Trending
Prev Story
Next Story

परदेशका पार्कमा भाइटीका, मनमनमा दाजुभाइ

Ekantipur •
November 06, 2026 • 02:31 AM
1
1 reads 0 reactions

कतै साथीभाइ र सहकर्मीबीच सामूहिक रूपमा टीका लगाउने तयारी छ त कतै भिडियो कलबाटै दाजुभाइलाई टीका लगाउनुपर्ने बाध्यता।

परदेशका पार्कमा भाइटीका, मनमनमा दाजुभाइ

कतै साथीभाइ र सहकर्मीबीच सामूहिक रूपमा टीका लगाउने तयारी छ त कतै भिडियो कलबाटै दाजुभाइलाई टीका लगाउनुपर्ने बाध्यता।

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत सिन्धुलीकी हरिमाया खत्रीले कात्तिक २५ गते बुधबार भाइटीकाको दिन आधा दिनपछि बिदा लिइसकेकी छन् । उनी फाइभ स्टार होटलमा सेफ छिन् । ‘मैले बिहानको ड्युटी गरेर दिउँसोबाट बिदामा बस्ने गरी सुपरभाइजरबाट अनुमति लिइसकेको छु,’ ७ वर्षदेखि त्यस रिसोर्टमा कार्यरत खत्रीले भनिन्, ‘दाजुभाइ यतै छन् । उनीहरूले पनि आधा दिनको बिदा लिइसकेका छन् ।’

उनीहरू दुबईको बरदुबईस्थित ‘नेपाली पार्क’ मा भेट्ने योजना बनाएका छन् । बरदुबईस्थित अल ऐन सेन्टर अगाडिको सानो खुला हरियाली पार्क छ । यसलाई ‘नेपाली पार्क’ का रूपमा चिनिन्छ । विशेष गरी बिदाको दिन दुबई र सारजाहका विभिन्न ठाउँबाट नेपालीहरू भेला हुन्छन् । गाउँठाउँका मान्छेसँग भलाकुसारी गर्न त कोही कामको अनुभव सुनाउन आउँछन् । मेट्रो, बस र अब्रा स्टेसन नजिकै भएकाले त्यहाँ पुग्न धेरै खर्च पनि लाग्दैनथ्यो । यो पार्क ‘दिउँसो साढे ३ देखि बेलुका ६ बजेसम्मका लागि सानो नेपाल हो । ‘गाउँका धेरै दाजुभाइ पनि छन् । धेरैले दिदी टीका लगाउनुपर्छ भनेका छन्,’ उनले भनिन्, ‘गत वर्ष पनि यसैगरी खुला पार्कमा टीका लगाउने अवसर प्राप्त भएको थियो । यो पटक पनि पूरा हुँदै छ ।’

वैदेशिक रोजगारीमा जाने महिलाका लागि यूएई पहिलो गन्तव्य हो । श्रम आप्रवासन प्रतिवेदनअनुसार पछिल्लो तीन वर्षमा मात्रै नयाँ श्रम स्वीकृति लिएर जाने नेपाली महिलाको संख्या ५२ हजार छ । ‘नेपालमा भए भाइटीकाका लागि आँगन सजाउँथे । दाजुभाइलाई घरमै बोलाउँथे,’ उनले भनिन्, ‘तर परदेशमा न घरको आँगन छ, न परिवारका सबै सदस्यसँगै छन् । त्यसैले बरदुबईको यो खुला ठाउँ नै भाइटीका मनाउने हाम्रो आँगन

बनेको छ ।’ उनले काठमाडौंबाटै मखमली र सयपत्रीको माला, बिमिरो मगाएकी छन् । ‘सोमबार एक जना भाइ दुबई आउँदै छन् । उसैले नै फूलको माला ल्याइदिन्छ,’ उनले भनिन्, ‘पहिलाभन्दा झन् यतै रमाइलो हुन थालेको छ ।’ दुबईसहित खाडी क्षेत्रमा भारतीय व्यापारीहरूको दबदबा छ । उनीहरू यो समयमा दिवाली मनाउँछन्, कार्यालयहरू सजाउँछन् । ‘खाडी उसै पनि रातको समयमा रातभरि चम्किन्छ । झन् तिहारको समयमा थप रौनक आउँछ,’ उनले भनिन् ।

दुबईको सारजाहमा कार्यरत गुल्मीका दुर्गा पन्थीले साथीहरू मिलेर सेलरोटी बनाउने योजना बनाएको बताइन् । ‘हामी एउटै क्याम्पमा सयौं दिदीबहिनी बस्छौं । कोठा साँघुरो हुन्छ । किचनमा पालो मिल्दैन । तैपनि एक दिनका लागि किचनमा सबै मिलेर सेलरोटी बनाउने योजना छ,’ उनले भनिन्, ‘हामी एक ठाउँमा भेला हुने योजना छ । कसैले घरबाट खानेकुरा ल्याउँछन्, कसैले टीका र माला जुटाउँछन् । परिवारसँग टाढा छौं । केही घण्टाका लागि भए पनि समुदायबीच चाड मनाउँछौं ।’

