Trending
Prev Story
Next Story

म्हः पूजा अर्थात् आत्मदीपो भव

Ekantipur •
November 06, 2026 • 02:01 AM
1
1 reads 0 reactions

म्हः पूजाको विशेषता भनेको मण्डःमा राखिएको तेल नसुकेजस्तै आयु लामो होस्, ओखरजस्तै दीर्घायु होस्, ख्यलुइताः जस्तै जीवन लामो समयसम्म दीपमय भइरहोस् भन्ने कामनासहितको आत्मपूजन हो, नेवाः समुदायभित्र म्हः पूजा नगर्ने जाति पनि छन्।

म्हः पूजा अर्थात् आत्मदीपो भव

म्हः पूजाको विशेषता भनेको मण्डःमा राखिएको तेल नसुकेजस्तै आयु लामो होस्, ओखरजस्तै दीर्घायु होस्, ख्यलुइताः जस्तै जीवन लामो समयसम्म दीपमय भइरहोस् भन्ने कामनासहितको आत्मपूजन हो, नेवाः समुदायभित्र म्हः पूजा नगर्ने जाति पनि छन्।

काठमाडौँ — दीपावली, यमपञ्चक, स्वाँती (सोन्ति) अनेक नाम रहेको चाड हो, तिहार । हिन्दु धर्मावलम्बीको ठूलो चाड भनिए पनि यो पर्व अन्य धर्मावलम्बी र समुदायले पनि उत्तिकै हर्षसाथ मनाउने गर्छन् । हाम्रा अधिकतर चाडवाड प्रकृतिपरक छन् । ऋतुअनुसार तिहारको समय न जाडो, न गर्मीको समय हो । पारिलो घाममा लहलहाउँदा धानका बालाहरू झुलिरहेका खेत, सुनौला तोरी, सयपत्री, गोदावरी, मखमली, लालुपातेलगायतका फूलले रंगिएका बारीहरूका कारण तिहार प्राकृतिक रूपमै रंगीन मौसम हो ।

यो समय वर्षभरिमा सबैभन्दा बढी फूल फुल्ने समय मानिन्छ । फूलको बास्नाले सम्पूर्ण जगत् मगमगाउने हुनाले यसलाई नेवाः समुदायले स्वाँती (स्वाँ अर्थात् फूल र ती अर्थात् रस) भन्ने गरेको जनश्रुति छ । नेपालको हरेक सांस्कृतिक पर्वको पछाडि लोकोक्ति, किंवदन्ती जोडिएको पाइएजस्तै तिहारसँग पनि बलि राजाको पौराणिक कथा जोडिएको छ । वामन रूपधारी भगवान् विष्णुको तेस्रो कदम राख्न जमिन माग्दा राजा बलिले आफ्नो शिर नै थापेका थिए । बलिको दानपुण्यबाट अति प्रसन्न भएर भगवान् विष्णुले राजा बलिलाई कार्तिक शुक्ल त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तीनै लोकको राजा हुने वरदान दिए । यही पाँच दिन बलि राजाले तीनै लोकमा दीपावली गरेर खुसियाली मनाएको पौराणिक कथासँग दीपावली मनाउने प्रचलन सुरु भएको लोकोक्ति छ । त्यस्तै मृत्युका देवता यमराज र तिनकी बहिनी यमुनाका बीचको भ्रातृ प्रेमका कारणले पनि यो चाडको नाम यमपञ्चक रहन गएको मान्यता प्रसिद्ध रहेको छ ।

तिहारमा पहिलो दिनदेखि पाँचौं दिनसम्म हरेक दिन घरघरमा दीपमाला बालिन्छ । काठमाडौं उपत्यका लगायतका थुप्रै स्थानमा आश्विन शुक्ल पूर्णिमादेखि महिना दिनसम्म लामो बाँसमा बाँधेर घरघरमा आलु मतः अर्थात् आलोक दीप बाल्ने चलन छ । त्यसैले प्रकाशको सन्देशवाहक पर्वका रूपमा यसलाई दीपावली भन्ने गरिएको मान्यता पनि छ ।

यमपञ्चकको पहिलो दिन अर्थात् आश्विन कृष्ण त्रयोदशीमा यमको सन्देश वाहकका रूपमा लिइने कागको सर्वप्रथम पूजा गरिन्छ । त्यस्तै दोस्रो दिन अर्थात् आश्विन कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यमराजको सन्देश वाहक र बफादार द्वारपालका रूपमा कुकुरलाई पूजा गर्ने चलन छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । त्यसैले नरकबाट मुक्ति पाइन्छ भन्ने जनविश्वाससाथ यमराजका नाममा बत्ती बालेर चढाउने चलन पनि छ । काग, कुकुरलाई पूजा गर्नुको अर्थ हामीले यि प्राणीहरूबाट प्रमादी नहुने, चलाख हुने, आफन्तजनसँग मिलेर बाँडीचुँडी खाने र बस्ने, स्वामिभक्त हुने, सुरा हुने आदि गुण सिक्नुपर्छ भन्ने हो ।

