यस्तो कारोबारमा पहिले आफूसँग भएको सेयर बिक्री गरी सोही दिन पुनः खरिद समेत गर्न सक्छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्डले सेयर बजारमा एकैदिन एउटै सेयर किन्न र बेच्न सकिने व्यवस्था अर्थात् अन्तरदिवसीय धितोपत्र कारोबार सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले ‘अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा तयार पारेर राय सुझाव माग गरेको छ ।
अन्तरदिवसीय धितोपत्र कारोबार भन्नाले एउटै कारोबार दिनभित्र कुनै कम्पनीको सेयर खरिद गरी सोही दिन त्यो बिक्री गर्ने व्यवस्था बुझिन्छ ।
लगानीकर्ताले यस्तो कारोबारमा पहिले आफूसँग भएको सेयर बिक्री गरी सोही दिन पुनः खरिद समेत गर्न सक्छन् । यस्तो कारोबारमा लगानीकर्ताले सेयर लामो समयसम्म आफ्नो डिम्याट खातामा राखिरहनु पर्दैन । मूल्यमा हुने दैनिक उतारचढावबाट लाभ लिने उद्देश्यले खरिद तथा बिक्री गरिन्छ ।
उदाहरणका लागि कुनै लगानीकर्ताले बिहान एउटा कम्पनीको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा खरिद गर्यो र दिउँसो ५ सय १० रूपैयाँमा बिक्री गर्यो भने प्रतिकित्ता १० रूपैयाँको अन्तरबाट कारोबार खर्च कटाएर लाभ लिन सक्छ । तर मूल्य घटेर बिक्री गर्नुपरेमा घाटा पनि व्यहोर्नुपर्ने हुन्छ ।
यसलाई सामान्यतया ‘इन्ट्राडे ट्रेडिङ’ भनिन्छ । यो व्यवस्था नियमित सेयर कारोबारभन्दा फरक हुन्छ । नियमित कारोबारमा सेयर खरिद गरेपछि त्यसलाई केही दिन, महिना वा वर्षसम्म राख्न सकिन्छ । तर अन्तरदिवसीय कारोबारमा एकै दिनभित्र खरिद र बिक्री दुवै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
त्यस्तै, पहिले सेयर बिक्री गरेर मूल्य घटेपछि पुनः खरिद गर्ने रणनीति पनि अपनाउन सकिन्छ । तर बिक्रीपछि पुनः खरिद गर्न नसकेमा पनि कारोबार स्वतः समाप्त भने हुँदैन् । तोकिएको समयभित्र ग्राहकले त्यसलाई बन्द गर्नुपर्नेछ ।
अन्तरदिवसीय कारोबारको महत्वपूर्ण पक्ष भनेको कारोबार एउटै दिनभित्र समाप्त गर्नु हो ।
लगानीकर्ताले कारोबार समय समाप्त हुनुअघि आफ्नो कारोबारको बन्द गर्नुपर्ने प्रस्ताव मस्यौदाले गरेको छ । यस्तो कारोबार कै लागि भनेर खरिद गरेको तर बिक्री नगरेको अवस्थामा बिक्री गर्नैपर्छ ।
ग्राहकले यस्तो कारोबारमा सुरूमै सेयर बिक्री गरेको तर पुनः खरिद नगरेको अवस्थामा खरिद गर्नैपर्ने हुन्छ । तर, यदि लगानीकर्ताले तोकिएको समयभित्र यस्तो नगरेमा ब्रोकरहरूले प्रणालीमार्फत नै लगानीकर्ताले राखेको ‘पोजिशन’ बन्द गरिदिनेछ । यो क्रममा नाफा, नोक्सानी, शुल्क तथा अन्य वित्तीय दायित्व लगानीकर्ताकै हुनेछ । यसको जानकारी भने लगानीकर्तालाई दिनुपर्ने व्यवस्था छ ।
