Trending
Prev Story
Next Story

मानिस–कुकुरको आदिम प्रेम

Ekantipur •
November 08, 2026 • 02:01 AM
1
1 reads 0 reactions

मानिससँगै लामो इतिहास बाँचेको कुकुरको स्थान घरको पहरेदार वा सिकारको साथीमा मात्र सीमित छैन । प्राचीन सभ्यताका धार्मिक ग्रन्थ, मिथक र मृत्युसंस्कारमा समेत कुकुरप्रतिको विश्वास र सम्मानका अनेक रूप भेटिन्छन् ।

मानिस–कुकुरको आदिम प्रेम

मानिससँगै लामो इतिहास बाँचेको कुकुरको स्थान घरको पहरेदार वा सिकारको साथीमा मात्र सीमित छैन । प्राचीन सभ्यताका धार्मिक ग्रन्थ, मिथक र मृत्युसंस्कारमा समेत कुकुरप्रतिको विश्वास र सम्मानका अनेक रूप भेटिन्छन् ।

काठमाडौँ — मानिसले कुकुरलाई कहिले आफ्नो साथी बनायो होला ? यसको उत्तर हजारौं वर्ष पुराना हड्डी र डीएनएमा मात्र होइन, प्राचीन सभ्यताका धार्मिक ग्रन्थ, मिथक र मृत्युसंस्कारमा पनि खोज्न सकिन्छ । तर, कुकुरसँग मानिसको सम्बन्ध धार्मिक ग्रन्थमा लेखिनुभन्दा धेरै पुरानो हो । अध्येताहरूका अनुसार हजारौं वर्षदेखि कायम रहेको यही सहयात्राले कालान्तरमा धार्मिक आस्था, पौराणिक कथा र सांस्कृतिक परम्परामा समेत स्थान पाउँदै गयो । कतै कुकुर देवताको वाहन बन्यो, कतै मृत्युपछिको यात्राको मार्गदर्शक ।

खासमा मानिसले खेती गर्न सिक्नुभन्दा, स्थायी बस्ती बसाउनुभन्दा र आधुनिक सभ्यताको विकास गर्नुभन्दा धेरै अघिदेखि कुकुरसँग सहयात्रा सुरु गरेको थियो । सन् २०२६ मार्चमा नेचर जर्नलमा प्रकाशित एक अध्ययनले घरपालुवा कुकुरको अहिलेसम्मकै पुरानो आनुवंशिक प्रमाण पहिचान गरेको छ । अनुसन्धानकर्ताहरूले टर्कीको पिनारबासीमा भेटिएको १५ हजार ८ सय वर्ष पुरानो र बेलायतको गफ्स केभमा भेटिएको १४ हजार ३ सय वर्ष पुरानो अवशेषको प्राचीन डीएनए परीक्षण गरेका थिए । त्यसपछि जर्मनी, इटाली र स्विट्जरल्यान्डका विभिन्न पुरातात्त्विक स्थलमा भेटिएका अवशेषको पनि आनुवंशिक अध्ययन गरियो । नतिजाले करिब १४ हजार ३ सय वर्षअघि नै युरोप र अनातोलिया (आजको टर्की आसपासको क्षेत्र) का विभिन्न भागमा कुकुर फैलिसकेको देखाएको छ ।

धार्मिक ग्रन्धहरूमा लेखिनुभन्दा धेरै पहिले नै कुकुरको महत्त्व स्थापित भइसकेको थियो, लगभग सबैजसो धर्ममा कुकुर–मानिस सम्बन्धका कथा छन् । कुकुरसँगको सम्बन्ध र महत्त्व हिन्दु धर्मसँग मात्रै सीमित छैन । – सुरेश ढकाल, मानवशास्त्री अझ रोचक कुरा त हजारौं किलोमिटर टाढा भेटिएका ती कुकुर आनुवंशिक रूपमा एकअर्कासँग निकै मिल्दाजुल्दा थिए । उनीहरू फरक सांस्कृतिक समूहसँग सम्बन्धित मानव समुदायसँगै रहेका थिए । यसले प्राचीन मानव समूहबीचको आवागमन र अन्तरक्रियासँगै कुकुर पनि एक ठाउँबाट अर्को ठाउँमा फैलिएको हुन सक्ने संकेत गर्छ । वैज्ञानिकहरूका अनुसार मानिसको पहिलो संगतमा परेको जनावर थियो, कुकुर । पछिल्लो हिमयुगका क्रममा २० हजारदेखि ४० हजार वर्षअघि ब्वाँसो पुर्खाबाट छुट्टिएर कुकुरको विकास भएको मानिन्छ ।