यमपञ्चकको तेस्रो दिन अर्थात् कार्तिक कृष्ण औंसीमा गाईको पूजा गरिन्छ । हिन्दु शास्त्रहरूमा गाईलाई साक्षात लक्ष्मीको प्रतीक मानिन्छ । यही दिन घरघरमा रहेको भकारी, ढुकुटी, कन्तुरमा महालक्ष्मीको मूर्ति वा फोटो प्रतिस्थापन गरी फलफूल, नैवेद्य, मिठाई, मसला आदि चढाई लक्ष्मीको आराधना गरिन्छ । लक्ष्मीपूजाको दिन नयाँ भाँडा, सुन, चाँदी वा गहना किन्नुपर्छ भन्ने मान्यता पनि छ । लक्ष्मीको पूजालाई गृहलक्ष्मीको पूजाका रूपमा पनि लिइन्छ । यमपञ्चकको चौथो दिन गोवर्द्धन पूजा गरिन्छ । यो दिन नेवाः समुदायले भने नयाँ वर्षभरि आफ्नो शरीरमा रोगव्याधी नलागोस् भन्ने कामनासहित आत्मपूजा गरी विशेष रूपमा मनाउने गर्छन् ।

यमपञ्चकको चौथो दिन मनाइने म्हः पूजा (म्हः अर्थात् आत्म वा शरीर पूजा) नेवाः समुदायमा रहेको एक विशिष्ट संस्कृति हो । संस्कृतिविद् हरिराम जोशी भन्नुहुन्छ, ‘मन, प्राण तथा वाणीलाई प्राचीन मनीषीहरूले तीन प्रकारका ज्योति मानेका छन् । ज्योति तत्त्वको प्रतीकका रूपमा जीवन पूजा वा आत्मपूजा अथवा नेवारीमा म्हः पूजा गरिने परम्परा चलिआएको हो ।’

हरेक मनुष्यको अन्तस्तलमा वास्तविक ईश्वरको बास हुन्छ । यस यथार्थलाई बुझेर आफ्नो हृदयमा निहित परमात्मालाई पूजा गरे हरेक मनुष्यको कल्याण अवश्य हुनेछ भन्ने मान्यतालाई आत्मसात् गर्दै म्हः पूजा गर्ने परम्परा छ । त्यसैले भनिन्छ– ‘आत्मदीपो भव’ । पुराणहरूमा यसबारे उल्लेख भए पनि नेपालका नेवाः हरूले मात्रै आत्मपूजा गर्ने परम्परालाई धानिआएका छन् ।

यसै दिन नेवाः समुदायले न्हुं दाः अर्थात् नयाँ वर्ष, नेपाल संवत् सुरु हुन्छ । नयाँ वर्षको स्वागतमा उपत्यकाका तीनै सहरका साथै देशका विभिन्न भागमा भिन्तुना अर्थात् शुभकामना र्‍याली आयोजना गरिन्छ । र्‍यालीमा युवकयुवती, बूढाबूढी हर्सोल्लाससाथ बाजागाजासहित सहभागी हुने गर्छन् । विसं ९३७ मा नेपाल संवत् चलनमा आएको थियो ।

शंखधर साख्वाः नामका एक व्यक्तिले सारा जनताको ऋण मोचन गरेर राष्ट्रका नाममा नेपाल संवत्को प्रवर्तन गरेको लोकोक्ति रहिआएको छ । संस्कृतिविद् जोशीका अनुसार यो संवत् प्रवर्तन भएदेखि यहाँका जति पनि इतिहासका सामग्री छन्, तिनीहरूमा संवत्को प्रयोग गर्दा अधिकांशतः यही संवत् व्यवहृत भएको पाइएकोबाट पनि नेपाल संवत् नेपालीको आफ्नै संवत् रहेको प्रमाणित हुन्छ ।’

नेवाः समुदायमा यो दिन परिवारका सम्पूर्ण सदस्य उपस्थित भएर साँझ परिवारका सबै सदस्यका नाममा मण्डः (मण्डप) बनाई आ–आफ्नो शरीरको पूजा गरिन्छ । मण्डः परिवारका ज्येष्ठ सदस्यदेखि कनिष्ठ सदस्यसम्म लहरै बसाइन्छ । परिवारका कुनै सदस्य कारणवश अनुपस्थित भए मण्डः लाई नै प्रतीक मानेर उक्त सदस्यको म्हः पूजा गरिन्छ । मण्डः तयार गर्दा सर्वप्रथम नाङ्लो, कुचो, पानी भरिएको गाग्री, पाथी र सुकुन्दाका लागि मण्डः लेखिन्छ । पहिले लः मण्डः (पानी), चिकं मण्डः (तेल मण्डः) लेखिसकेर पोतायले मूल मण्ड बनाइन्छ ।

