Trending
Prev Story
Next Story

धनतेरस : घरघरमा सुनचाँदी, तामा र काँसका भाँडाकुँडा

Ekantipur •
November 06, 2026 • 11:31 AM
1
1 reads 0 reactions

धनतेरसका दिन लक्ष्मीको मूर्ति, करुवा, चरेसका भाँडा, पानस, पूजाको थाली, टीकादानी, गाग्री तथा तामाका नयाँ सामग्री किनेर लक्ष्मीपूजा गर्ने चलन छ ।

धनतेरस : घरघरमा सुनचाँदी, तामा र काँसका भाँडाकुँडा

धनतेरसका दिन लक्ष्मीको मूर्ति, करुवा, चरेसका भाँडा, पानस, पूजाको थाली, टीकादानी, गाग्री तथा तामाका नयाँ सामग्री किनेर लक्ष्मीपूजा गर्ने चलन छ ।

काठमाडौँ — धनत्रयोदशी अर्थात् धनतेरस । यस दिन तामाका कलशदेखि काँसका विभिन्न नयाँ भाँडाकुँडा किनेर लक्ष्मीपूजा गर्ने चलन छ । पछिल्लो समय सक्नेले सुनचाँदीका सामान किन्ने क्रम पनि बढ्दो छ । तिहार नजिकिएसँगै काठमाडौंको न्युरोड र असन क्षेत्र तथा ललितपुरको लगनखेलका भाँडा पसलमा मंगलबारदेखि नै ग्राहकको चहलपहल सुरु भइसकेको छ ।

काठमाडौंको इन्द्रचोकस्थित ‘इन्द्रचोक ब्रास सेन्टर’ मा हालै कान्तिपुरकर्मी पुग्दा सञ्चालक सञ्जय रायमाझी र विष्णु नेपाल चरेस तथा तामाका भाँडाकुँडा सजाउन र ग्राहक बोलाउन व्यस्त थिए । तिहार नजिकिएसँगै किनमेल गर्नेहरूको भीड बढ्न थालेको उनीहरू बताउँछन् । ग्राहकको चहलपहल बढे पनि विगतका वर्षहरूको तुलनामा व्यापार घटेको व्यापारी नेपालले बताए ।

‘बजारमा भीड त्यति धेरै छ । तर सामान किनिहालौँ न त भन्ने मान्छे अहिले कम छन्,’ उनले भने, ‘सायद महँगीले पनि होला । सामानको मूल्य पोहोरको भन्दा दोब्बर नै भएको छ । त्यसैले पनि होला, सामानको मूल्य सुनेर फर्कने धेरै छन् । सामान हेरेर किनिहालौँ भन्ने ग्राहक कम छन् । ’

असनका व्यापारीहरूको भनाइ पनि त्यस्तै छ । भाँडा पसलमा ग्राहकको भीड देखिए पनि कारोबार सुस्त रहेको उनी बताउँछन् । ग्राहकहरू सामान हेर्न र मूल्य बुझ्न आइरहे पनि मूल्य सुनेपछि त्यत्तिकै फर्कने गरेको भाँडा व्यवसायीहरू बताउँछन् ।

मूल्य बढेकाले बिक्री कम हुने देखेर थोरै सामान ल्याएको इन्द्रचोक ब्रास सेन्टरका नेपालले जनाए । ‘पहिलाका वर्षहरूमा तिहारकै लागि भनेर एक करोड रुपैयाँसम्मको सामान पसलमा ल्याउने गरेका थियौँ,’ उनले भने, ‘तर अहिले भने हरेक सामानको मूल्य बढेको भएर हामीले पनि लगानी गर्न सक्ने अवस्था छैन । त्यसैले सोचेर, बुझेर माग र बजारको अवस्था हेरेर कम सामान झारेका छौँ ।’

धनतेरसमा लक्ष्मीको मूर्ति, करुवा, चरेसका भाँडा, पानस, पूजाको थाली, टीकादानी, गाग्री तथा तामाका सामग्री किन्ने चलन छ । यसकारण तिहारका बेला यी सामग्रीको व्यापार बढी हुने गर्छ । ग्राहकले पनि यही बेला आफूले किन्न चाहेको सामान अर्डर गर्ने र उक्त दिन किनेका गरगहना तथा भाँडाकुँडालाई लक्ष्मीपूजामा पुज्ने गर्छन् । तर, यो वर्ष व्यापार उत्साहजनक नरहेको व्यवसायी बताउँछन् ।

‘धनतेरस आउन दस दिनअगाडिबाट नै विभिन्न सामान अर्डर हुन्थ्यो । यो वर्ष त्यस्तो चहलपहल छैन,’ नेपालले भने, ‘अझै पनि राम्रै व्यापार होला भन्ने आशा छ ।’ धनतेरसमा विभिन्न भगवान्का मूर्तिमध्ये लक्ष्मी भगवान्को मूर्ति सबैभन्दा धेरै बिक्री हुने गरेको उनी सुनाउँछन् । ‘सबैभन्दा धेरै मूर्ति र पानस बिक्री हुन्छ । ताउला, गाग्री र चरेसको थाल पनि जान्छ,’ उनले भने ।

व्यवसायी राजाराम कार्की असनको ‘मामा भाँडा पसल’ बाहिर ग्राहक कुरिरहेका थिए । विगत ३० वर्षदेखि भाँडाको व्यापार गर्दै आएका उनले पनि यो वर्ष खासै व्यापार नभएको बताए ।