यसरी मानिस पाषाण युगमै रहँदा कुकुरसँगको निकट सम्बन्ध सुरु भइसकेको थियो । त्यतिबेला मानिस खेतीपातीमा लागेको थिएन । ऊ सिकार गर्ने र जंगली फलफूल तथा कन्दमूल संकलन गरेर जीवन चलाउँथ्यो ।

कुकुर र ब्वाँसोका प्रारम्भिक हड्डीको बनावट लगभग उस्तै थियो । त्यसैले कुन अवशेष कुकुरको हो र कुन ब्वाँसोको हो भनेर छुट्याउन कठिन हुन्थ्यो । तर डीएनए परीक्षणले उनीहरूबीचको आनुवंशिक भिन्नता पहिचान गर्न सम्भव बनायो । करिब १५ हजार वर्षअघिका अवशेषमा यस्तो भिन्नता स्पष्ट देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

ब्वाँसो कसरी मानिसको साथी बन्यो भन्नेबारे भने वैज्ञानिकहरूको एउटै निष्कर्ष छैन । एउटा सम्भावित व्याख्याअनुसार मानिसले फालेका खानेकुरा खान ब्वाँसोका केही समूह बस्तीवरिपरि आउन थाले । मानिसको उपस्थितिसँग अभ्यस्त हुँदै गएपछि उनीहरूका केही समूह मानिससँग नजिकिए । पुस्तौंसम्मको सहअस्तित्वले मानिससँग घनिष्ठ बन्दै गए ।

मानवशास्त्री सुरेश ढकालका अनुसार कुकुर मानिससँग पहिलेदेखि नै बफादार प्राणी हो । त्यही भएर पनि मानिसले सिकार खेल्नका लागि कुकुरलाई महत्त्वपूर्ण साथी बनाएको भन्छन् उनी । ‘कुकुर–मानिसबीच सम्बन्ध स्थापित हुनुपर्ने एउटा कारणचाहिँ एकअर्काप्रति खतरा भएन, स्रोतमा प्रतिस्पर्धा भएन, खानेकुरा पनि फरक खालको भयो,’ उनी भन्छन् ।

कुकुर र मानिसबीचको सम्बन्ध खानाको खोजी वा सुरक्षामा मात्र सीमित थिएन । प्राचीन मानिसले कुकुरलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएको प्रमाण उनीहरूका अवशेषबाट पनि भेटिन्छ । पिनारबासीमा भेटिएका मानिस र कुकुरका हड्डीमा रहेका रासायनिक तत्त्वको अध्ययन गर्दा त्यहाँका मानिसले कुकुरलाई माछा खुवाउने गरेको हुन सक्ने देखिएको छ । मानिसले पनि माछा नै खाने गर्थे । यसले कुकुरले मानिससँगै एउटै खाद्य स्रोत प्रयोग गर्ने गरेको संकेत गर्छ ।

अध्ययनले हिमयुगको अन्त्यतिर युरोपका विभिन्न मानव समुदायबीच पनि सम्बन्ध रहेको संकेत गरेको छ । त्यसबेला पश्चिम युरोपमा म्याग्डालेनियन र इटालीबाट पूर्वी तथा मध्य युरोपतिर फैलिएको एपिग्राभेटियन संस्कृति अस्तित्वमा थिए । टर्कीमा भने अनातोलियन सिकारी तथा संकलक समुदाय थिए । यी समुदायसँग सम्बन्धित स्थलमा भेटिएका कुकुरको आनुवंशिक समानताले मानिस र कुकुर दुवैको आवागमन तथा आदानप्रदान भएको हुन सक्ने देखाउँछ ।