केही अवस्थामा अन्तरदिवसीय कारोबारलाई सामान्य कारोबारमा रूपान्तरण गर्न सकिने व्यवस्था पनि मस्यौदामा छ । बोर्डले तोकेको अवस्थामा लगानीकर्ताले खरिद गरेको सेयर आफ्नो खातामा लिने वा बिक्री गरेको सेयर पुनः उपलब्ध गराउने गरी कारोबार रूपान्तरण गर्न सक्नेछन् । तर त्यसका लागि आवश्यक सर्त पूरा गर्नुपर्नेछ ।
सबै धितोपत्र वा सबै कारोबारमा यस्तो सुविधा उपलब्ध नहुन पनि सक्नेछ ।
अन्तरदिवसीय कारोबारमा सहभागी हुने प्रत्येक लगानीकर्ताले तोकिएअनुसारको मार्जिन कायम गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । ग्राहकबाट पर्याप्त मार्जिन प्राप्त नगरी धितोपत्र व्यवसायीले यस्तो कारोबार सञ्चालन गर्न पाउने छैनन् । मार्जिन निर्धारण गर्दा सम्बन्धित सेयरको मूल्यमा हुने उतारचढाव, बजारको तरलता, कारोबारको परिमाण, लगानीकर्ताको जोखिम क्षमता र समग्र बजारको अवस्था हेरिने व्यवस्था छ ।
तर, मस्यौदामा सबै कारोबारका लागि एउटै निश्चित मार्जिन (अग्रिम रकम) दर तोकिएको छैन। मार्जिनको प्रकार, दर, गणना विधि र स्वीकार्य धितोको व्यवस्था बोर्डले निर्धारण गर्ने उल्लेख छ ।
सेयरको बजार मूल्यमा परिवर्तन आएर मार्जिन आवश्यकताभन्दा कम भएमा लगानीकर्तालाई तत्काल जानकारी गराउनुपर्नेछ । आवश्यक थप रकम नराखेमा नयाँ आदेश रोक्ने, ग्राहकले खुला राखेका कारोबार आदेश घटाउने वा बन्द गर्ने उपाय अपनाउन सकिनेछ ।
त्यस्तै, प्रत्येक लगानीकर्ताका लागि अधिकतम कारोबार सीमा तोक्न सकिने व्यवस्था छ। यस्तो सीमा निर्धारण गर्दा लगानीकर्ताको वित्तीय क्षमता, उपलब्ध मार्जिन, सेयरको तरलता, बजार जोखिम र सम्बन्धित कम्पनीको कारोबारयोग्य सेयर संख्यालाई आधार बनाइनेछ ।
यसले लगानीकर्ताले आफूसँग भएको रकम वा मार्जिनको तुलनामा अत्यधिक कारोबार गर्न नपाउने व्यवस्था गर्न खोजेको देखिन्छ।
मस्यौदाले अन्तरदिवसीय कारोबारका लागि विभिन्न सत्रको व्यवस्था गर्न सकिने उल्लेख गरेको छ । त्यसमा प्रारम्भिक कारोबार सत्र, निरन्तर कारोबार सत्र, अन्तरदिवसीय कारोबारको गरिसक्नुपर्ने (समाप्त गर्ने) सत्र र अन्तिम कारोबार सत्र रहनेछन् । यी सत्रको समय तथा सञ्चालन प्रक्रिया एक्सचेन्जले सार्वजनिक गर्नुपर्नेछ ।
कस्ता लगानीकर्ताले कारोबार गर्न पाउँछन्?
