नदिन र प्रभावितलाई गरिबीबाट मुक्त गर्नका लागि भने उनीहरूको पुनःस्थापना र आर्थिक उत्थानशीलताको कार्यक्रम लागू गर्नुपर्छ । नेपालमा गरिबी कायमै रहनुमा केही दीर्घकालीन र तत्कालीन विषय छन् । बहुसंख्यक मानिस परम्परागत कृषि पेसा अँगाल्छन् । कृषि स्वयं महँगो लागत र तुलनात्मक रूपमा कम प्रतिफलको क्षेत्र भएको छ । देशभित्र उद्योगधन्दा फस्टाउन सकेको छैन, पूर्वाधार निर्माणको काम पनि सुस्त हुने गरेको छ, आयोजना वर्षौंसम्म पूरा हुँदैनन् । त्यसले गर्दा रोजगारको अवसर अत्यन्तै न्यून छ । व्यवसाय/उद्यमशीलताका लागि लगानी गर्ने वातावरण उत्साहजनक छैन । उत्पादन, रोजगारी तथा व्यवसाय जस्ता क्षेत्रमा सकारात्मक परिस्थिति नहुँदा मानिसलाई गरिबीबाट मुक्त हुन कठिन छ । अर्कोतर्फ, सामाजिक सुरक्षाका सन्दर्भमा राज्यको बलियो उपस्थिति छैन । सरकारबाट घोषणा भएका कतिपय कार्यक्रम प्रभावकारी छैन, कतिपय असफल छन् । शिक्षा तथा स्वास्थ्यमै ठूलो रकम खर्च हुने गरेको छ । उपचारमा हुने व्यक्तिगत खर्चका कारण बर्सेनि ६ लाख हाराहारी मानिस गरिबीतर्फ धकेलिने गरेका छन् । त्यस्तै, भ्रष्टाचार, अपारदर्शिता, कुशासन, ढिलासुस्ती जस्ता कारणले पनि गरिबी बढाउन भूमिका खेलेको छ ।

नेपालमा समयक्रममा ह्वात्तै गरिबी बढाउन विपद् तथा महामारीले पनि भूमिका खेल्ने गरेको छ । जस्तो कि, १२ वैशाख २०७२ मा आएको भूकम्पले देशभर करिब सात लाख मानिस गरिबीको रेखामुनि धकेलिएका थिए । त्यस्तै, २०७६ को अन्त्यतिर सुरु भएको कोभिड महामारीका कारण नेपालमा करिब १२ लाख मानिस गरिबीको रेखामुनि धकेलिएका थिए । त्यतिबेला अनुमानित १६ लाखले रोजगारी गुमाएको पनि राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको थियो । नेपालमा मधेश, सुदूरपश्चिम तथा कर्णाली जस्ता प्रदेशमा तुलनात्मक रूपमा गरिबी बढी छ । त्यस्ता क्षेत्रमा निम्तिने विपद् तथा महामारीले गरिबी थप बढाउन भूमिका खेल्ने गरेका छन् । खासगरी सरकारले लामो प्रयत्नबाट र परिवार तथा व्यक्तिले विभिन्न संयोग र अग्रसरताबाट जसोतसो गरिबीको रेखा पार गरेका हुन्छन्, उनीहरूसँग बचत कम हुन सक्छ । त्यहीबेला निम्तिने सानातिना धक्काले नै उनीहरूलाई गरिबीको रेखामुनि धकेलिदिन सक्छ । कतिपय अवस्थामा त महँगी बढेर वा कृषि उत्पादनमा ह्रास आउँदा पनि गरिबी बढ्न सक्छ ।

