कम्पनीले दुवैलाई सेयरधनी तथा सञ्चालक सदस्यका रूपमा नियुक्त गरेको घोषणा गर्दै स्वागत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
काठमाडौँ — नेपालमा अन्तर्राष्ट्रिय वायुसेवालाई सेवा प्रदान गर्ने अग्रणी कम्पनी सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजमा सन्तोषविक्रम राणा र उपज मानन्धर सेयरधनी तथा सञ्चालक सदस्य नियुक्त भएका छन्। कम्पनीले दुवैलाई सेयरधनी तथा सञ्चालक सदस्यका रूपमा नियुक्त गरेको घोषणा गर्दै स्वागत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरूको प्रवेशले कम्पनीको नेतृत्व थप सुदृढ हुनुका साथै संस्थागत विकास, रणनीतिक योजना र दीर्घकालीन व्यावसायिक विस्तारमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ। आरआर ग्रुपअन्तर्गत सञ्चालित सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज नेपालमा अन्तर्राष्ट्रिय वायुसेवाको जनरल सेल्स एजेन्ट (जीएसए) तथा प्रतिनिधित्वसम्बन्धी सेवा प्रदान गर्ने कम्पनी हो। कम्पनीले थाई एयरवेज, जजिरा एयरवेज र एयर इन्डियालगायत अन्तर्राष्ट्रिय वायुसेवाको नेपालमा जीएसएका रूपमा काम गर्दै आएको छ। त्यस्तै, कम्पनीले लुफ्थान्सा, स्विस इन्टरनेसनल एयरलाइन्स र अस्ट्रियन एयरलाइन्सलगायत वायुसेवाको पनि नेपालमा प्रतिनिधित्व गर्दै आएको छ। कम्पनीले नयाँ नेतृत्वबाट व्यावसायिक क्षेत्रमा नयाँ सोच, साझा उद्देश्य र थप सम्भावनाको विकास हुने अपेक्षा गरेको छ। राणा र मानन्धरको सहभागिताले कम्पनीको संस्थागत क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तारमा योगदान पुग्ने कम्पनीको विश्वास छ। कम्पनीले नयाँ नेतृत्वसँगै दिगो व्यावसायिक वृद्धि र सेवा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।