जापानमा रहेकी उमा श्रेष्ठ भाइटीकाको दिन सकेसम्म काममै व्यस्त हुन चाहन्छिन् । जापान पुगेदेखि उनले प्रत्यक्ष रूपमा दाजुभाइसँग भाइटीका लगाउन पाएकी छैनन् । घरमा हुँदा दाजुभाइसँग तास खेलेको, टीका लगाएको र दक्षिणा पाएको सम्झना आउँछ । त्यही सम्झनाले मन भारी हुने भएकाले उनी काममै

रमाउन खोज्छिन् । ‘भाइटीकाको दिन काममा व्यस्त भइयो भने चाडको सम्झनाले मन भावुक हुँदैन,’ उनको अनुभव छ । बेलायतमा रहेकी अम्बिका क्षेत्रीका लागि पनि तिहार उत्सवभन्दा बढी सम्झनाको दिन बनेको छ । उनका दाइ नेपालमै छन् । कामबाट बिदा मिल्दैन । त्यसैले उनी तिहारको दिन घरमा एक्लै हुन्छिन् । ‘दिनभर व्रत बस्छु । साँझ दियो बाल्छु र पूजा गर्छु,’ उनले भनिन्, ‘नेपालमा हुँदा दिदीबहिनी र दाजुभाइ भेला भएर मनाएको तिहार सम्झँदा घरको न्यास्रो लाग्छ ।’

प्रविधिको सहायताले परिवारसँगको दूरी घटाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘मोबाइलको स्क्रिनमा देखिने भाइको निधारमा आफ्नै हातले टीका लगाइदिएर चित्ता बुझाउनुपर्छ,’ उनले भनिन् । अस्ट्रेलियामा रहेकी रञ्जु कार्कीका दाजु पनि त्यही देशमा छन् । तर उनीहरू फरक राज्यमा बस्छन् । एकअर्कालाई भेट्न हवाईजहाजमा करिब दुई घण्टा यात्रा गर्नुपर्छ । ‘काम र समय मिलाउन पनि सजिलो छैन,’ उनले भनिन्, ‘एउटै देशमा रहेर पनि चाडमा भेट्न नसक्नु प्रवासमा हाम्रो बाध्यता छ ।’

साउदी अरबमा कार्यरत चितवनकी कुमारी थापाले तिहारमा सयपत्री र मखमलीको माला, सप्तरंगी टीका, ओखर र बिमिरालाई हातले नछोएसम्म तिहारको अनुभूति नहुने बताइन् । ‘जबसम्म यी सामग्री बजारमा देखिँदैन, तबसम्म तिहार नै लागेको फिल हुँदैन । साउदीमा यस्तो देखिँदैन,’ उनले भनिन्, ‘विदेशमा जे उपलब्ध हुन्छ, त्यसैबाट तिहार मनाउने हो ।’

कुवेतमा कार्यरत बुटवलकी हेमा शर्माले पूजा गर्ने सामग्री बिदामा आउँदा लिएर गएकी बताइन् । ‘नेपालमा जस्तो सबै सामान सहजै नपाइने भएकाले चाड आउनुअघि नै तयारी गर्नुपर्छ,’ उनले भनिन्, ‘बिमिरा र माला मात्रै आउन बाँकी छ । त्यो पनि भाइटीकाको अघिल्लो दिनसम्म आइपुग्छ ।’ क्रोएसियामा कार्यरत नुवाकोटकी रमा सिंखडाले आफूसँगै कार्यरत दाजुभाइलाई टीका लगाइदिने बताइन् । ‘हामीलाई यहाँ संरक्षण गर्ने यिनै दाजुभाइ हुन् । उनीहरूले टीका लगाइदिनुपर्छ भनेका छन्,’ उनले भनिन्, ‘हामी मिलेर टीका लगाउँछौं । खानेकुरा बनाउँछौं । लक्ष्मीपूजा गर्छौं ।’

बहराइनमा घरेलु श्रमिकका रूपमा कार्यरत धरानकी हीरा सुब्बाले आफूले चिनेका नेपाली भाइलाई टीका लगाइदिएर तिहार मनाउने गरेको बताइन् । ११ वर्षदेखि बहराइनमा कार्यरत सुब्बाले आफू भाइटीकाको दिन मात्रै बाहिर निस्कने गरेको बताइन् । ‘म खासै घरबाट निस्किने गरेको छैन । आफूले चिनजान भएकासँग फोनबाटै कुरा गर्ने हो,’ उनले भनिन्, ‘मेरो म्याडमले नै मन्मा बजार छोडिदिनुहुन्छ । त्यो दिन गाउँका ५ जना भाइहरू टीका लगाउने कुरा छ ।’

कतारमा कार्यरत महोत्तरीका उमेश खड्काले सनैयास्थित क्याम्पमा सामूहिक लक्ष्मीपूजा र देउसीभैलो खेल्ने योजना रहेको बताए ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ?

भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ?

काठमाडौं - तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार भाइटीका मनाइँदै छ । यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली, सयपत्री तथा ग...

#दाजुभाइ #टीका #भाइटी
Compare →
Onlinekhabar
2d ago
अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

क्यानबेरा । अस्ट्रेलियामा यसवर्षको भाइटीका नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै भाइटीका लगाउने क्रम सुरु भएको थियो । कतिपय परिवारले बिहानै शुभसाइतमा भाइटीका लगाए भने, काम र अन्य …

#दाजुभाइ #भाइटी
Compare →
Nagarik News
19h ago
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।

#पार्क
Compare →

Related Stories

Business & Economy
Build #2611