प्रहरीले वीरगन्ज–१५ भिष्वाडाँडा नजिक मिना मोक्तानले सञ्चालन गरेको अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।
पर्सा — प्रहरीले वीरगन्जमा अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएको एक भट्टी नष्ट गरेको छ। प्रहरीले वीरगन्ज–१५ भिष्वाडाँडा नजिक मिना मोक्तानले सञ्चालन गरेको अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब साढे ३ बजे उक्त भट्टीमा छापा मारेको थियो। त्यसक्रममा प्रहरीले भट्टी फुटाएर त्यहाँ रहेको १ हजार ३ सय लिटर मदिरा उत्पादनको कच्चा पदार्थ र करिब ३ सय ५० लिटर तयारी घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
बरामद गरिएको कच्चा पदार्थ तथा तयारी मदिरा कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमा ल्याएर नष्ट गरिएको उनले बताए।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।