पछिल्ला तीन दशकमा नेपालमा उल्लेखनीय रूपमा गरिबी घटेको छ । सन् १९९५/९६ मा ४१.७६ प्रतिशत रहेको नेपालको गरिबी २०२२/२३ मा २०.२७ प्रतिशतमा झरेको तथ्यांक छ । यसका लागि राज्यले शिक्षा तथा स्वास्थ्यमा बढाएको लगानी, बढ्दो सहरीकरण र त्यससँगै बढ्दो अवसर, विश्वव्यापीकरणसँगै बढेको पहुँच, आर्थिक उपार्जनका लागि नयाँ–नयाँ क्षेत्रको विकास, सामाजिक सुरक्षाका कार्यक्रम, वैदेशिक रोजगारी जस्ता कारणले भूमिका खेलेका छन् । तर यी नियमित र दीर्घकालीन विषय हुन् । यतिबेलाको मूल प्रसंग भोटेकोशी बाढी वा त्यस्ता विपद्को सम्भावना बढ्दै गएको र त्यसले गरिबी दर पनि ह्वात्तै बढाउने गरेको यथार्थसँग सम्बन्धित छ । विपद्का बेलामा मानिसले आफ्नो सर्वस्व गुमाउन सक्छन् । परिवारका सदस्य, घरजग्गा, व्यवसाय जस्ता सबै पक्ष गुम्न सक्छन् । त्यसले सम्पन्न मानिस पनि एकै पटक गरिब बन्न सक्छ । साथै, गरिबीबाट उकासिनका लागि उसका व्यक्तिगत तथा पारिवारिक पहल मात्रै पर्याप्त नहुन सक्छन् ।

मुलुकमा आर्थिक अवसर जति बढी भयो, मानिसको आर्थिक सामर्थ्य पनि उति नै बढ्छ । त्यसले गरिबीतर्फ धकेलिने सम्भावना कम हुन्छ नै, गरिबी न्यूनीकरणका लागि तत्कालै पहलकदमी लिन सक्ने सम्भावना पनि बढ्छ । विपद्को हकमा भने त्यसको क्षति कमै मात्र पर्न सक्ने परिस्थिति निर्माण गर्नुपर्छ । विपद् पहिलाको तयारीमै ध्यान दिनुपर्छ । विपद्का सम्भावित क्षेत्रको पहिचान गर्दै मानवीय उपस्थिति र गतिविधि कम गर्दै लैजाँदा त्यसको क्षति पनि कम हुन्छ । त्यसैले बसोबासदेखि पूर्वाधार निर्माणसम्मका क्षेत्र तय गर्दा राज्यले गम्भीर अध्ययन गर्न जरुरी छ । विपद् प्रतिरोधी संरचना खासगरी भूकम्प प्रतिरोधी निजी तथा सार्वजनिक संरचना बनाउँदा जनधनको क्षति कम हुन सक्छ । विपद्का बेलामा राहत तथा उद्धारलाई प्राथमिकता दिनुपर्छ । विपद्बाट बाँचेकाहरूको अस्थायी र स्थायी पुनःस्थापना गरिनुपर्छ । उनीहरूलाई पहिलेकै स्थितिमा फर्काउन तीनै तहका सरकारले रणनीतिक कार्यक्रम कार्यान्वयन गर्नुपर्छ, निजी क्षेत्रले प्रभावितलाई रोजगारी र उद्यमशीलतासँग जोड्नुपर्छ । जलवायु परिवर्तनको असरस्वरूप निम्तिएका विपद्पछि आउने अन्तर्राष्ट्रिय वित्तलाई पनि उत्थानशीलतासँग जोड्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
विपद्‌बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता

विपद्‌बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता

काठमाडौं । भोटेकोसी तथा कालीगण्डकी करिडोरमा आएको विपद्‌बाट प्रभावित २६९ बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको पाइएको छ । सरकारले गरेको विस्तृत अध्ययनका क्रममा बाबुआमा दुवै गुमाएका वा सम्पर्कव...

#प्रभावित #विपद्
Compare →
Nagarik News
1w ago
म्याग्दीमा मनसुनजन्य विपद्‍बाट सात सय ८९ घरपरिवार प्रभावित

म्याग्दीमा मनसुनजन्य विपद्‍बाट सात सय ८९ घरपरिवार प्रभावित

म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्‍बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन्।

#प्रभावित #विपद्
Compare →

Related Stories

Opinion & Editorial
Build #2611