पहिले १४ जनाको उजुरीमा पक्राउ परेका रजकले यसपटक थप एक लाख रुपैयाँ लिन पुगेका व्यक्तिको मोबाइल खोसेपछि प्रहरी फन्दामा परेका हुन्।
राजविराज — धरौटीमा छुटेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामाका रामबहादुर रजक ‘हनुमानी’ पुनः ठगी गर्दागर्दै पक्राउ परेका छन् । ५२ वर्षीय रजकसहित उनकै घरबाट अन्य जनालाई पक्राउ गरिएको हो ।
उदयपुरका एक व्यक्तिले चिनजान रहेका बभनगामाकै ३४ वर्षीय गुञ्जेश सिंहमार्फत रजकलाई ‘पैसा डबल’ गर्न ५ लाख रुपैयाँ दिएका थिए । तर, सो ‘पैसा डबल’ गर्न अपुग भएको भन्दै फोन गरेपछि उनी थप एक लाख रुपैयाँ बोकेर रजकको घर पुगेका थिए । उनी रजकको घर पुग्नेबित्तिकै मोबाइल खोसेर सम्पर्कविहीन बनाएपछि उनका साथीले प्रहरीलाई खबर गरेका थिए ।
त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले ती एक लाख रुपैयाँसहित रजक र सिंहलाई नियन्त्रणमा लिएको एसपी रूपक खड्काले जानकारी दिए । ‘दुवै जनामाथि ठगी तथा आपराधिक विश्वासघात कसुरमा बुधबार ३ दिनको म्याद लिएका छौं,’ उनले भने, ‘उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।’
रजक यसअघि पनि पैसा ‘डबल’ गर्ने नाममा ठगी गरेको भन्दै १४ जनाले दिएको उजुरीका आधारमा २१ पुस २०८१ मा पक्राउ परेका थिए । त्यसबेला ११ लाख रुपैयाँ धरौटी नतिर्दा कारागार पुगेका उनी पछि धरौटी तिरेर छुटेका थिए ।
विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।