मिथकभन्दा पुरानो मानिस–कुकुर सम्बन्ध कुकुरको सम्बन्ध मानिसको जीवनसँग मात्र होइन, मृत्युपछिको यात्रासँग पनि जोडिएको छ । यसको एउटा पुरानो धार्मिक सन्दर्भ ऋग्वेदमा भेटिन्छ ।

ऋग्वेदको १० औं मण्डलको १४ औं सूक्तमा यमराजका दुई कुकुरको चर्चा छ । उनीहरूलाई सरमाका सन्तान अर्थात् ‘सारमेय’ भनिएको छ । चार आँखा भएका र शबल (छिर्केमिर्के रङका) ती कुकुरलाई मृतकले परलोकको यात्रा गर्दा बाटोका पहरेदारका रूपमा चित्रण गरिएको छ । अर्को मन्त्रमा यमले मृतकलाई तिनै कुकुरको जिम्मा लगाऊन् भन्ने प्रार्थना गरिएको छ । त्यसपछिको मन्त्रमा उनीहरूलाई यमका दूत भनिएको छ, जो मानिसहरूबीच घुमिरहन्छन् ।

नेपालमा कुकुर तिहारमा कुकुरलाई यमराजको दूतका रूपमा पूजा र सम्मान गर्ने मान्यतालाई यस वैदिक परम्परासँग जोडेर व्याख्या गरिन्छ । यस दिन कुकुरलाई माला लगाउने, टीका लगाउने र मिठा खानेकुरा खुवाउने चलन छ ।

कुकुरको धार्मिक महत्त्व यमराजसँग मात्र सीमित छैन । हिन्दु धार्मिक परम्परामा कुकुरलाई भगवान् शिवको उग्र रूप मानिने भैरवसँग पनि जोडेर हेरिन्छ । कतिपय परम्परामा कुकुरलाई भैरवको वाहनका रूपमा पूजा गरिन्छ । यसको पुरातात्त्विक उदाहरण भारतको ओडिसास्थित कोणार्क पुरातात्त्विक संग्रहालयमा रहेको बटुक भैरवको मूर्तिमा देख्न सकिन्छ । भारत सरकारको राष्ट्रिय स्मारक तथा पुरातात्त्विक वस्तु मिसनको अभिलेखअनुसार १३ औं, १४ औं शताब्दीको उक्त मूर्तिमा बटुक भैरव कुकुरमाथि सवार रहेको देखाइएको छ ।

मानवशास्त्री सुरेश ढकाल कुकुरसँगको आफ्नो प्राचीन सम्बन्धलाई मानिसले मिथकमा उल्लेख गर्दै गएको बताउँछन् । उनका अनुसार कुकुरसँग मानिसको सम्बन्ध धेरै पुरानो हो, जसलाई धार्मिक–पौराणिक ग्रन्थहरूमा पछि कथा–प्रसंगअनुसार जोड्दै लगियो । ‘धार्मिक ग्रन्धहरूमा लेखिनुभन्दा धेरै पहिले नै कुकुरको महत्त्व स्थापित भइसकेको थियो, प्राचीन सम्बन्ध भएकाले पछि मिथकहरूमा पनि कुकुरलाई महत्त्व दिन थालियो,’ उनी भन्छन्, ‘आदिवासीहरूका मिथकमा कुकुरको प्रसंग आइरहन्छ । लगभग सबैजसो धर्ममा कुकुर–मानिस सम्बन्धका कथा छन् । तर, कुकुरसँगको सम्बन्ध र महत्त्व हिन्दु धर्मसँगको मात्रै पनि होइन ।’

ढकालले भनेजस्तै कुकुरप्रतिको प्रेम–आस्था हिन्दु परम्परामा मात्र सीमित छैन । हजारौं वर्षदेखि संसारका विभिन्न सभ्यताले कुकुरलाई आफ्ना धार्मिक विश्वास, मिथक र मृत्युसंस्कारसँग जोड्दै आएका छन् । कतै ऊ देवताको वाहन बनेको छ, कतै मृतात्मालाई परलोकको बाटो देखाउने साथी । कतै रोग निको पार्ने देवीको पवित्र जनावर त कतै मृत शरीरको शुद्धीकरणसँग जोडिएको छ ।

