यसअघि २०८१ कात्तिकमा १६ सय ८ विन्दुमा रहेको बैंकिङ उपसमूहले गत १२ कात्तिकमा यो तह भेटेको थियो । तर, त्यहाँ अडिन सकेन र केही ओरालो लागेको छ । बुधबार बजार बन्द हुादा बैंकिङ उपसमूह १३ अंकले घटेर १५८८ विन्दुमा आएको छ ।
काठमाडौँ — सेयर बजार परिसूचक नेप्से मात्रै होइन, बजारको उपसमूह बैंकिङलाई पनि अहिले दरिलो तगारो देखिएको छ । केही समयदेखि २७ सयको विन्दुमा नेप्सेले प्रतिरोध सामना गरिरहँदा बैंकिङ उपसमूहले समेत १६ सय विन्दु आसपास प्रतिरोध परीक्षण गरिरहेको छ । नेप्से र बैंकिङ उपसमूहको रेखाचित्रले यस्तो देखाएको हो ।
बैंकिङ उपसमूह दुई वर्षपछि अहिलेको १६ सय विन्दुको तहमा आएको छ । यसअघि २०८१ कात्तिकमा १६ सय ८ विन्दुमा रहेको यो उपसमूहले गत १२ कात्तिकमा यो तह भेटेको थियो । तर, त्यहाँ अडिन सकेन र केही ओरालो लागेको छ । बैंकिङ उपसमूहले यो तह पार गर्न सकेको छैन भने धेरै तल ओर्लिएको पनि छैन । बुधबार बजार बन्द हुँदा बैंकिङ उपसमूह १३ अंकले घटेर १५८८ विन्दुमा आएको छ ।
तर, यो उपसमूहमा अझै आकर्षण नघटेको ब्रोकरहरू बताउँछन् । ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट भन्छन्, ‘हालै बैंकहरूको असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । असुली बढेका कारण नाफा पनि बढेको छ । त्यसैले १६ सय विन्दुबाट माथि जान नसके पनि बैंकिङ उपसमूहमा आकर्षण घटेको छैन, समग्र बजार नै स्थिर देखिएकाले पनि यस्तो भएको हो ।’
यस साताको सुरुदेखि नै समग्र बजार परिसूचक नेप्सेले नै स्पष्ट दिशा देखाउन सकेको छैन । मुलुकमा विकसित राजनीतिक घटनाक्रमले लगानीकर्ताको ध्यान तानिरहेकाले प्रभाव परेको ब्रोकरहरू बताउँछन् । नजिकिँदो तिहारले पनि लगानीकर्ताहरू आक्रामक लगानी गर्ने रणनीतिमा नरहेको उनीहरूको भनाइ छ ।
पाँच दिनयताको तथ्यांकअनुसार बैंकिङ उपसमूहको कारोबार हिस्सा सन्तोषजनक नै छ । यस्तो हिस्सा नेप्सेको कुल कारोबारको २७ प्रतिशत हाराहारी छ । बुधबार भने यस्तो हिस्सा घटेको छ । सेयर बजारमा सूचीकृत कम्पनीहरूको कुल ७ अर्ब ३७ करोड रुपैयाँको कारोबार हुँदा वाणिज्य बैंकहरूको मात्रै १ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ । यो भनेको कुल कारोबारमा १६ प्रतिशत हिस्सा हो ।
हकप्रद आउन सक्ने आसमा नेपाल पुनर्बिमा र हिमालयन रिइन्स्योरेन्सको कारोबार एक्कासि बढेपछि वाणिज्य बैंकहरूको कारोबार रकम कुल बजारको कारोबारको अनुपातमा घटेको हो । हिमालयन रिको मात्रै ३६ करोड र नेपाल पुनर्बिमाको सात करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल कारोबार रकमको तुलनामा यी दुईको मात्रै करिब ६ प्रतिशत बराबर रकमको कारोबार भएको छ ।
नेप्से र बैंकिङ उपसमूह केही समयदेखि परस्पर विपरीत प्रवृत्तिमा देखिएको मुभिङ एभरेज रेखाले संकेत गर्छ । परिसूचकहरूले हरेक दिन कायम गरेको विन्दुहरूको तथ्यांक शृंखलामा औसत लिएर बनाइने रेखालाई मुभिङ एभरेज रेखा भनेर बुझ्न सकिन्छ । सामान्यतया यस्तो रेखामा एकभन्दा धेरै औसत रेखा बनाएर प्रवृत्ति विश्लेषण गरिन्छ । नेप्सेको यस्तै ५० दिने र २०० दिने औसत रेखाले बजार वियरिस प्रवृत्तिमा नै रहेको संकेत गरिरहँदा बैंकिङ उपसमूहमा फरक प्रवृत्ति देखिएको छ ।
नेप्सेमा बनाइएको २०० दिने रेखाभन्दा ५०–१०० दिने रेखा तल छ । यसले बजार वियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । तर, केही समयदेखि बैंकिङ उपसमूहमा भने ५०–१०० दिने रेखा २०० दिने रेखाभन्दा माथि छ । यसले यो समूह बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । तर, यसैले भने नेप्से वा बैंकिङ उपसमूहको आगामी प्रवृत्ति संकेत गर्दैन । अहिलेलाई रेखाचित्रका आधारमा हेर्दा नेप्से २६३० देखि २६५७ आसपासमै टेवा पाएर बढ्ने प्रयास गर्नेछ । बैंकिङ उपसमूहले भने १५६९ आसपास टेवा खोज्नेछ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।