मस्यौदाले सबै लगानीकर्तालाई अन्तरदिवसीय कारोबारमा सहभागी हुन दिने प्रस्ताव गरेको छैन । यसका लागि लगानीकर्ताको वित्तीय क्षमता, लगानी अनुभव, जोखिम वहन गर्न सक्ने क्षमता र कारोबारको उद्देश्य मूल्यांकन गर्नुपर्नेछ । ब्रोकरले ग्राहकको पहिचान तथा उपयुक्तता परीक्षण गरेपछि मात्र यस्तो कारोबारको सुविधा दिनुपर्ने व्यवस्था छ । कारोबार सुरु गर्नुअघि लगानीकर्ताले आफ्नो ग्राहक परिचय विवरण, अन्तरदिवसीय कारोबारमा निहित जोखिम बुझेको घोषणापत्र, कारोबार सम्झौता र मार्जिनसम्बन्धी सहमति उपलब्ध गराउनुपर्नेछ । ग्राहकको मूल्यांकन क्रममा लगानीकर्ताको वार्षिक आम्दानी, सेयर बजारमा रहेको अनुभव, विगतमा गरेको कारोबार, वार्षिक कारोबार संख्या, लगानीको स्रोत र आपत्कालीन रकमको अवस्थासमेत सोधिने व्यवस्था प्रस्ताव गरिएको छ ।
ग्राहकले आफ्नो कुल सम्पत्तिको कति प्रतिशत रकम अन्तरदिवसीय कारोबारमा लगानी गर्ने योजना छ भन्ने पनि खुलाउनुपर्नेछ । यस्तो कारोबारको बारेमा लगानीकर्तामा पर्याप्त जानकारी समेत भएको हुनपर्ने व्यवस्था गर्न लागिएको छ।
कसले सञ्चालन गर्न पाउनेछन् यस्तो कारोबार?
बोर्डले तयार पारेको मस्यौदाअनुसार अन्तरदिवसीय कारोबार सञ्चालन गर्न धितोपत्र बोर्डको स्वीकृति अनिवार्य हुनेछ ।
यस्तो कारोबारको लागि खरिद तथा बिक्री आदेश हाल्ने, आदेश मिलान गर्ने, कारोबार पुष्टि गर्ने र जोखिमको वास्तविक समयमै निगरानी गर्ने व्यवस्था बजार सञ्चालक (स्टक एक्सचेन्जं) ले मिलाउनुपर्नेछ ।
यस्तो कारोबार गराउन चाहने ब्रोकर वा धितोपत्र व्यापारीको चुक्ता पुँजी न्यूनतम २० करोड रूपैयाँ हुनुपर्ने प्रस्ताव छ । त्यस्तै, नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्नेछ ।
मस्यौदाले सूचीकृत सबै कम्पनीको सेयरमा अन्तरदिवसीय कारोबार गर्न पाउने व्यवस्था गरेको छैन । बोर्डले तोकेको मापदण्ड पूरा गरेका सेयरको मात्र यस्तो कारोबार गर्न पाइनेछ ।
बजारमा सजिलै किनबेच गर्न पाइन्छ, पाइदैन?, दैनिक कारोबार परिमाण कस्तो छ?, सर्वसाधारणमा कारोबारयोग्य सेयरको संख्या कति छ? लगायतको आधारमा मात्रै कारोबार गर्न पाइने कम्पनी तोकिने भएको छ । यो क्रममा कम्पनीको मूल्यमा हुने उतारचढाव, बजार पुँजीकरण, संस्थागत सुशासन र कम्पनीको वित्तीय अवस्थालाई पनि आधार बनाइने भएको छ ।
यसरी छनोट गरिएका सेयरको सूची एक्सचेन्जले समयसमयमा सार्वजनिक गर्नुपर्नेछ । बजार सञ्चालकले आवश्यकताअनुसार उक्त सूचीमा धितोपत्र थपघट वा निलम्बन गर्न पनि सक्नेछ । त्यसको जानकारी बोर्डलाई दिनुपर्ने व्यवस्था छ ।
मस्यौदाले अन्तरदिवसीय कारोबार एकैपटक सबै धितोपत्र, सबै व्यवसायी र सबै लगानीकर्ताका लागि खुला गर्नुपर्ने अनिवार्यता राखेको छैन । बोर्डले आवश्यकताअनुसार चरणबद्ध रूपमा कार्यान्वयन गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।
प्रारम्भिक चरणमा निश्चित धितोपत्र, निश्चित धितोपत्र व्यवसायी वा निश्चित वर्गका लगानीकर्तामा मात्र यो व्यवस्था लागू गरिने भएको छ । मस्यौदासम्बन्धमा मंसिर चार गते भित्र राय सुझाव दिन भनिएको छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।