अनुसन्धानमा प्रहरी कुकुरको माग यति बढ्न थालेको छ कि प्रत्येक जघन्य प्रकृतिका अपराधमा कुकुरलाई घटनास्थलमा लैजाने गरिएको छ, कुकुर परिचालन नगरे विरोध नै हुन्छ
काठमाडौँ — १० भदौमा गएको भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये करिब १५ सय जनाको शव भेटियो, ५ हजारभन्दा बढी सम्पर्कविहीन भए । हराएका प्रियजनको खोजीका लागि आफन्तले काठमाडौंका अस्पतालमा फोटोसहित नामावली टाँसे, रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्र पनि पुगे ।
प्रहरीले चाहिँ बेपत्ताको खोजीमा दक्ष कर्मचारीसँगै तालिमप्राप्त कुकुरको सहयोग लियो । नेपाल प्रहरी केनाइन कार्यालयबाट खटिएको खोज तथा उद्धारमा पोख्त कुकुरहरूमध्ये ‘लियो’ एउटा थियो, जसले २० दिनसम्म निरन्तर प्रभावित क्षेत्रमा मानसिको खोजी गर्यो । प्रहरीलाई उद्धार कार्यमा सहयोग गर्यो ।
ल्याब्रोडोर रिट्रिभर जातको यो भाले कुकुरले नुवाकोटका विभिन्न स्थानबाट २ वटा शव, एउटा मानव कंकाल र शरीरका थुप्रै स–साना अंग फेला पार्यो । ‘मानिसको मृत्यु भएपछि शरीरबाट निस्किने जैविक पदार्थबाट आउने गन्ध पहिचान गरेर कुकुरले शव फेला पार्ने गर्छ,’ नेपाल प्रहरीको केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक (एसपी) रामचन्द्र सत्यालले भने, ‘लियोले पनि विपद्मा मानव खोजी तथा उद्धारमा उत्कृष्ट कार्यसम्पादन गर्दै आफूलाई रेस्क्यु अपरेसनको महत्त्वपूर्ण सदस्यका रूपमा उभ्याएको छ ।’
लियोले त्यही सेवाका कारण यसपालि कुकुर तिहारमा उत्कृष्ट प्रहरी कुकुरको अवार्ड पाउँदै छ । आइतबार उसले प्रहरीको अपराध अनुसन्धान विभागका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम रानाको हातबाट मेडल पाउनेछ ।
निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीले कुकुर प्रयोग नगरेको भन्दै आलोचना भएपछि गम्भीर प्रकृतिका घटनामा प्रहरी कुकुरको माग बढ्न थालेको छ । नेपाल प्रहरीसँग हाल लियो जस्ता १ सय ७ वटा तालिमप्राप्त कुकुर छन् । ती कुकुरलाई प्रहरीले चार विषयमा तालिम दिएर दक्ष बनाएको छ । अपराध अनुसन्धानका लागि ट्र्याकर, हातहतियार तथा विस्फोटक पदार्थ खोजी र पहिचान, लागूऔषध खोजी तथा पहिचान र खोज तथा उद्धारमा खटिने गरी कुकुरहरूलाई तयार पारिएको एसपी सत्याल बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि लागूऔषध र विस्फोटक पदार्थ जाँचका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । प्रत्येक प्रदेशमा समेत बेग्लाबेग्लै केनाइन युनिट छन् । ‘कुकुरलाई सीमा नाकामा समेत जाँचका लागि परिचालन गरिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्, ‘विशेष सुरक्षा योजना लागू भएका बेला र भीआईपी सुरक्षामा समेत उनीहरूलाई परिचालन गर्ने गरिन्छ ।’ प्रहरीसँग रहेका कुकुरमध्ये कतिपयलाई नेपालमै लिएर तालिम दिइएको हो भने केही भारत, अमेरिका, थाइल्यान्डलगायतका मुलुकबाट ल्याइएका छन् ।
