नेपाल पुनर्बिमाको सेयर १५ प्रतिशतसम्म बढ्दा हिमालयन रि पनि उक्लियो, तर पछिल्लो वित्तीय अवस्था अस्पष्ट हुँदा उत्साह टिकेन।
काठमाडौँ — केही वर्षअघिसम्म नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको सेयरमा हकप्रदको कारण आकर्षण थियो ।
लामो समय यही कारण यी कम्पनीको सेयर मूल्य एक हजारमाथि टिकिरह्यो । पछिल्लो समय भने यी सेयर सो तहभन्दा निकै कममा कारोबार भइरहेका छन् ।
केही वर्षदेखि नै पुनर्बिमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा २० अर्ब कायम गर्ने निर्णय बीमा प्राधिकरणले गरेको थियो । तर, सरकारकै लगानी रहेको नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्ने विषयमा सरकार सकारात्मक नभएपछि प्राधिकरणले यी कम्पनीलाई पुँजी पुर्याउन आफैँले दिएको समयसीमा बेवास्ता गर्न थाल्यो ।
कुनै न कुनै समय हकप्रद आइहाल्छ नि भन्ने अपेक्षा लगानीकर्ताहरूमा रहँदा यी कम्पनीप्रति आकर्षण कायमै थियो । तर, यी कम्पनीको वित्तीय अवस्था खराब बन्दै गयो । यसले सेयर मूल्य पनि ओरालो लाग्ने क्रममा गयो ।
गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल पुनर्बिमा कम्पनीमा हकप्रद सेयरमा लगानी गर्ने निर्णय गरेपछि भने फेरि पनि लगानीकर्ताहरूको आकर्षण देखियो ।
फलस्वरूप, यस्तो निर्णय भएको दोस्रो दिन बुधबार नै नेपाल पुनर्बिमाको सेयर मूल्य १५ प्रतिशतसम्म बढेर सर्किट ब्रेक लाग्यो । बुधबार यसको सेयर ९ सय २१ रुपैयाँमा कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि मूल्य बुधबार ११.४८ प्रतिशतले बढेर ५ सय ३४ रुपैयाँ पुग्यो ।
कम्पनीको पछिल्लो अवस्था नै अज्ञात भएकोले पनि यो सुधार टिक्न नसकेको हो । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासपछि वित्तीय विवरण नै प्रकाशित गरेको छैन ।
अर्थात्, लगानीकर्तालाई विगत ६ महिनायता नेपाल पुनर्बिमा कम्पनीमा केही सुधार भएको छ कि छैन भन्ने नै थाहा छैन । जबकि कम्पनीहरूले हरेक त्रैमास (आर्थिक वर्षको तीन–तीन महिना) को अवधिमा वित्तीय विवरण प्रकाशित गर्नुपर्छ ।
नेपाल पुनर्बिमा कम्पनी २०८२/८३ को तेस्रो त्रैमासमा पनि ५ अर्ब ८४ करोड रुपैयाँ नोक्सानमा छ । यसले आर्थिक वर्ष २०७९/८० पछि सेयरधनीलाई लाभांशसमेत दिन सकेको छैन । सोभन्दा अघिको वर्ष ५ प्रतिशत लाभांश दिएको थियो ।
हाल नेपाल पुनर्बिमामा नेपाल सरकारको ४४.०४ प्रतिशत सेयर स्वामित्व छ । सर्वसाधारणको १६ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको ७.२५ प्रतिशत सेयर छ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनीलगायत विभिन्न बिमा कम्पनीको सेयर लगानी छ ।
हाल १३ अर्ब ४२ करोड पुँजी रहेको यसले बाँकी रकम हकप्रद सेयर जारी गरेर जुटाउनेछ । अर्को कम्पनी हिमालयन रिले भने आवधिक रूपमा वित्तीय विवरण जारी गरिरहेकै छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । आर्थिक वर्ष २०८२/८३ को पछिल्लो वित्तीय विवरणअनुसार हिमालयन २ अर्ब ३९ करोड रुपैयाँ नोक्सानमा छ ।
पछिल्लो समय भने यो कम्पनी समस्यामा छ । मुख्यगरी यो दुईवटा समस्याबाट गुज्रिरहेको छ। पहिलो, जेनजी आन्दोलनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बीमासम्बन्धी विवादमा पनि हिमालयन रि जोडिएको छ । दोस्रो, यसका सञ्चालक तथा पूर्वसीईओहरू कानुनी कारबाही प्रक्रियामा रहेका छन् ।
यही कारण पछिल्लो वित्तीय विवरण नआउँदासम्म लगानीकर्ताले यो कम्पनीमा पछिल्लो समय केकति सुधार आएको छ भनेर मूल्यांकन गर्न पाएका छैनन् । यही कारण पनि यी कम्पनीको मूल्य एक दिन उच्चले बढेर फेरि ओरालो लागेको हो ।
हिमालयन रि इन्स्योरेन्सको हाल १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पुँजी छ । यसले २० अर्ब रुपैयाँ पुँजी पुर्याउनुपर्ने अवस्थामा ९ अर्ब २४ करोड रुपैयाँ बराबरले पुँजी वृद्धि गर्नुपर्छ । पुँजी पुर्याउने यस्तो माध्यम हकप्रद सेयर हुन सक्छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।