अपरिचित लिंक, नक्कली उपहार, अनलाइन किनमेल र चिठ्ठाको बहानामा सर्वसाधारणले लाखौँ रुपैयाँ गुमाइरहेका छन्।
बैतडी — देशभर पछिल्लो समय मोबाइल बैंकिङ ह्याक गरेर तथा विभिन्न बहानामा लाखौँ रुपैयाँ ठगी गर्ने घटना बढिरहेका बेला बैतडीमा पनि यस्ता घटना बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।
हातहातमा मोबाइल र इन्टरनेटको पहुँच विस्तार भएसँगै ग्रामीणदेखि सहरी क्षेत्रसम्मका सर्वसाधारण विभिन्न माध्यमबाट हुने अनलाइन ठगीको जोखिममा परेका छन्। कसैलाई बम्पर उपहार परेको, कसैलाई चिठ्ठा परेको त कसैलाई अनलाइनबाट सामान पठाइदिने भन्दै अग्रिम भुक्तानी गर्न लगाएर ठगी गर्ने गरिएको छ।
चालु आर्थिक वर्षको भदौमा म्यासेन्जरमा आएको अपरिचित लिंक क्लिक गर्दा बैतडीको सुर्नया गाउँपालिका–५ का कर्णबहादुर मडैको बैंक खाताबाट दुई लाख नौ हजार रुपैयाँ एकैछिनमा गायब भयो। विदेशबाट फर्केर गाउँमै सानो पसल सञ्चालन गर्दै आएका मडैको खाताबाट रकम चोरी भएपछि उनी बैंक पुगे। तर, बैंकले पनि रकम फिर्ता गराउन सकेन। त्यसपछि उनले प्रहरीमा निवेदन दिए।
यस्तै, चालु आर्थिक वर्षकै साउनमा दशरथचन्द नगरपालिका–५ की पूजा भट्ट पनि अनलाइन ठगीमा परिन्। उनले टिकटकमा तीजका साडी देखेपछि त्यहाँ राखिएको ह्वाट्सएप नम्बरमा सम्पर्क गरिन्। १० हजार रुपैयाँको साडी अर्डर गरेपछि उनलाई डेलिभरी शुल्कबापत ५०० रुपैयाँ बैंकको क्यूआर कोडमा पठाउन भनियो।
भट्टले ५०० रुपैयाँ पठाएपछि उक्त रकम होल्ड भएको भन्दै ठगी गर्ने व्यक्तिले ईसेवा नम्बर उपलब्ध गराएर त्यसमा थप नौ हजार रुपैयाँ पठाउन लगायो। उनले विश्वास गरेर रकम पठाइन्। तर, तोकिएको समयमा सामान नआएपछि सम्पर्क गर्न खोज्दा फोन बन्द थियो। ह्वाट्सएप नम्बरसमेत बन्द भएपछि मात्रै आफू ठगीमा परेको उनले थाहा पाइन्।
त्यसपछि उनले ईसेवाको ग्राहक सेवामा सम्पर्क गरिन्। ईसेवाले प्रहरीको सिफारिस मागेपछि उनले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिइन्। तर, उजुरी दिएको लामो समय बितिसक्दा पनि सुनुवाइ नभएको भट्टको गुनासो छ। ‘प्रहरीले सिफारिस दिनुभन्दा पनि सम्बन्धित व्यक्तिको खोजी गरेर कारबाही गर्ने बताएको थियो,’ उनले भनिन्, ‘तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।’
कर्णबहादुर र पूजाजस्तै बैतडीमा मजदुरी गर्दै आएका कैलालीका अर्जुन चौधरी पनि मोबाइल बैंकिङ ह्याक भएपछि ठगीमा परे। अपरिचित नम्बरबाट ह्वाट्सएपमा फोन गरेर चिठ्ठा परेको र रकम पठाउन खाता नम्बर आवश्यक रहेको बताएपछि उनले विश्वास गरेर खाता नम्बर दिए।
त्यसपछि अर्जुनलाई भिडियो कल गर्न लगाइयो। भिडियो कलका क्रममा स्क्रिन सेयर गर्न लगाएर मोबाइल बैंकिङ खोल्न भनियो। उनले मोबाइल बैंकिङ खोल्नेबित्तिकै खातामा रकम आउनुको सट्टा भएको १८ हजार रुपैयाँ गायब भयो। त्यसपछि मात्रै आफू चिठ्ठाको नाममा ठगीमा परेको उनले थाहा पाए।
उनले तत्काल ठेकेदारलाई फोन गरेर घटनाबारे जानकारी गराए। ठेकेदारले मोबाइल ह्याक भएको हुन सक्ने भन्दै प्रहरीमा जान सल्लाह दिएपछि अर्जुनले पनि अनलाइन ठगीसम्बन्धी उजुरी दिए। उजुरी दिएको पाँच महिना बितिसक्दा पनि आफ्नो रकम फिर्ता नभएको उनले बताए। मजदुरी गरेर जम्मा गरेको रकम ठगी भएपछि अहिले उनलाई बैंकिङ कारोबारप्रति समेत विश्वास घटेको छ।
कर्णबहादुर, पूजा र अर्जुन त प्रतिनिधि पात्र मात्रै हुन्। बैतडीमा गत आर्थिक वर्षमा अनलाइन ठगीमा परेको भन्दै ३१ जनाले प्रहरीमा निवेदन दिएका थिए। चालु आर्थिक वर्षको कात्तिक महिनाको आधासम्म १४ वटा अनलाइन ठगीका घटना दर्ता भएका छन्। ती घटनामा १२ लाख ४६ हजार ६६ रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
अनलाइन ठगीमा कुन माध्यम प्रयोग भएको हो र त्यसमा को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले यस्ता घटनाको अनुसन्धानमा समय लाग्ने उनले बताए। अनुसन्धानपछि ठगीमा परेको सबै रकम फिर्ता नभए पनि केही पीडितको रकम फिर्ता गराउन प्रहरी सफल भएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा परेका ३१ वटा निवेदनमा उल्लेख भएको १५ लाख ९२ हजार २५६ रुपैयाँमध्ये तीन लाख दुई हजार ६१९ रुपैयाँ फिर्ता गराइएको छ। त्यस्तै, चालु आर्थिक वर्षमा ठगी भएको रकममध्ये एक लाख एक हजार ३५० रुपैयाँ विभिन्न पीडितलाई फिर्ता गराइसकिएको प्रहरीले जनाएको छ।
अपरिचित लिंक पठाउने, बैंकको कर्मचारी भएको भन्दै केवाईसी अद्यावधिक गर्नुपर्ने बहानामा ओटीपी माग्ने, भिडियो कल गर्न लगाउने तथा स्क्रिन सेयर गराउनेजस्ता प्रलोभन र भ्रममा पारेर पछिल्लो समय अनलाइन ठगीका घटना बढिरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्।
यस्ता ठगीमा संलग्न व्यक्तिले ह्वाट्सएप वा ट्रुकलरमा समेत विश्वास दिलाउन बैंकको लोगो र नाम प्रयोग गर्ने गरेको उनले बताइन्। त्यसैले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन, सन्देश र लिंकमा सहजै विश्वास नगर्न तथा आफ्नो बैंकिङ विवरण, ओटीपी र गोप्य सूचना कसैलाई पनि उपलब्ध नगराउन उनले सर्वसाधारणलाई आग्रह गरिन्।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।