प्रवक्ता काफ्लेका अनुसार प्रहरीको कुकुर अपराध अनुसन्धानमा समेत अब्बल साबित हुँदै आएका छन् । १० कात्तिक २०८२ मा बाराको गहागढीमाई नगरपालिकाका भोला सहनी हत्या प्रकरणको अनुसन्धान त्यसको एउटा उदाहरण हो । एक दिनअघिबाट हराइरहेका सहनीको शव भोलिपल्ट घरबाट ३ सय मिटर दूरीमा रहेको पोखरी छेउमा भेटियो । घटना शंकास्पद लागेपछि प्रहरीले तालिमप्राप्त कुकुर खटायो । त्यसक्रममा घटनास्थलमा भेटिएको कालो रङको हुडी सुँघाएर छाड्दा प्रहरीको कुकुर २ किलोमिटर उत्तर–पश्चिममा पुग्यो । अनुसन्धान अधिकारीहरूका अनुसार, स्थानीय सुबोध रामको घरमा कुकुर पुगेर अड्किएको थियो । पछि प्रमाणसमेतका आधारमा अनुसन्धान अधिकृतहरूले उनैलाई हत्या आरोपमा पक्राउ गरे ।
केनाइन कार्यालयका प्रहरी अधिकारीहरूका अनुसार, कुकुरलाई उनीहरूको जातका आधारमा फरकफरक तालिम दिने गरिन्छ । ‘ल्याब्रोडर जातका कुकुरलाई हातहतियार तथा विस्फोटक पदार्थ पहिचान तथा खोजीका लागि तालिम दिइन्छ, तिनीहरू त्यसका लागि सहज हुन्छन्,’ प्रहरीका एक डग ह्यान्डलरले भने, ‘जर्मन सेफर्डले चारवटै विधामा काम गर्न सक्छ । त्यसैले हामी त्यसलाई अलराउन्डर डग पनि भन्छौं ।’
अहिले अनुसन्धानमा प्रहरी कुकुरको माग यति बढ्न थालेको छ कि प्रत्येक जघन्य प्रकृतिका अपराधमा कुकुरलाई घटनास्थलमा लैजाने गरिएको छ । ‘हाम्रो छालाबाट मृतकोषिकाहरू हरेक मिनेट झरिरहेका हुन्छन्, तिनको गन्धका आधारमा तालिमप्राप्त कुकुर अपराधीसम्म पुग्ने हो,’ एसपी सत्याल भन्छन् ।
१० साउन २०७५ मा कञ्चनपुरमा मृत भेटिएकी निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले कुकुर प्रयोग नगरेको भनेर आलोचना भएको थियो । स्थानीयले प्रहरीको नियतमाथि समेत प्रश्न उठाएका थिए, त्यसपछि अधिकांश गम्भीर प्रकृतिको घटनामा प्रहरी कुकुरको माग बढेको छ ।
जघन्य प्रकृतिको अपराध अनुसन्धानमा खटिने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृत भन्छन्, ‘खासमा कुकुरले पानी परिरहेको, घटनास्थलमा धेरै मानिस प्रवेश गरिसकेको, बाटो अन्त्य भएर खोला सुरु भएको स्थान लगायतका वातावरणमा काम नगर्न सक्छ, त्यसैले अवस्थाअनुसार परिचालन गर्नुपर्ने हुन्छ ।’ निर्मला पन्तको हत्या प्रकरणमा पनि घटनास्थलमा पहिल्यै अरू मानिस प्रवेश गरिसकेकाले कुकुर प्रयोग नगरिएको ती अधिकृतको भनाइ छ ।
