Trending
Prev Story
Next Story

ढिलासम्मको वर्षाले ग्रामीण सडक अझै जोखिमयुक्त

Ekantipur •
November 05, 2026 • 04:31 AM
1
1 reads 0 reactions

असोज र कात्तिकको वर्षापछि पूर्वखोला, निस्दी र तानसेनका सडक क्षतिग्रस्त बन्दा स्थानीयको यात्रा, उपचार र दैनिक सेवा प्रभावित भएको छ।

ढिलासम्मको वर्षाले ग्रामीण सडक अझै जोखिमयुक्त

असोज र कात्तिकको वर्षापछि पूर्वखोला, निस्दी र तानसेनका सडक क्षतिग्रस्त बन्दा स्थानीयको यात्रा, उपचार र दैनिक सेवा प्रभावित भएको छ।

पाल्पा — गत असोजको दोस्रो साताको अविरल वर्षाले पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पादेखि झेरुदी, महकाल, लावे हुँदै पूर्वखोला जाने सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भयो । गाउँपालिका र वडा कार्यालयको सक्रियतामा खुलेको सडक पुनः कात्तिक १३ र १४ गतेको वर्षाले अवरुद्ध भयो । जगैदेखि सडक बगाएपछि निकै मिहिनेतका साथ सडक सञ्चालनमा ल्याइएको एक महिनामै पुनः पहिरो खसेको जल्पाका वडाध्यक्ष निरबहादुर सारुले बताए । ‘धेरै ठूलो पहिरो खसेकाले लगानी र समयका हिसाबले निकै समस्या भयो,’ उनले भने, ‘यस वर्षको वर्षाले निकै दुःख मात्र दिएर बजेटसमेत खर्च भयो ।’

पूर्वखोलाकै हुमीनदेखि पूर्वखोला जोड्ने सडकको सिमल्दीलगायतका स्थानमा असोजको वर्षाले ठूलो क्षति पुर्‍यायो । हुमीनदेखि पूर्वखोला गाउँपालिका जोड्ने १४ किलोमिटर सडकको दर्जनभन्दा बढी स्थानमा ठूला पहिरो खसेका थिए । स्तरोन्नतिको क्रममा रहेको यो सडकमा निर्माण व्यवसायीले काममा गरेको ढिलाइले नागरिकले थप सास्ती पाएको स्थानीय मोहन घर्तीले बताए । ‘पहिरो यतिधेरै खस्यो कि केही दिनसम्म सवारीसाधन नै अवरुद्ध भयो,’ उनले भने, ‘नागरिकले ग्रामीण सडकबाट सास्ती नै खेप्नु परेको छ ।’

सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङदेखि जब्गादी हुँदै रामपुर जोड्ने सडकको निस्दी गाउँपालिका–५, गल्धा रिङ्दीमा भासिएको सडक अझै सञ्चालनमा आएको छैन । असोज ११ देखि अवरुद्ध भएको सडक अहिलेसम्म नखुल्दा नागरिकले सास्ती खेप्नुपरेको छ । ‘महिनौंसम्म सडक सञ्चालनमा नहुँदा सास्ती हुने नै भयो,’ दैनिक यात्रा गर्ने नवीन राई मगरले भने, ‘यसमा सम्बन्धित सरोकारवाला निकायको बेवास्ता नै हो भन्ने लाग्छ ।’ पाल्पाको पूर्वी भेग जोड्ने सडक मात्र नभई यस भेगका लागि जीवनरेखा नै भएको उनले बताए । तर लामो समयसम्म पनि सवारीसाधन सञ्चालन नहुँदा समस्या हुने उनले बताए ।

निस्दी गाउँपालिकाको पहुँच मार्ग रामपुरबाट बेलडाँडा हुँदै मित्याल जोड्ने सडकका ठाउँठाउँमा पहिरो खसेको छ । गल्धा र मित्यालका विभिन्न स्थानमा खसेको पहिरोले सडकमा नै क्षति पुगेको छ । असोजको दोस्रो साता र कात्तिकमा पुनः पानी परेपछि थप नोक्सानी भएको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताए । ‘सडक मर्मतका साथै दसैंमा सडक मर्मत गर्दा बजेट खर्च भइसकेको छ,’ उनले भने, ‘अहिले पुनः पहिरो खस्ने र सडक बिगार्ने भएपछि थप आर्थिक भार बेहोर्नुपर्ने अवस्था छ ।’ वर्षायाममा मात्र नभई असोज र कात्तिकमा भएको वर्षाले जिल्लाका दर्जनौं ग्रामीण सडकमा पहिरो खसेपछि सर्वसाधारणको यात्रा जोखिमपूर्ण बन्ने गरेको छ ।

१० वटै स्थानीय तहका गाउँबस्तीमा पुग्न खनिएका सडकमा वर्षा हुनासाथ पहिरो खस्ने समस्या भएपछि यात्रा जोखिमपूर्ण हुने गरेको हो । स्थानीय जनतालाई यातायातमा सहज बनाउन खनिएका सडकमा पहिरो खसेपछि आउजाउ गर्न डराउनुपर्ने अवस्था रहेको निस्दी गाउँपालिका–७ का नवीन विकले बताए । भिरालो जमिन र भौगोलिक विकटता भएका गाउँबस्तीका जनतालाई सडक सञ्जालमा जोड्न सरकारले करोडौं रकम लगानी गरी निर्माण गरेका सडक वर्षाका कारण क्षतिग्रस्त बनेको उनले बताए ।

स्थानीय तहसँग जोडिएका अधिकांश ग्रामीण सडक पहिरोले जोखिमयुक्त बनेका छन् । अधिकांश स्थानीय तहका ग्रामीण भेगमा खनिएका सडकमा माथिल्लो भागबाट पहिरो खसेपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको पूर्वखोला गाउँपालिका–२ का पहलसिंह घर्तीले बताए । गाउँबस्तीलाई सडक सञ्जालसँग जोड्न हचुवाका भरमा खनेका सडकले झन् जोखिम बढाएको स्थानीयको आरोप छ ।

लगातारको वर्षाले झडेवाको देउगिरमा सडकमै चिरा परेको छ । तानसेन नगरपालिका–९, मदनपोखरामा पनि सडक भासिएपछि बस्ती नै जोखिममा परेको वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । तानसेन नगरपालिका–६, जैसीचौपरीदेखि सिद्धार्थ राजमार्गसम्मका बासिन्दा पहिरोको जोखिम भएपछि त्रसित बनेको वडाध्यक्ष सागरमान महर्जनले बताए । जिल्लाका अन्य गाउँबस्तीमा खनिएका ग्रामीण सडक पहिरोले अवरुद्ध भएपछि बालबालिकालाई विद्यालय जान र बिरामीलाई स्वास्थ्य संस्था पुग्न असहज भएको स्थानीयको गुनासो छ । गाउँबस्तीका गर्भवती, सुत्केरी महिला, बालबालिका, सरकारी कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले सास्ती पाउने गरेको स्थानीयको गुनासो छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

#वर्षा
Compare →
Bizshala
10h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Nagarik News
1d ago
कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।

#वर्षा
Compare →

Related Stories

Technology
Build #2612