अहिलेको इराक आसपासको प्राचीन मेसोपोटामियामा गुला उपचारकी देवी थिइन् । कुकुरलाई उनको पवित्र जनावर मानिन्थ्यो । देवीका मन्दिरमा कुकुरका मूर्ति चढाइन्थे । इसिन (हालको इराक) स्थित गुलाको मन्दिरनजिकै ३३ वटा कुकुरका चिहान भेटिएका थिए । प्राचीन इरानी जरथुस्त्र धर्ममा कुकुरलाई पवित्र र सम्मानयोग्य जनावर मानिन्थ्यो । सग्दिद नामक मृत्युसंस्कारमा मृत शरीरलाई कुकुरले हेर्नुपर्ने परम्परा थियो । कुकुरको दृष्टिले मृत्युसँग सम्बन्धित अशुद्ध शक्ति हटाउन मद्दत गर्छ भन्ने धार्मिक विश्वास थियो ।

मृत्युपछिको यात्रामा कुकुरलाई सहयात्री मान्ने विश्वास पनि विभिन्न सभ्यतामा पाइन्छ । प्राचीन इजिप्टमा मृत्युसँग सम्बन्धित देवता अनुबिसलाई कुकुर वा स्यालजस्तो टाउको भएको स्वरूपमा चित्रण गरिन्थ्यो । राजपरिवारदेखि सामान्य परिवारसम्मले कुकुर पाल्थे । मृत्यु भएपछि परिवारले मानिसको जस्तै शोक मनाउँथे । कतिपय परिवारले मृत कुकुरको शरीरलाई ममी बनाएर पारिवारिक चिहानमा गाड्थे । एज्टेक सभ्यतामा जोलोटल नामका देवता कुकुरसँग सम्बन्धित थिए । मृतकको आत्मालाई परलोकको यात्रा पार गराउन कुकुरले साथ दिन्छ भन्ने विश्वास थियो । केही समुदायमा मृतकसँगै कुकुर गाड्ने चलन पनि थियो ।

प्राचीन ग्रीक मिथकमा सर्बेरस नामको तीनटाउके कुकुरले मृत्युलोकको पहरा दिन्थ्यो । हेकाटे नामकी देवी पनि कुकुरसँग सम्बन्धित थिइन् । उनलाई रात, जादु र मृत्युलोकसँग जोडेर हेरिन्थ्यो । प्राचीन ग्रीक समाजमा कुकुरलाई जीवित संसार र मृत्युलोकबीचको सम्बन्ध जोड्ने प्राणीका रूपमा समेत विश्वास गरिन्थ्यो ।

भिन्न भूगोल, भाषा र सभ्यतामा हुर्किएका मानिसले कुकुरलाई जीवन र मृत्युसँग जोडिएका आफ्ना विश्वासमा विशेष स्थान दिएका छन् । कतै ऊ रक्षक हो, कतै मार्गदर्शक, कतै पवित्र जनावर । कुकुरलाई सबै ठाउँमा देवताकै रूपमा पूजा गरिएको थिएन, तर मानिसको धार्मिक र सांस्कृतिक कल्पनामा उसले असाधारण स्थान पाएको थियो । अहिले पनि कुकुर मानिसको सच्चा र बफादार साथी बनेको छ ।

फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5d ago
प्रधानमन्त्रीपत्नी सबिनाको कुकुरप्रेम : नारायणचौरमा विशेष कार्यक्रम (तस्बिरमा हेर्नुस्)

प्रधानमन्त्रीपत्नी सबिनाको कुकुरप्रेम : नारायणचौरमा विशेष कार्यक्रम (तस्बिरमा हेर्नुस्)

प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।

#कुकुर #प्रेम
Compare →
Hamro Patro News
5d ago
कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ? संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै स...

#कुकुर #प्रेम
Compare →
Onlinekhabar
3d ago
पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै फाल्नुपर्‍यो ।’ आफ्नै घरखर्चबाट सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन् अनिकेतले।  उनी …

#कुकुर
Compare →
Bizshala
5d ago
कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

काठमाण्डौ । आज कात्तिक २२ गते कुकुर तिहार। घरको आँगनदेखि टोलका गल्लीसम्म कुकुरलाई टीका लगाइदिने, सयपत्रीको माला...

#कुकुर
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#कुकुर
Compare →

Related Stories

World News
Build #2611