कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार बसेको बैठकले आगामी छ दिनभित्र तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो।
काठमाडौँ — नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका बस्तीको अवस्था बुझ्न पार्टीको टोली परिचालन गर्ने भएको छ।
कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार बसेको बैठकले आगामी छ दिनभित्र तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो।
बैठकले बाढी प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
१० भदौमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको अवस्थाबारे बैठकमा जानकारी लिइएको थियो। बाढीबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति कांग्रेस संवेदनशील र प्रतिबद्ध रहेको जनाउँदै पार्टीले प्रभावित नागरिकको जीवन सहज बनाउने, पुनःस्थापना सुनिश्चित गर्ने र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा प्रभावित नागरिकलाई आवश्यक सहयोग, सहकार्य र सहजीकरणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन पार्टी प्रतिबद्ध रहेको उल्लेख छ।
कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।