केनाइन कार्यालयका अधिकारीहरूका अनुसार कुकुर परिचालनका लागि सबैभन्दा उपयुक्त समय अपराध भएको २४ घण्टाभित्रको अवधिलाई मानिन्छ । त्यसपछि शतप्रतिशत परिणाम आउन नसक्ने अनुसन्धान अधिकारीहरूको भनाइ छ । तर अहिले गम्भीर प्रकृतिको जुनसुकै घटनामा कुकुर परिचालन नगरे विरोध हुने अवस्था रहेको सीआईबीका ती अधिकृतले बताए । ‘त्यसले कुकुरप्रति मानिसको भरोसालाई पनि दर्शाउँछ,’ उनले थपे ।
प्रहरीको केनाइन कार्यालयमा कुकुरको नियमित स्वास्थ्य जाँचदेखि अभ्याससम्म गराउने गरिन्छ । हरेक बिहान खोरबाट निकालेर दिसापिसाब, त्यसपछि व्यायाम र मसाज गराइन्छ, अनुसन्धानको अभ्याससमेत हरेक दिने हुने गर्छ । प्रहरीले परेड गर्दा कुकुरले अभ्यास गर्छ ।
प्रहरी सेवामा कुकुरलाई प्रवेश गराउन निश्चित मापदण्ड बनाइएको छ । कार्यनिर्देशनमा उल्लेख भएअनुसार, सुँघ्ने उच्च क्षमता भएका उच्च नश्लका कुकुरलाई प्राथमिकता दिने भनिएको छ । ३ महिनादेखि १२ महिनासम्मको कुकुर हुनुपर्ने भनिएको छ । त्यो उमेरमा तालिम दिन सहज हुने प्रहरी कुकुरका ह्यान्डलरहरूको भनाइ छ । कसैले सहयोगस्वरूप दिने वा खरिद गर्ने कुकुरको सुरुमा चिकित्सकबाट निरोगिताको प्रमाणपत्र लिने गरिन्छ । त्यसपछि कुकुरको रगत परीक्षण र एक्सरेसमेत हुन्छ । त्यसपछि उमेरअनुसार सम्पूर्ण खोज तथा जुकाविरुद्धको औषधि दिएर मात्र तालिममा प्रवेश गराइन्छ । यसरी तयार पारिने कुकुरको रासनका लागि पशुपन्छी आहार (रासन) निकासा व्यवस्था समिति नै छ ।
प्रहरी सेवामा लामो समय काम गरिसकेपछि ड्युटीमा परिचालन गर्न नसकिने अवस्था आए अवकाशका लागि निर्णय गर्न ‘निष्क्रिय प्रहरी कुकुर व्यवस्थापन समिति’ बनाइएको छ । कुकुरको कार्यक्षमता परीक्षण बोर्डले सञ्चालन गरेको कार्यक्षमता परीक्षणमा अनुत्तीर्ण भए कुकुरलाई अवकाश दिने गरिन्छ । प्रहरी कार्यमा प्रयोग गर्न नसकिने भए पनि घरेलु प्रयोजनका लागि वितरण गर्न नसकिने भएकाले उनीहरूका लागि स्वीकारकर्ता खोज्दै सूचनासमेत जारी गरिन्छ । त्यसपछि नगदमा वा निःशुल्क वितरण गरिन्छ । प्रहरीले १७ कात्तिकमा मात्रै सेवाबाट अवकाश पाएको ल्याब्रोडोर जातको बेनी कुकुरलाई ३ वर्ष ४ महिनाको उमेरमा प्रहरी नायब निरीक्षक अमिता खनाललाई दिएको छ । त्यसबापत उनले ५ हजार रुपैयाँ तिरेकी छन् । ८ वर्ष २ महिनाको जर्मन सेफर्ड जातको कुकुर प्रहरी सहायक निरीक्षक डेबिड दुलाललाई निःशुल्क दिइएको छ ।
नेपाल प्रहरीले २०२६ सालमा ४ प्रहरी अधिकारीलाई तालिमका लागि मलेसिया पठाएर कुकुर शाखा सुरु गरेको थियो । त्यसबेला ती चार प्रहरीसँगै चार वटा कुकुरसमेत ल्याइएको थियो । त्यसपछि नै नेपालमा अपराध अनुसन्धानमा कुकुर प्रयोग गर्न थालिएको थियो ।
गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।