‘भाँडा बेच्न थालेको ३० वर्षभन्दा बढी भयो,’ उनले भने, ‘पोहोरसम्म पनि तिहारका बेला ग्राहकले पसल भरिन्थ्यो । अहिले त दिनमा दुई–तीन जना ग्राहक पनि मुस्किलले आउँछन् । ’

बजारमा खासै चहलपहल नभएकाले आफूले पनि यो वर्ष सामान कम झारेको उनी सुनाउँछन् । ‘सबै सामान महँगो छ । अहिले अनलाइन व्यापारले गर्दा पनि पसलको व्यापार कम भएको हो कि भन्ने लाग्छ,’ उनले भने, ‘बजारमा मान्छेको चहलपहल पनि छैन । अलिअलि सामान झारे पनि पहिलाको जसरी ल्याएनौँ । स्टक रह्यो भने फेरि त्यही सामान बेच्न अर्को वर्षको तिहार कुर्नुपर्छ । त्यसैले कम सामान ल्याएका छौँ ।’ इरान युद्धका कारण सामानको मूल्य बढेकाले आफूहरूलाई समस्या परेको उनले बताए ।

इन्द्रचोकस्थित भाँडा पसल ‘आकाश जिमा ब्रास ट्रेडर्स’ का एक कर्मचारीले भने दसैंमा राम्रो व्यापार नभए पनि तिहार नजिकिएसँगै ग्राहक बढेको बताए ।

‘दसैंसम्म खासै राम्रो व्यापार थिएन । १२ कात्तिकपछि भने ग्राहकको संख्या बढेको छ,’ उनले भने, ‘अरू बेलाभन्दा तिहारमा सामानको बिक्री बढेको छ । धनतेरस र लक्ष्मीपूजाका लागि लक्ष्मीको मूर्ति, करुवा, चरेसका भाँडा, पानस, पूजाको थाली, टीकादानी, गाग्री र तामाका अन्य भाँडाहरू खोज्दै धेरै ग्राहक आउँछन् । ’

विगत १२ वर्षदेखि सुनचाँदी पसल सञ्चालन गर्दै आएका सुदीप सुनार पनि तिहारका बेला ग्राहक बढेको सुनाउँछन् । ‘अहिले थोरै भए पनि मूल्य घटेर हो कि, धनतेरसमा नकिनी नहुने भएर हो, सुनका सिक्कादेखि विभिन्न सामानको अर्डर आएको छ । चाँदीका सिक्का, गणेश र लक्ष्मीका मूर्तिको पनि अर्डर आएका छन्,’ उनले भने ।

सुदीप पनि दसैंताका नभए पनि तिहारमा राम्रो कारोबार हुने आशामा रहेको बताउँछन् । ‘दसैंको समयमा त सुन, चाँदी केहीको पनि राम्रो व्यापार भएन । दसैंको तुलनामा तिहार नजिकिँदै गर्दा ठीकै अर्डर आएको छ,’ उनले भने, ‘अघिल्लो वर्ष त निकै राम्रो व्यापार भएको थियो । यो वर्ष दसैंमा त हुँदै भएन भन्दा पनि हुन्छ । तिहार आउँदै गर्दा केही सुधार देखिएको छ । ’

व्यवसायीहरूले भनेजस्तै महँगीका कारण ग्राहकहरूले स–साना तामा तथा काँसका भाँडाकुँडा किन्ने गरेका छन् । उनीहरू मन्दिर तथा पूजाआजाका लागि चाहिने थाली, कलश, घण्टी, दियोलगायत सामग्री किन्ने गर्छन् ।

भक्तपुरकी सिर्जना श्रेष्ठले महँगो भए पनि हरेक वर्ष नयाँ सामान किन्ने भएकाले यसपालि घण्टी मात्र किनेको बताइन् । ‘पोहोर हेरेर महँगो भएछ । सधैँ लक्ष्मीपुजाका लागि नयाँ सामान लिने भएकाले किन्नै पर्छ, त्यसैले यसपालि घण्टी मात्र किनेँ । घरमा भएको पनि अलि पुरानो भएको थियो,’ उनले भनिन् । सामानको मूल्य बढ्दै जाँदा ठूलाभन्दा स–साना सामान मात्रै किन्ने गरेको उनी बताउँछिन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

काठमाडौं– धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना र धातुका भाँडाकुँडा खरिद गरिरहेका छन् । धनतेरसमा नयाँ धातुका सामान खरिद गर्नु शुभ मानिने धार्मिक तथा सांस्क...

#सुनचाँदी #धनतेरस #भाँडाकुँडा
Compare →
Nagarik News
1w ago
धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

#सुनचाँदी #धनतेरस
Compare →
Bizshala
4d ago
सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १०० डलरमाथि फर्किएको छ। चाँदीले पनि ५३ डलर नाघेको छ। तर सोमबारको...

#सुनचाँदी
Compare →
Arthasansar
1w ago
तिहार पर्व आजदेखि सुरु, धनतेरस मनाइदै

तिहार पर्व आजदेखि सुरु, धनतेरस मनाइदै

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक...

#धनतेरस
Compare →

Related Stories

Business & Economy
Build #2612