पोताय एक प्रकारको पहेंलो ढुंगाबाट बनेको धूलो हो । तर आजभोलि चामलको पिठोमा पहेंलो केसरी मिसाएर पनि यो बनाइन्छ । मण्डः बनाउनलाई कसै–कसैले भुई सिन्हः (सिम्रिक), ह्याउँ सिन्हः (अबिर) पनि प्रयोग गर्छन् भने नेवाः भित्रका केही जातिले जाकी चूं (चामलको पिठो) को मात्र पनि मण्डः लेख्ने गर्छन् । मण्डः लेखिसकेपछि लावा, मास, कालो भटमास, धान, आखें (सग्लो चामल) लगायतका अन्नले मण्डः सजाइन्छ । सयपत्री फूलले मण्डः घेरेर अझ राम्रो र सुन्दर बनाइन्छ ।

मौसमअनुसार पाइने फलफूल जस्तै तःसी (बिमिरो), भोगटे, सुन्तला आदि पनि मण्डः अघिल्तिर राखेर सजाइन्छ । जजंका (पञ्चरंगी फुर्का हालेको धागोको सानो माला), क्वखा (झन्डै एक हात लामो काँचो धागोको फुर्कासहितको माला), हाडे ओखर र ख्येलु इताः (कपडाको लामो सलेदो) म्हः पूजालाई नभई नहुने सामग्री हुन् । विविधताले भरिएको नेवाः समाजमा मण्डः बनाउने, सजाउने र म्हः पूजा गर्ने चलनमा एकरूपता पाइँदैन ।

मण्डः पहिले–पहिले हातैले लेख्ने गरिन्थ्यो । तर आजभोलि बजारमा मण्डः बनाउने तयारी कागज, प्लास्टिक तथा पित्तलका तयारी आकृति पाइन्छन् । ज्यापू, बज्राचार्यलगायतका केही जातिमा मण्डः मा ग्वःजा राखेर त्यसमाथि धुप बाल्ने गरिन्छ । तर यो चलन सबै नेवाः समुदायमा पाइँदैन । लामो ख्यलुइताः (सलेदो) बाल्ने विधिमा पनि जातैपिच्छे भिन्नता पाइन्छ । कसैले एक जोडी ख्यलुइताः बाल्छन् भने कसैले दुई जोडी र कसैले चार जोडी । ज्यापू समुदायमा दुई जोडी ख्यलुइताः चारै कुनामा बाराका टुक्रामाथि पर्ने गरी बाल्ने गरिन्छ । तर अन्य समुदायमा यस्तो परम्परा पाइँदैन । कसैले धानको माथि र कसैले हाडे ओखरको माथि ख्यलुइताः बाल्ने परम्परा छ ।

परिवारको ज्येष्ठ सदस्यबाट सुरु हुने पूजा कनिष्ठ सदस्यसम्म लहरै गरिन्छ । पूजामा पुरुषलाई टोपी र महिलालाई पछ्यौरी अनिवार्य हुन्छ । म्हः पूजाको विशेषता भनेको मण्डः मा राखिएको तेल नसुकेजस्तै आयु लामो होस्, ओखरजस्तै दीर्घायु होस्, ख्यलुइताः जस्तै जीवन लामो समयसम्म दीपमय भइरहोस् भन्ने कामनासहितको आत्मपूजन हो । तर नेवाः समुदायभित्र आत्मपूजा वा म्हः पूजा नगर्ने जाति पनि छन् ।

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकाको विधिमा मण्डः बनाउने र पूजा गर्ने विधि म्हः पूजाको जस्तै भए पनि कसैका दिदीबहिनी माइत आउँछन् भने कसैका दाजुभाइ दिदीबहिनीको घर जाने चलन छ । तुलाधर, ज्यापूलगायत केही जातिमा दाजुभाइ, दिदीबहिनीको घर जाने चलन रहेको पाइन्छ । तर स्यस्य, चित्रकार, प्रधानलगायतका जातिमा दिदीबहिनी नै माइत आउने र भाइटीका लगाइदिने चलन छ । जसले जसरी मनाए पनि यो पर्वको मूल मर्म भनेको दिदीबहिनी र दाजुभाइबीचको भ्रातृत्व प्रगाढ रहिरहोस् भन्ने हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)

विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)

ललितपुर : ललितपुरस्थित सङ्ग्रहालयभित्र विदेशी पाहुना र नेवारहरू सामूहिक रुपमा म्हः पूजा गरेका छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन्। ...

#म्ह #पूजा
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#म्ह #पूजा
Compare →
Arthasansar
3d ago
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः...

#म्ह #पूजा
Compare →
Nagarik News
3d ago
नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

#म्ह #पूजा
Compare →

Related Stories

Business & Economy
Build #2612